मेडल थन्क्याएर विदेश पलायन
इलाम : डेढ दशक सितेरियो कराँतेमा बिताएका इलाम सूर्योदय नगरपालिका- १० फिक्कलका राम (लोचन) प्रधान अहिले मैदानमा देखिँदैनन्। उनी मात्र होइन खेलकुदबाट हराउनेहरूको सूची इलाममा निकै लामो छ। खेलकुदमा आसलाग्दो भविष्य नदेखेपछि अधिकांश खेलाडी वैदेशिक रोजगारीमा लागेका छन्। जिल्लामै रहेका कतिपय पनि अन्य पेसा अँगालेर जीवन धानिरहेका छन्।
कराँतेका प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री योगेश चाम्लिङ खेलकुदबाट आफ्नो भविष्य नबन्ने नदेखेरै धेरै खेलाडी मैदानबाट बाहिरिने क्रम बढेको बताउँछन्। उनले प्रशिक्षण दिएका धेरै खेलाडी खाडी र अन्य मुलुकमा रोजगारीका लागि पुगिसकेका छन्। ‘उमेर र बल छउञ्जेल खेलकुदमा जीवन बिताएकाहरू आर्थिक अवस्था कमजोर भएपछि मेडल थन्क्याएर विदेश पलायन हुन्छन्’, उनले भने।
चाम्लिङ राष्ट्रिय खेलकुद परिषद्का अधिकृतस्तरका कर्मचारी हुन्। आर्थिक अवस्था कमजोर हुँदा उनी पनि विगत आठ वर्षदेखि पुरानो मोटरसाइकलमै ओहोरदोहोर गरिरहेका छन्। कर्मचारीलाई त जीवन धान्न धौधौ भएको अवस्थामा खेलाडीलाई जीवन धान्न निकै कठिन हुने र त्यही कारण बिदेसिन बाध्य भएको उनले बताए। ‘खेलकुद छाडेर अन्य क्षेत्रमा काम गरी जीवन धान्ने खेलाडीको संख्यामा पनि निकै ठूलो छ’, अहिले पनि पाँच सय खेलाडीलाई प्रशिक्षण दिइरहेका चाम्लिङ भन्छन्।
भारतमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा ८० केजी तौलसमूहमा स्वर्ण पदक जितेका राम (लोचन) प्रधानले आधा दर्जन राष्ट्रिय प्रतियोगितामा पनि पदक हात पारे। उनले पाएका मेडल र प्रमाणपत्र घरमा झुन्ड्याएका छन्। पदक र प्रमाणपत्रले कोठाको शोभा बढे पनि त्यसले उनलाई खेलकुद क्षेत्रमा टिकाउन सकेन। दाल, भात र डुकुका लागि आफूले देखेको सुन्दर सपनालाई त्याग्नु परेको उनले सुनाए।
‘सधैं घरको मात्र खाएर देशका लागि खेल्न सकिएन’, उनी भन्छन्, ‘जीवन चलाउन बैंकमा सुरक्षा गार्डको काम गर्दै आएको छु।’ उनले प्रशिक्षण दिएका अधिकांश खेलाडीले खेल क्षेत्रलाई छाडिसकेका छन्। ‘मत त स्वदेशमै छु तर, मेरा थुप्रै चेला अहिले साउदीमा पसिना बगाइरहेका छन्’, उनी दुःखेसो पोख्छन्। जगत गुरुङ, जेबी गुरुङ, राजु कार्की, कञ्चन प्रधानलगायत खेलाडी अहिले खाडीमा रोजगारी गरिरहेको उनले बताए।
गाउँगाउँमा खेलाडी उत्पादन गर्ने कराँते डोजोको संख्या पनि बर्सेनि घट्दो छ। केही विद्यालयले प्रशिक्षक नै राखेर प्रशिक्षण दिने गरे पनि कमैले मात्र खेललाई निरन्तरता दिएको उनले बताए। खेलको दिगोपन र खेलाडीको सुनिश्चित भविष्यका लागि सरकारले नै विशेष ध्यान दिनुपर्ने खेलाडीहरू नै बताउँछन्।