यस्ता छन् प्रदेश १ सरकारका सय दिने कार्यक्रम
विराटनगरः प्रदेश १ सरकारले एकसय दिने कार्यक्रम सार्वजनिक गरेको छ । फागुन २० गते मन्त्रिपरिषद् बैठकबाट निर्णय भएअनुसारका कार्यक्रम मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तय गर्ने प्रारम्भिक कार्यक्रम सार्वजनिक गरिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।
मुख्यमन्त्री कार्यालयमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सरकारको कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारको सयदिने कार्यक्रममा एक घर पाँच बिरुवा, एकीकृत बस्ती, सामुदायिक बस्ती निर्माण, सघन सहरी विकास कार्यक्रम, प्रहरी मेरो साथी, जनतासँग प्रहरी, एक हप्तामा एक पटक सावरी लाइसेन्स वितरण लगायत विषय समेटिएको छ ।
मुख्यमन्त्री राईले सरकारले प्रस्थान बिन्दुका रुपमा सय दिने कार्यक्रमलाई लिएएको र आगामी नीति तथा कार्यक्रमले विस्तृतरुपमा समेट्ने जानकारी दिए ।