दुवै सदनका अन्तरिम कार्यविधि पारित

दुवै सदनका अन्तरिम कार्यविधि पारित

काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रियसभाले आ-आफ्ना अन्तरिम कार्यविधि पारित गरी बैठक सञ्चालन र काम कारवाही नियमित गर्न बाटो खोलेका छन्। दुवै सदनका सोमबार बसेका बैठकले कार्यविधि सर्वसम्मत पारित गरेका हुन्। नियमावली नबनेसम्म दुवै सदन अन्तरिम कार्यविधिअनुसार सञ्चालन हुनेछन्।

प्रतिनिधिसभामा जेष्ठ सदस्यका हैसियतले सभामुखको जिम्मेवारी वहन गरिरहेका महन्थ ठाकुरले अन्तरिम कार्यविधि पारित गर्न प्रस्ताव गरेका थिए। संसद् सचिवालयले दलसँग छलफल गरेर अन्तिम रूप दिएको कार्यविधि बैठकले सर्वसम्मत पारित गरेको थियो। कार्यविधि पारितसँगै प्रतिनिधिसभामा सभामुख र उपसभामुखको निर्वाचन गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र अन्य कारवाही अघि बढाउने आधार तय भएको हो।

संसद् सचिवालयले सभामुखको निर्वाचन फागुन २६ गते र प्रधानमन्त्रीले विश्वासको मत लिन फागुन २७ गते मिति तय गरेको छ। फागुन ३ गते केपी ओली प्रधानमन्त्री नियुक्त भए पनि संसदबाट विश्वासको मत लिन बाँकी छ। प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। मंगलबारको बैठकमा सभामुखको निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिने संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभा बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

सोमबार बसेको पहिलो दिनको बैठकमै दलका शीर्ष नेताले सम्बोधन गर्ने तयारी भए पनि कांग्रेसको संसदीय दलको नेता चयनका कारण शीर्ष नेता बोल्ने कार्यक्रम एक दिन पछि सारिएको संसद्का प्रवक्ता भरतराज गौतमले जानकारी दिए। गौतमले नेताहरूको सम्बोधन मंगलबारका लागि तय गरिएको जनाए। प्रतिनिधिसभा बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न खगराज अधिकारी, मानबहादुर विश्वकर्मा, पूर्णाकुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अरगडियालाई तोेकेको छ।

राष्ट्रियसभाको बैठकले पनि अन्तरिम कार्यविधि पारित गरेको छ। जेष्ठ सदस्य तारादेवी भट्टले अन्तरिम कार्यविधि पारितको प्रस्ताव बैठकमा गरेकी थिइन्। बैठकले परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी र कालिबहादुर मल्ललाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकेको छ।

परिपक्व महन्थ, तारादेवी अलमलिइन्

प्रतिनिधिसभाको पहिलो दिनको बैठकमै ७५ वर्षिय पाका राजनीतिज्ञ महन्थ ठाकुरले आफ्नो परिपक्व राजनीतिक अनुभव प्रदर्शन गरेका छन्। जेष्ठ सदस्यका हैसियतले सभामुखको भूमिका निर्वाह गरिरहेका ठाकुरले अन्तरिम कार्यविधि पारित गर्न बैठकमा प्रस्ताव गर्न खोजेपछि सांसद प्रेम सुवालले नियमापत्ति जनाए।

आफूहरूसँग छलफल नै नगरी हतारमा कार्यविधि पारित गर्न लागिएको भन्दै सुवालले नियमापत्ति जनाए। तर ठाकुरले ‘नियम नै बनेको छैन, कुन नियमअनुसार नियमापत्ति जनाउन खोजेको’ भन्दै प्रतिप्रश्न गर्दै सुवाललाई बस्न बाध्य बनाए। राष्ट्रियसभामा भने जेष्ठ सदस्यका हैसियतले पहिलो बैठकको अध्यक्षता गरेकी तारादेवी भट्ट भने अलमलिएकी थिइन्। मौनधारणका लागि छुट्याएको दुई मिनेटको समय बितेपछि पनि उनी उभिइरहेकाले कर्मचारीले समय सकिएको सम्झना दिलाउनुपरेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.