सरकारविहीन गाउँपालिका

सरकारविहीन गाउँपालिका

गोरखा : ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नारा सुनेका हिमाली भेगका बासिन्दाले अहिलेसम्म गाउँमा सरकार भएको अनुभूति गर्न पाएका छैनन्। गाविस सचिव गाउँमा नबस्दा पहिले नै हैरान भएका चुमनुब्री गाउँपालिकाका बासिन्दाले अहिले पनि सरकारी काममा उस्तै सास्ती भोगिरहनुपरेको छ। ‘एकीकृत सेवा केन्द्रमा कोही छैन। गाउँपालिकाका कार्यकारी प्रमुख पनि छैनन्, एकाउन्टेन्ट, सुब्बादेखि वडासचिवसम्म कोही छैनन्’, स्थानीय गणेश कार्की भन्छन्, ‘जस्तो पहिले थियो, अहिले पनि उस्तै छ। गाउँ–गाउँमा सिंहदरबार भनेको कस्तो हुन्छ, हामीले अनुभूति गर्न पाएका छैनौं।’

पशुसेवा कार्यालय, कृषि कार्यालयमा पनि कर्मचारी नभएको कार्कीको भनाइ छ। गाउँपालिका प्रमुख, कार्यकारी प्रमुख, वडासचिव चार महिनादेखि कोही नभएको गाउँपालिका उपप्रमुख कुमारी गुरुङले बताइन्। ‘म छु, वडाध्यक्ष रामकुमार अनि स्वास्थ्य कार्यालयका एक जना प्रेमबहादुर गुरुङ हुनुहुन्छ’, गुरुङ भन्छिन्, ‘प्रशासकीय अधिकृत पनि छैनन्, सात वटा वडामा कुनैमा पनि सचिव छैनन्। जति कराए पनि केहीसीप लाग्दैन। हामीलाई कर्मचारीले घुमाएर हैरान पारे।’

मंसिर ४ गते बैठक सकेर गएका कर्मचारी कोही पनि नफर्केको उनले बताइन्। ‘बैठकका लागि एक दिनअघि आएका थिए, बैठक सकेर ५ गते हिँडे। त्यसपछि कोही पनि फर्केका छैनन्’, उनले भनिन्, ‘नागरिकता बनाउन, पासपोर्ट सिफारिस लिन, सेवाग्राही आउँछन् तर सेवा केन्द्रमा कर्मचारी छैनन्। सबै कार्यालय पियनकै भरमा चलेको छ।’ दुई जना जनप्रतिनिधिले कर्मचारीले झैं कार्यालय सञ्चालन गर्नुपरेको उनको भनाइ छ।

प्रशासन, मालपोत, नापी, कृषि, भेटनरी, शिक्षाका कर्मचारी कोही नभएको वडाध्यक्ष रामकुमार गुरुङले जानकारी दिए। ‘चुनाव भएपछि गाउँ–गाउँमै सिंहदरबार आउँछ भन्थे तर दुःखलाग्दो कुरा, एउटा कर्मचारी पनि छैन’, गुरुङले भने, ‘नयाँ संरचना भन्छन्, पुरानोभन्दा खत्तम छ। जनप्रतिनिधि को हो, कर्मचारी को हो ? जनता अल्मलिरहेका छन्।’ पुनर्निर्माण प्राधिकरणका कर्मचारीचाहिँ कहिलेकहीँ देखा पर्ने उनले बताए।

गाउँपालिकाका प्रमुख पनि महिनौंदेखि गाउँमा छैनन्। ‘गाउँपालिका प्रमुख नआउनुभएको त प्रदेश र प्रतिनिधिसभाको चुनावदेखि हो’, गाउँकार्यपालिका स्रोतले भन्यो, ‘उहाँलाई गाउँपालिकाभन्दा ठेक्कापट्टातिर मात्रै ध्यान छ। गाविस हुँदा जस्तो समस्या थियो अहिले स्थानीय बासिन्दालाई त्यस्तै समस्या छ।’ सचिव नहुँदा जन्मदर्ता, मृत्युदर्ता, बिहे दर्तालगायत काम पनि गर्न नपाएको उनको भनाइ छ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खड्काको अन्तरजिल्ला सरुवा भएपछि निमित्त तोकिएका गणेशभक्त त्रिपाठी पनि हाजिर भएका छैनन्। ‘निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा मलाई नियुक्ति दिएको माघ १० गतेदेखि हो। विभिन्न प्राविधिक कारणले माथि गएको छैन। अब केही दिनमा जाने हो’, त्रिपाठीले आफू हाजिर नभएको स्विकारे।

सेवा केन्द्रका प्रमुख गौतम भण्डारीलाई जिल्ला प्रशासन कार्यालयले काजमा ल्याएपछि सेवा केन्द्रबाट हुनुपर्ने नागरिकता, राहदानी सिफारिस, नाबालक परिचय पत्रलगायत सबै काम ठप्प छ। सदरमुकाम आइपुग्न तीनदेखि सात दिनसम्म लाग्ने भएकाले सरकारले वर्षौंदेखि सिर्दीबासमा सेवाकेन्द्र स्थापना गरेको थियो। तर, जिल्ला प्रशासन कार्यालयले त्यहाँका कर्मचारीलाई वर्षांैदेखि काजमा काम लगाउने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.