‘सडक काटियो, दुःख काटिएन’
जुम्ला : थकाइले रातोपिरो अनुहार, शिरबाट तप्पतप्प चुहिरहेको पसिना, पिठ्यूँमा ४० केजीको भारी ! सिँजाको नराकोट बजारबाट अत्यावश्यक खाद्यान बोकेर उकालो चढ्दै गरेकी शनिगाउँ, फुंग्रकी ४५ वर्षीया लाउरी बुढाले डाँडामा भारी अड्याएपछि लामो सास लिइन्। उनीसँगै १० जनाभन्दा बढी महिला आफूभन्दा ठूलो भारी खेपिरहेका छन्।
नराकोट बजारबाट साविकको शनिगाउँका सबै वडामा पुग्न कम्तीमा दुई घण्टा उकालो चढ्नुपर्छ। बल्लतल्ल गाउँसम्म सडक पुगेको छ। तर साँघुरो र भत्किएको ट्र्याकमा सवारी नचल्दा स्थानीय पैदलै सामान खेप्न बाध्य छन्। भारीसहित ३० वर्षयता यही बाटोमा उकाली-ओराली गर्दै गरेकी लाउरीले भनिन्, ‘म १० वर्षको उमेरदेखि यसरी नै भारी बोकिरहेकी छु। अब हाम्रा दिन गए। तर पछिल्लो पुस्ताले एक बोरा चामल बोकेर यसरी पैदल यात्रा गर्न नपरोस्।’
उनीजस्तै त्यहाँका सबै स्थानीयको अपेक्षा उही छ, गाउँमै खाद्यान्न ढुवानी भएको देख्ने। ‘पैसाले गाउँसम्म सडक त काटियो। तर सवारी नपुग्दा हाम्रा दुःख भने काटिएनन्’, ४० वर्षीया विष्णुकली रोकायाले भनिन्, ‘चुनावको बेला विभिन्न आश्वासन बाँड्दै घरदैलोमै भोट मागेर हिँडेका नेताहरूले गाउँगाउँसम्म सडक विस्तार र मर्मतमा जोड दिँदैनन्, जनताको मर्का कसले बुझ्ने ? ’
बल्लतल्ल गाउँसम्म सडक पुगेको छ तर साँघुरो र भत्किएको ट्र्याकमा सवारी नचल्दा स्थानीय पैदलै सामान खेप्न बाध्य छन्।
शनिगाउँ, गोरा, फुंग्र, भाटगाउँलगायत क्षेत्रका महिला यसरी बजारबाट सामान बोकेर ल्याउनेदेखि घरको सबै काम गर्छन्। यहाँका युवा व्यापारको सिलसिलामा कालापहाड र रोजगारीको सिलसिलामा बिदेसिएका छन्। घरमा वृद्धवृद्धा र बालबालिका मात्र भएपछि त्यहाँका महिला सबै काम भ्याउन बाध्य भएका हुन्। ‘पिठ्यूँमा भारी र पेटमा सात महिनो गर्भ बोकेरै उकाली-ओराली गर्छौं, यो रहर नभइ बाध्यता हो, श्रीमान् सधैं धन कमाउन कालापहाड जान्छन्, मैले मेरा दुई सन्तानलाई यसरी नै जन्म दिएँ’, राममाया रोकायाले भनिन्।
यता सिँजा गाउँपालिकाले शनिगाउँ क्षेत्रमा सडक विस्तार र मर्मतका लागि बजेट विनियोजन भइसकेको जनाएको छ। सो क्षेत्रमा सडक विस्तार आयोजनालाई गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेको छ। वडा ६ का अध्यक्ष मुनबहादुर रावतले यही आर्थिक वर्षभित्रै गाउँमा सवारी पुर्याउने दाबी गरेका छन्। उनले भने, ‘शनिगाउँसम्म सडक मर्मत गरी सवारी सञ्चालनका लागि २० लाख रकम छुट्याइएको छ, छिट्टै सवारी पुग्छ। नागरिकले यसरी भारी बोक्ने दिन अब सकिनेछन्।’