संविधान संशोधन गर्न खोजेको कुराले खुसी छौँ : देउवा
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान संशोधनका लागि मधेसकेन्द्रित दलहरूसँग छलफल अघि बढाएको कुराले आफू खुसी भएको बताएका छन्। मंगलबार संसद बैठकमा समय लिएर देउवाले संविधान संशोधनमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए।
आफू नेतृत्वको सरकारले संविधान संशोधन विधेयक ल्याउँदा 'राष्ट्रहीत विपरीत' भएको भन्दै अवरोध गरेको एमाले हाल संविधान संशोधनमा सकारात्मक बन्नु खुसीको कुरा भएको देउवाको प्रतिक्रिया छ।
'हामीले संशोधन गर्न खोजेका थियौँ। तर भएन', देउवाले भने,'अहिले संशोधन गर्न खोजेको सुनेको छौँ। खुसी भएको छु। सफलता मिलोस्। सहयोग गर्ने विश्वास दिलाउन चाहन्छौँ।'
कांग्रेसको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रिया सम्पन्न हुन बाँकी रहेको बताउँदै सभापति देउवाले त्यसमा आफ्नो दलको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
उनले अदालत र प्रेसलाई धम्क्याउने कार्य सैह्य नभएको बताए।
यो पनि पढ्नुस्ः संसदमा माधव नेपालले भने - टीआरसीको काम चाँडो टुंग्याउँ