निर्माण गरी हस्तान्तरण नहुँदै सडकमा खाल्डा

निर्माण गरी हस्तान्तरण नहुँदै सडकमा खाल्डा

 

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको राँझादेखि जमुनाहसम्मको चारलेन सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा खाल्डा परेको छ। सडकखण्डमा प्रतिकिलोमिटरमा आधा दर्जनभन्दा बढी ठाउँमा खाल्डा परेको छ। खराब सडकका कारण सवारी दुर्घटना पनि बढी हुने गरेको छ। एसियाली विकास बैंकको सहयोगमा ६३ करोड रुपैयाँ लागतमा एएमआर पप्पु कन्स्ट्रक्सन जेभी निर्माण गरेको साढे १० किलोमिटर सडक न्यून गुणस्तरकै कारण भत्किएको हो।

सडक निर्माण सम्पन्न नहुँदै गुणस्तरका विषयमा स्थानीय स्तरमा विरोध भएको छ। विरोधकै कारण निर्माण कम्पनीले सडक डिभिजन कार्यालयलाई सडक हस्तान्तरण गर्न सकेको छैन। भत्किएको सडक कसले मर्मत गर्ने भन्नेबारे सरोकारवाला सरकारी निकाय एकअर्कालाई दोष दिएर जिम्मेवारी लिनबाट पन्छिरहेका छन्। नेपालगन्ज उपमहानगरपालिका, सडक डिभिजन कार्यालय र ठेकेदार पप्पु कन्स्ट्रक्सनबीच अहिले यसबारे जुहारी चलिरहेको छ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा सडक मर्मत गर्ने जिम्मा सडक डिभिजनको भएको बताउँछन्। तर, सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख अर्जुनकुमार बम हस्तान्तरण भएको एक वर्षसम्म बिग्रेको ठाउँमा मर्मत सम्भार गर्ने दायित्व निर्माण कम्पनीको भएको जिकिर गर्छन्। ‘कुनै पनि योजना निर्माण भएको एक वर्षसम्म गुणस्तरहीन भएकाले बिग्रिएमा कम्पनीले मर्मत गर्नुपर्छ’, उनले भने, ‘पप्पुले त सडक हस्तान्तरण नगरेकाले निर्माण कार्य पूरा भएकै देखिन्न।’

मेयर राणाले बिग्रेको सडक उपमहानगरले एक साताभित्रै मर्मत गर्न सक्ने भए पनि सम्पर्कविहीन कम्पनीलाई कारबाहीको दायरामा ल्याउन जोड दिइरहेका छन्। समयमै निर्माण सम्पन्न नगरेको भन्दै निर्माण कम्पनीलाई एडीबीले साढे पाँच करोड हर्जाना लगाएको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ। कन्स्ट्रक्सनका प्रबन्धक सुमित रौनियारसँग अन्नपूर्णले पटक-पटक सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन्।

निर्माण सम्पन्न भएको एक वर्षसम्म अधुरा काम र मर्मत सकेपछि मात्र कम्पनीको सम्झौता पूरा हुने सडक डिभिजनको दाबी छ। नेपालगन्ज-कोहलपुर सडकअन्तर्गत राँझादेखि रुपैडियासम्मको साढे १० किलोमिटर चार लेन सडक निर्माण गर्न ०६९ चैत १६ गते पप्पु कन्स्ट्रक्सन, सडक विभाग तथा एसियाली विकास बैंक (एडीबी) बीच सम्झौता भएको थियो।

एडीबीले मे २०१७ देखि लागू हुनेगरी मर्मत अवधि तोके पनि हालसम्म मर्मत गर्ने कुरा त परै जाओस् बाँकी रहेको कामसमेत पूरा गरेको छैन। एडीबीले रत्नराजमार्गमा पर्ने कोहलपुर-जमुनाहा सडकखण्डको साढे २१ किलोमिटर सडक चार लेन बनाउन सहयोग गरेको थियो। दुई निर्माण कम्पनीलाई साढे १० किलोमिटरका दरले ठेक्का दिइएकोमा कालिका कन्स्ट्रक्सनले लिएको ठेक्कामध्ये राँझा-कोहलपुर सडकखण्ड भने हस्तान्तरण भइसकेको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.