दलित पहिचान जोगाउन संग्रहालय
लमजुङ : दलित समुदायको ऐतिहासिक संस्कृति तथा पहिचान जोगाउन दलित संग्रहालय निर्माण गरिएको छ। ग्रामीण पर्यटकीय गन्तव्य बेंसीसहर नगरपालिकाको गाउँसहर थुम्काडाँडास्थित दलितबस्तीमा संग्रहालय निर्माण गरिएको हो। जिल्ला समन्वय समितिको सहयोगमा यहाँ होमस्टेसमेत सञ्चालन गरिएको छ।
दलित समुदायको ऐतिहासिक, सांस्कृतिक, सामाजिकलगायत विविध पक्षबारे गाउँमा आउने पर्यटक एवं नयाँपुस्तालाई जानकारी गराउन संग्रहालय निर्माण गरिएको दलित अगुवाले बताएका छन्। स्थानीय जनज्योति युवा क्लबको पहलमा राक्सेस्थान आमासमूह र जय श्री गणेश बाबासमूहको सक्रियतामा मौलिक शैलीको परम्परागत घुमाउने घरमा संग्रहालय राखिएकोे छ।
ढुंगा, माटो र काठबाट निर्मित परम्परागत घुमाउने घरमा पुरानै शैलीमा आँखीझ्याल, दुईपलेटा ढोका र खोपा बनाइएको छ। माथिल्लो तलामा चढ्न पुरानै शैलीको लिस्नो (भर्याङ) राखिएको छ। संग्रहालयको अवलोकनकर्तालाई बाहिरबाट हेर्दा र भित्र घुमफिर गर्दा परम्परागत घरकै अनुभूति मिलोस् भन्ने उद्देश्यले संरचना निर्माणमा मौलिकता दिइएको सिकर्मी हर्कबहादुर मौरतीले बताए।
संग्रहालयमा दलित समुदायका पुख्र्यौली मौलिक र परम्परागत सीपबाट बनेका सामग्री ढिकी, जाँतो, सिलौटो, ठेकी, मदानी, आरन, फलामका औजार आदि राखिएको छ। यस्तै, सुनका नमुना गहना, छाला जुत्ता, दाम्लो, झोला, छालाका सामान पनि संग्रहालयमा छन्।
सुचिकारले बनाएका पुराना शैलीका कपडा, बाँस र निगालोबाट बनाइएका छत्री, स्याँखु, डोको, डालो, नाम्लोलगायत चोयाका सामान, सम्भव भएसम्म जुत्ता बनाउने परम्परागत कारखानाको समेत संग्रह गरिने जनज्योति युवा क्लबका अध्यक्ष विजय दुलालले बताए। ‘गाउँमा नयाँ काम सुरु भएकाले सबैबाट प्रशंसा भएको छ’, दुलालले भने, ‘हामी निकै उत्साहित छौं। स्वदेश र विदेशमा रहेका दाजुभाइले पनि सहयोग गरेका छन्।’ दलित समुदायको मात्रै संग्रहालय निर्माण सम्भवतः नेपालमै पहिलो हुन सक्ने उनको दाबी छ।
१३ फिट गोलाइको संग्रहालयको छानो बन्दीपुरबाट ल्याइएको स्लेट (ढुंगा) ले छाइएको छ। बाहिरी भित्तोमा प्लास्टर गरी माटो र कमेरोजस्तै मौलिक देखिने रङले पोतेर फूलबुट्टा भरिएको छ। मौलिक शैलीको एक ढोका र ४ वटा झ्याल राखिएका छन्। भित्रको भित्तोमा रातोमाटोले लिप्ने, माथिल्लो तलामा उक्लिन परम्परागत लिस्नो, आँगनमा ढुंगा छाप्ने, पिँढीमा कुखुराको खोरसमेत बनाइएको बाबासमूहका कोषाध्यक्ष पञ्चबहादुर हिमालीले बताए।
संग्रहालयका लागि १० लाख रुपैयाँ खर्च भएको जनज्योति युवा क्लबका सल्लाहकार एवं बेंसीसहर नगर कार्यपालिकाका सदस्य अजय मजाकोटीले बताए। उनका अनुसार संग्रहालय निर्माणका लागि जिल्ला समन्वय समितिबाट ३ लाख रुपैयाँ, नगरपालिकाको दलितकोष र पर्यटन कार्यक्रमअन्तर्गत १ लाख ३३ हजार ४ सय ६८ रुपैयाँ सहयोग उपलब्ध भएको छ।
गाउँमा आयोजित सांस्कृतिक कार्यक्रम, स्थानीय आमासमूह, बाबासमूह र वैदेशिक रोजगारमा गएका युवाबाट साढे ५ लाख रुपैयाँ सहयोग संकलन गरी संग्रहालय निर्माणमा खर्च गरिएको हो। मुख्य संरचना निर्माणकार्य सकिए पनि सबै काम सक्न अझै करिब १० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। आर्थिक स्रोत जुटाउन जिल्ला समन्वय समिति, नगरपालिका, पर्यटन कार्यालय वा पर्यटन बोर्डलगायत निकायमा प्रस्ताव पेस गरिएको मजाकोटीले बताए।
सो स्थानमा दलित समुदायको लगभग ४ सय परिवार छन्। लमजुङ दरबार, लमजुङकालिका, देवीस्थान र काउलेपानी देवीमन्दिर, पुरानकोट गढी, काउलेपानी होमस्टेगाउँलगायत पर्यटकीय गन्तव्य भएकाले गाउँसहर एउटा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले भरिपूर्ण छ। पर्यटन र पर्यटकीय गन्तव्यको महत्व झल्काउन चार वर्षको प्रयासपछि संग्रहालय निर्माण गरिएको स्थानीय अगुवा रामबहादुर दुलालले बताए।