पाकिस्तानका प्रधानमन्त्री अब्बासी काठमाडौँमा
काठमार्डौः पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी दुईदिने औपचारिक भ्रमणका लागि काठमार्डौ आएका छन् । प्रधानमन्त्री अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका छन् ।
अब्बासी विमानस्थलबाट सोझै होटल याक एन्ड यतिमा गएका छन् । सरकारले बेलुका साढे पाँच बजे अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा 'गार्ड अफ अनर’ दिने कार्यक्रम छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति हुनेछ । सलामीपछि होटल याक एन्ड यतिमा ओलीले अब्बासीलाई रात्रिभोज दिनेछन् । होटलमा नै ओली र अब्बासी बीच दुई पक्षीय वार्ता हुनेछ ।
मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पाकिस्तानी प्रधानमन्त्री अब्बासी बीच भेटवार्ता हुने छ । अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि अब्बासी स्वदेश फर्किनेछन् । पाकिस्तानका प्रधानमन्त्री अब्बासी ओली प्रधानमन्त्री भएपछि आएका पहिलो विदेशी सरकार प्रमुख हुन् ।
उनी प्रधानमन्त्री ओलीलाई बधाई दिन र विगत ४ वर्षदेखि हुन नसकेको दक्षिण एसियाली सहयोग संगठन(सार्क)को शिखर सम्मेलनको सम्बन्धमा छलफल गर्नका लागि आएका हुन् । २०७१ सालदेखि सार्क शिखर सम्मेलन हुन सकेको छैन ।
२०७१ मंसिरमा १८ औं शिखर सम्मेलन काठमार्डौमा भएको थियो । दुई-दुई वर्षमा हुनु पर्ने सार्क सम्मेलन त्यसपछि भएको छैन । भारतले बहिस्कार गरेपछि २०७३ मंसिरमा पाकिस्तान हुने भनिएको सार्क सम्मेलन रोकिएको थियो ।