‘खादाले मात्रै पीडितको मन बुझ्दैन’
भरतपुर : जनआन्दोलनताका कालिका नगरपालिका-४ का विजयसिंह गोलेले आफ्ना दुई सन्तान गुमाए। अहिले उनको नाम सहिद परिवारको सूचीमा छ। तीन भाइ छोरा र एक बहिनी छोरीमध्ये कान्छा छोरा करुण र छोरी अनु भूमिगत भएका थिए। २०५८ सालमा भूमिगत भएकी अनु चितवनमै र २०६० सालबाटै भूमिगत भएका उनका दाइ करुणको लमजुङमा भएको दोहोरो भिडन्तमा मृत्यु भयो।
कसैको काख त कसैको सिउँदो नै रित्तिने गरी भएको सशस्त्र द्वन्द्वले देशको राजनीतिमा आमूल परिवर्तन आयो। तर द्वन्द्वमा मृत्युवरण गर्न पुगेका र बेपत्ता पारिएकाहरूका लागि अहिले सत्तामा पुगेकाहरूले सामान्य सम्बोधनको भरमा अलमल्याइराखेका छन्। सहिद परिवारको सूचीमा रहेका गोले आफैं मजदुरीको भरमा घर धानेर बस्न बाध्य छन्। उनी भन्छन्, ‘सरकारले हाम्रा लागि सम्बोधन गरे पनि पर्याप्त नहुँदा हाम्रो समस्याको समाधान हुन सकेको छैन।’
पार्टीकै लागि ज्यानको बली चढाएर हिँडे पनि सही मूल्यांकन हुन नसकेको उनको बुझाइ छ। उनकी श्रीमती २०५८ सालदेखि नै जलबिन्दुका कारण दृष्टिविहीन भएकी छिन्। घरमा भएका दुई भाइ छोराले ज्याला मजदुरी गरेर बाआमा पाल्दै आएका छन्। ‘तर, पीडित परिवारलाई आवश्यक गाँस, बास र कपासको व्यवस्था हुन सकेको छैन’, उनले भने। पार्टीले त्यतिबेला दुई कोठाको छाप्रो हालेर आँखामा छारो हाल्ने काम मात्रै गरेको उनले बताए।
पार्टीले सधैं अन्धकारमा रुमल्याउने काम मात्रै गरेको माडी नगरपालिका-१ भंगताकी हेमाकुमारी क्षेत्रीको गुनासो छ। सोझासाझा जनताको नाममा टाठाबाठाले फाइदा लुटेको उनको भनाइ छ। २०६१ सालमा छोरो गुमाएकी उनले भनिन्, ‘राज्यले सहिदको नाममा एक मिनेट मौनधारण गर्नेबाहेक केही काम गरेजस्तो लाग्दैन।’ सहिद, बेपत्ता र घाइते परिवारका नाममा ठूला भाषण गर्नेको कमी नभए पनि वास्तविक पीडा बुझ्नेको कमी भएको उनको बुझाइ छ।
भरतपुर-१२ आस्था चोकका दयाराम दवाडीले पनि सहिद परिवारको पीडा अहिलेका सत्तासीनहरूले बिर्सिएको बताए। ‘वास्तविक पीडा कस्तो हुन्छ भन्ने कुरा हामी भोग्नेलाई पो थाहा हुन्छ, नभोग्नेलाई के थाहा ? ’, उनले आक्रोश पोखे। सहिद परिवार र बेपत्ता परिवारको नाममा घाँटीमा एउटा खादा भिराएर झुलाइरहेको उनले बताए। हजारौँको ज्यान जाने गरी भएको सशस्त्र द्वन्द्वले परिवर्तन ल्याए पनि परि श्रमअनुसारको फल पाउन नसकेको उनको भनाइ छ।
माओवादी पार्टीले अहिले देशव्यापी सहिद सप्ताह मनाइरहेका छन्। माओवादी केन्द्र, वैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको माओवादीले पनि आआफ्नै किसिमले सप्ताह मनाइरहेका छन्। तर सहिदको सपना साकार पार्न सप्ताह मनाएर, प्रमाणपत्र दिएर र खादा लगाइदिएकै भरमा पूरा नहुने बेपत्ता परिवार समाज चितवनकी अध्यक्ष निशा न्यौपानेको भनाइ छ। ‘राजतन्त्र अन्त्य गर्न मात्रै थियो त माओवादी आन्दोलन ? ’, उनले प्रश्न गरिन्, ‘त्यसैले क्रान्तिको कार्यदिशालाई सही ढंगले अगाडि बढाउन नेतृत्वपंक्तिलाई मेरो सुझाव छ।’
सांसद कञ्चन खनालले पनि माओवादी आन्दोलनबाट अहिलेसम्म सपनाको एउटा पाटो मात्रै सफल भएको बताइन्। ‘हामीले बल्ल सपनाको एउटा पाटोलाई सफल पारेका छौँ’, उनले भनिन्, ‘गर्नुपर्ने काम धेरै छन्।’
चैत दोस्रो हप्ताभित्र पार्टी एकता
चितवन क्षेत्र नं २ ‘क’का प्रदेशसभा सदस्य घनश्याम दाहालले चैत दोस्रो साताभित्र एमालेसँग पार्टी एकता भइसक्ने उद्घोष गरेका छन्। सोमबार सशस्त्र द्वन्द्वमा सहिद तथा बेपत्ता भएकाका परिवारलाई सम्मान गर्न आयोजित कार्यक्रममा सांसद दाहालले समाजवादी क्रान्तिका लागि कम्युनिस्ट एकता आवश्यक रहेको प्रतिक्रिया दिए।
नेपालमा रहेका सबै कम्युनिस्ट पार्टीलाई एकै ठाउँमा ल्याउन लागिएको उनको भनाइ छ। ‘नेपालमा छरिएर रहेका सबै कम्युनिस्ट पार्टीहरूलाई हामीले एकै ठाउँमा ल्याउँदै छौँ’, उनले भने, ‘किनकि हाम्रो क्रान्ति अझै पूरा भएको छैन।’ तर, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेकपा क्रान्तिकारीले पनि दुई पार्टीबीचको एकता प्रक्रिया अघि बढिसकेको बताएका छन्।