झापा गोल्डकप टाइब्रेकरमा मनाङको भाग्य

झापा गोल्डकप टाइब्रेकरमा मनाङको भाग्य

बिर्तामोड : मनाङ मस्र्याङ्दी क्लब तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। जितका लागि भने मनाङलाई टाइब्रेकरको सहारा लिनु पर्‍यो। निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा मनाङले ४-३ को जित निकालेको हो।

टाइब्रेकरमा सहाराका भीषण गुरुङ र मानबहादुर तामाङको प्रहार गोलमा परिणत नहुँदा मनाङको जित सम्भव भएको थियो। भीषणको प्रहार बाहिरिएको थियो भने मानबहादुरको प्रहारलाई मनाङका गोलरक्षक दिनेश थापामगरले रोकिदिएका थिए। सहाराका विजय श्रेष्ठ, रन्दीप पौडेल र विशव अधिकारीको प्रहारले मात्रै जाली चुमेको थियो। मनाङका लागि सुजल श्रेष्ठ, विमल बस्नेत, अञ्जन विष्ट र द्रोण थापाले टाइब्रेकरमा गोल गरेका थिए।

त्यसअघि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा मनाङ निर्धारित समयमै जित भेट्टाउन असफल भएको थियो। खेलको २२औं मिनेटमा मनाङका लागि विदेशी खेलाडी भिक्टोरले डी एरियाभित्र पाएको बललाई पोस्टको दिशा दिन सकेनन्। ३४औं मिनेटमा मनाङका विशाल राइको फ्री किक प्रहार पोस्ट नजिकिँदै बाहिरिएको थियो। ४९औं मिनेटमा अञ्जन विष्टको सशक्त प्रहारमा सहाराका गोलरक्षक बाबु मगर बाधक बनेका थिए।

खेलको ५६औं मिनेटमा सहाराका गोलरक्षक बाबुसँगको वान भर्सेस वानको अवस्थामा समेत भिक्टोरले गोल गर्न सकेनन्। सहाराले पनि प्राप्त केही अवसर खेर फालेको थियो। खेलको ३६औं मिनेटमा सहाराका रिचार्ड पुनको प्रहार क्रसबारको थोरै माथिबाट बाहिरिएको थियो। टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका मनाङका अञ्जन विष्ट म्यान अफ दी म्याच चुनिए। बुधबार आयोजक झापा–११ र सिक्किम युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

खेलपछि सहाराका प्रशिक्षक किरण श्रेष्ठले हार टोलीको दुर्भाग्य भएको प्रतिक्रिया दिए। ‘हामीले मनाङलाई निर्धारित समयमा बराबरीमै रोक्न सफल भएका थियौं। यद्यपि टाइब्रेकरमा पराजित हुनु हाम्रो दुर्भाग्य हो’, प्रशिक्षक श्रेष्ठले भने।

मनाङका प्रशिक्षक शैलेस कर्माचार्यले जितले टोलीमा थप आत्मविश्वास पलाएको प्रतिक्रिया दिए। ‘सहारा पनि राम्रो टोली हो। त्यसमाथि हामीले प्राप्त केही अवसरलाई पनि सदुपयोग गर्न सकेनौं’, प्रशिक्षक कर्माचार्यले भने, ‘यद्यपि जितले खेलाडीमा आत्मविश्वास देखिएको छ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.