तरकारी संकलन केन्दले मूल्यमा एकरुपता, कृषक उत्साहित
डडेल्धुरा : कृषकहरु मौसमी तथा बेमौसमी तरकारी खेती तर्फ आकर्षीत मात्र भएका छैनन् विभिन्न ठाउँमा तरकारी संकलन केन्द्र स्थापना भएसँगै उत्साहित भएका छन् । तरकारी संकलन केन्द्र नहुँदाको चिन्ता टरेको बगरकोटका कृषक नवराज जैसीले बताए ।
उनका अनुसार बगरकोट जिल्लाकै तरकारी उत्पादनमा अग्रणी स्थान हो । यहाँ मौसमी र बेमौसमी तरकारी खेती गरिने हुँदा संकलन केन्द्र नहुँदा समस्या भएको छ । हाल इन्भाइटा प्रोजेक्टबाट तरकारी संकलन केन्द्र स्थापना भएपछि सहज भएको जैसीले बताए ।
थोरै लगानीमा पनि धेरै फाईदा लिन सकिने हुँदा यहाँका मानिस प्राय तरकारी खेतीमा आर्कषित छन । अर्जुनप्रसाद जोशी किसान परियोजनामा काम गर्थे । त्यसबाट खासै आम्दानी हुने नदेखेपछि भने उनले त्यो जागिरै छोडेर तरकारी खेतीगर्न थाले । तरकारीबाटै लाखौं आम्दानी हुने भएपछि त्यसलाई निरन्तरता समेत दिए ।
अहिले जोशीले लाकम ताजा तरकारी संकलन केन्द्र स्थापना गरेका छन् । जसबाट उनले वार्षीक दुईदेखि तीन लाख सम्म आम्दानी गरेको बताए । अमरगढी नगरपालिका साथै अन्य गाउँपालिकामा समेत तरकारी संकलन केन्द्र स्थापना हुँदा किसानलाई सहज भएको कार्यक्रमका संयोजक दुर्गामणी चटौतले बताए ।
अन्य गाउँपालिका र नगरपालिकामा पनि तरकारी संकलन केन्द्र स्थापनाले किसानलाई सहज भएको उनको भनाइ छ । प्रत्येक समुहमा ३० देखि ४० सदस्य रहेको सहजकर्ता रमेश ओझाले जानकारी दिए ।
यस्ता ताजा तरकारी संकलन केन्द्रले किसानको समय बचतसँगै मुल्यमा एकरुपता ल्याएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए ।