प्रधानमन्त्रीकै जिल्ला खुला दिसामुक्त हुन सकेन
भद्रपुर : लक्ष्यअनुसार गौरादह नगरपालिका खुला दिसामुक्त हुन नसकेपछि सरोकारवालाको लर्कोले घरदैलो अभियान सञ्चालन गरेको छ। प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह झापामा सबैभन्दा बढी शौचालय बन्न बाँकी रहेको नगरपालिका हो। १२ हजार एक सय ४८ घरधुरी रहेको गौरादहमा अझै तीन हजार सुरक्षित शौचालय बन्न बाँकी छ।
‘चुनावताका हामीलाई भोट दिनु न, हामी बनाइदिहाल्छौं नि पक्की चर्पी भन्दै कति आए कति’, स्थानीय रेखा गनगाईंले गुनासो पोखिन्, ‘अहिले जितेर कहाँ-कहाँ पुगे, आसै आसमा बसियो। अब नगरपालिकाले हामीलाई सहयोग गर्नुपर्छ।’
जिसस प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा निमित्त प्रजिअ कृष्णचन्द्र पौडेल, प्रहरी उपरीक्षक विष्णुकुमार केसी, सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार सुवेदी, जिल्ला समन्वय अधिकारी खेमराज ओझा, खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख सीताराम काफ्लेलगायत अधिकारीले स्थलगत अनुगमन तथा घरदैलो गरेका हुन्। त्यस क्रममा घरमा ट्र्याक्टर, निजी चारपांग्रे र मोटरसाइकल हुनेले पनि चर्पी नबनाएको भेटिएपछि जिसस प्रमुख पोर्तेलले अभियान स्थानीय तहसम्म पुग्न नसकेको बताए।
‘राष्ट्रिय व्यक्तित्वहरू जन्माएको र हुर्काएको ठाउँमा अझै खुला दिसामुक्त अभियान स्थानीयकरण हुन नसक्नु दुःखद् पक्ष हो’, उनले भने, ‘बत्तीमुनि अँध्यारोजस्तै बनेको गौरादह नगरपालिकाकै कारण जिल्ला समयमा खुला दिसामुक्त घोषणा हुन सकेको छैन।’
निमित्त प्रजिअ पौडेलले खुला दिसामुक्त घोषणा जिल्लाको इज्जतसँग जोडिएको उल्लेख गर्दै संयुक्त टोली बनाई स्थलगत अनुगमन गर्ने हो भने अभियानप्रति जनता र सरोकारवालाको सहभागिता बढ्ने बताए। सशस्त्रका एसपी सुवेदीले दुई कट्ठा जमिनमा कम्पाउन्डिङ गरी घर बनाउनेले पनि चर्पी बनाउन जग्गा छैन भन्ने बहाना गर्ने गरेको बताए। ‘शरीरभरि गहना छन्, घरमा ३२ इन्चको टेलिभिजन र मोटरसाइकल छ, अझै चर्पी बनाउन कसले के दिन्छ भन्दै हात थाप्ने गरेको पाइयो’, उनले भने, ‘घरायसी चर्पी बनाउन कसैले केही दिँदैन र खुला ठाउँमा दिसा गर्नु सामाजिक अपराध हो भन्ने जनताले बुझ्नु जरुरी छ।’
गौरादहका मेयर रोहितकुमार साहले खुला दिसामुक्त अभियानलाई तीव्रता दिन नसकिएको स्वीकार गरे। चर्पी बनाउनुपर्छ भन्ने सन्देश घर-घरमा पुगे पनि नगरपालिकाले अनुदान दिन्छ कि भन्ने आसमा स्थानीय रहेको उनले सुनाए।
१५ स्थानीय तह रहेको झापामा एक नगरपालिकासहित तीन तह मात्र खुला दिसामुक्त घोषणा भएका छन्। अझै सात नगरपालिका र पाँच गाउँपालिका खुला दिसामुक्त घोषणा हुन बाँकी छन्। जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले जिल्लालाई २०७४ चैत २२ गते खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको छ।