अवैध रुपमा विदेश पठाउने पक्राउ
काठमाडौं : अवैध तरिकाले वैदेशिक रोजगारीमा पठाएको अभियोगमा ‘क्याची एजुकेशन एण्ड ट्रेनिङ कन्सल्टेन्सी’ का सञ्चालक पुरुषोत्तम खड्कालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार खड्कालाई सात लाखदेखि १२ लाखसम्म लिएर वैदेशिक रोजगारीका लागि भन्दै अजरबैजान, पोल्याण्ड, दक्षिण अफ्रिका, इन्डोनेसिया, माल्टालगायत देशमा नेपाली युवालाई पठाई अलपत्र पारेको आरोप लागेको छ ।
खड्काले शैक्षिक परामर्शका लागि खोलिएको संस्थाबाट बिनाइजाजत वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाएको, अवैध कागजात तयार पारेको आरोप लागेको छ ।
प्रहरीले अभियुक्त खड्कालाई शुक्रबार पक्राउ गरी अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ ।
प्रहरीले खड्काका साथबाट नेपाली राहदानी २५ थान, नोटरी पब्लिकलगायत विभिन्न सरकारी कार्यालयको छाप १८ थान, बैंकका भौचर र चेक बरामद गरेको छ । रासस