महँगो 'गिफ्ट'को लोभ देखाइ हुन्डी कारोबारीले ठगे ५१ लाख

महँगो 'गिफ्ट'को लोभ देखाइ  हुन्डी कारोबारीले ठगे ५१ लाख

 

काठमाडौं : हुन्डी कारोबारीले पर्वतकी पवी क्षेत्री र लक्ष्मीदेवी चपाईंलाई ‘महँगो गिफ्ट’ पाउने प्रलोभनमा पारी ५१ लाख रुपैयाँ ठगेका छन्।पोखरास्थित पृथ्वीनारायण क्याम्पसबाट स्नातक उत्तीर्ण उनीहरू विदेश जान काठमाडौंमा अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस) तयारी गरिरहेका बेला कल्पनै नगरेको घटना आइलागेको छ।

२ महिनाअघि फेसबुकमा ब्रेन लुसिया बकार नामका बेलायतीले पठाएको फ्रेन्ड रिक्वेस्ट लक्ष्मीले एसेप्ट गरेपछि ब्रेनले तुरुन्त फोन गरेर ‘तिमीलाई ४० हजार बेलायती पाउन्ड र महँगा गहना पठाएको छु लिनु’ भन्छन्। लक्ष्मीले खुसी भएर पवीलाई बताएपछि दुवै गिफ्ट लिने प्रयासमा लाग्छन्। ब्रेनसँग ह्वाट्सएपमा समेत कुराकानी हुन्छ दुवैको।

एकाएक ब्रेनले गिफ्टको भन्सार तिर्न ४५ हजार रुपैयाँ पठाउन पवीसँग आग्रह गर्छन्। उनीहरूले केही नसोची रकम सजिलै बुढामाया थामसुङको नाममा आईएमईबाट पठाइदिन्छन्। ब्रेनले रकम पठाउन भारतबाट फोन आउने बताएपछि भारतीय नम्बर ९१८५२७७४९८६७, ९१६३२११८४३७३ र ९१७०५३३६१२८४ बाट पवीलाई फोन आउँछ। एक भारतीयले आफू दिल्लीमा रहेको र उनीहरूको गिफ्ट आइपुगेकाले भन्सार कटाउन थप रकम चाहिएकाले पठाउन पवी र लक्ष्मीलाई फोन गर्छन्। उनले काठमाडौं सीतापाइलाका जयराम कार्कीको फोन नम्बर दिएर सम्पर्क गर्न अह्राउँछन्।

जयरामले भनेअनुसार पवी र लक्ष्मीले सुशीला थामसुङको नाममा १ लाख ५० हजार, विमला थामसुङको नाममा सिटी एक्सप्रेसबाट १ लाख २५ हजार र साधना भन्ने युवतीको नाममा सिटी एक्सप्रेसबाटै १ लाख २५ हजार रुपैयाँ गरी ४ लाख पठाउँछन्। त्यसपछि पनि गिफ्ट नपाउँदा दुवैले जयरामसँग सम्पर्क गर्छन्। जयरामले गिफ्ट दिल्ली आइपुगेको र उतैबाट फोन आउँछ भनेर टार्छन्।

दिल्लीबाट फोन आउँछ र ‘सीधै रकम पठाउन नमिल्ने भयो, भारतीय रिजर्भ बैंकको खातामा रकम पठाएपछि गिफ्ट सजिलै नेपाल आउँछ’ भन्दै थप रकम मागिन्छ। दुवैले दिल्ली पठाउन पटकपटक गरी जयरामलाई ४१ लाख रुपैयाँ दिन्छन्। एकाएक बेलायती ब्रेनले आफू दिल्ली आएको र यति ठूलो रकमको स्रोत देखाउन नसकेर प्रहरीले पक्रेको भन्दै छुट्न थप ५ लाख ६५ हजार पठाउन दुवैसँग आग्रह गर्छन्। झन्डै आधा करोड रुपैयाँ पठाइसक्दा पनि गिफ्ट नआएपछि दुवैले परिवारमा सबै कुरा बताउँछन्। परिवारले ‘तिमीहरू ठगियौ’ भन्दै प्रहरीमा उजुरी गर्छन्।

महानगरीय प्रहरी परिसर टेकुले अनुसन्धानपछि जयराम, खिचापोखरीस्थित जय दुर्गा ट्रेड इन्टरनेसनल नामको कस्मेटिक होलसेलका म्यानेजर कृष्णगोपाल अग्रवाल र सिन्धुपाल्चोक घर भई खिचापोखरीमै नेपाल लजिस्टिक प्रालिका कामदार मुस्कान तामाङलाई पक्राउ गरेको छ। उनीहरूबाट १५ लाख रुपैयाँ बरामद भएको छ। प्रहरीका अनुसार पवी र लक्ष्मीबाट लिएको रकम जयरामले नारायण र नारायणले दिल्लीका पंकज अग्रवाललाई पठाउँथे। प्रहरी अनुसन्धानबाट पवी र लक्ष्मी दुवै जना हुन्डी कारोबारीको चंगुलमा फसेको रहस्य खुल्छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार हुन्डी कारोबारीले ठग्ने नियतले दुवैसँग रकम लिएको देखिन्छ। घटनामा नारायण अग्रवाल (हाल अमेरिका) र नेपाल लजिस्टिक प्रालिका सञ्चालक राकेश गुप्ता फरार छन्। पोखरेल काठमाडौंमा हुन्डी कारोबारीको अवस्था डरलाग्दो रहेको बताउँछन्। उनले भने, ‘अर्थतन्त्र जर्जर बनाउन र सोझासाझा ठग्न हुन्डी कारोबारी सक्रिय छन्। गैरकानुनी रूपमा रकम देशबाहिर पठाउन हुन्डी कारोबारी सक्रिय छन्। हामी रोक्ने प्रयासमा छौं।’


ब्याजमा लिएको पैसा डुब्यो

काठमाडौं प्रहरी कार्यालयमा पवी र लक्ष्मी आफ्नो रकम सकभर छिटो उठोस् भन्दै प्रहरी अधिकृतहरूका कोठा चहारिरहेका थिए। उनीहरूले भने, ‘ब्याजमा ऋण लिएको रकम डुब्यो।’ लक्ष्मीका दाजु अमेरिकामै बस्छन्। जर्मनी जान भिसा लगाउन रकम चाहियो भन्दै दाजुमार्फत लिएको रकम लक्ष्मीले गिफ्टको प्रलोभनमा हुन्डी कारोबारीलाई बुझाएपछि तनावमा छिन्। लक्ष्मीको मात्रै ३९ लाख ५० हजार र पवीको १२ लाख ६० हजार रुपैयाँ डुबेको छ।

लक्ष्मीले १९ लाख ५० हजार रुपैयाँ १३ प्रतिशत ब्याजमा ऋण लिएको बताइन्। पवीले पनि ऋणमै १२ लाख ६० हजार लिएकी हुन्। ‘जर्मनी जान भन्दै दाजुलाई ढाँटेर पैसा लियौं तर अहिले पछुतो लागेको छ’, लक्ष्मीले भनिन्, ‘यसरी अरू ठगिएको जान्दाजान्दै पनि हामी ठगियौं।’ लक्ष्मीका अनुसार रकम फिर्ता माग्दा दिल्लीबाट फोन गरी गिफ्ट नबुझे कानुनी झमेलामा फस्ने भन्दै उनीहरूलाई धम्क्याइन्थ्यो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.