सार्वजनिक शौचालय नभएकाे सहर

सार्वजनिक शौचालय नभएकाे सहर

बिर्तामोड : झापा उद्योग वाणिज्य संघले बिर्तामोडमा केही वर्षअघि आठ लाखमा खरिद गरेर घुम्ती शौचालयको व्यवस्था गर्‍यो। बिर्तामोड नगरपालिकामा सार्वजनिक शौचालय नहुँदा स्थानीय र आगन्तुकले सास्ती खेप्नुपरेपछि संघले केही शौचालय खरिद गरेको थियो। तर, घुम्ती शौचालय अदुवा खोला पुलछेउबाट कहीं घुमेको देखिँदैन। शौचालयको रेखदेख नहुँदा कम मात्र प्रयोगमा आएको छ। दिसापिसाबको पाइप पनि सीधै खोलामा पुर्‍याइएको छ।

‘बिर्तामोडमा सार्वजनिक शौचालयको समस्या आजको मात्र होइन’, स्थानीय व्यवसायी मनोहर भट्टराई भन्छन्, ‘समस्याको दीर्घकालीन समाधानका लागि साना–ठूला मार्केटमा व्यवस्थित ढंगले शौचालय बनाइनुपर्छ। घुम्ती शौचालय घुमाइनुपर्छ।’ सुपरमार्केटमा शौचालय भए/नभएको अनुगमन गरे मात्र समस्या समाधान हुने उनी बताउँछन्।

बिर्तामोडमा दैनिक धेरै सवारी साधन ओहोरदोहोर गर्छन्। पहाडी जिल्लाका बजारमा यहाँबाटै दैनिक उपभोग्य सामान जाने हुँदा किनमेल गर्न आउनेको भीड लाग्छ। नयाँ भवन निर्माणका लागि कुनै स्थान खाली छैन। तर, तीव्र सहरीकरण भएको बिर्तामोडमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा किनमेल गर्न आउने र यात्रा गर्नेले सास्ती भोगिरहेका छन्।

यहाँ दिसापिसाब लागे सडकछेउ लाज नमानी जानुको विकल्प छैन। शौचालय बनाउन आवाज उठे पनि सम्बद्ध निकायले ध्यान दिएको छैन। ‘पसलमा आएकाहरूले दिसापिसाब लागे शौचालय सोध्छन्, घरकै देखाइदिन्छौं’, शनिश्चरे रोडमा पसल गर्दै आएकी शान्तिकला श्रेष्ठ भन्छिन्, ‘यात्रु र अन्य अधिकांश त सडकछेउ जानुको विकल्प छैन।’ घरधनीले शौचालय जान कडाइ गर्दा अधिकांश व्यापारीले ग्राहकलाई शौचालय नभएको बताउने गरेका छन्।

तीव्र सहरीकरण भएको बिर्तामोडमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा किनमेल गर्न आउने र यात्रा गर्नेले सास्ती भोगिरहेका छन्।

बिर्तामोडसँगै नगरपालिका घोषित कन्काई र अर्जुनधारामा भने व्यवस्थित शौचालय छन्। ‘अर्जुनधारामा त दुईवटा छन् सार्वजनिक शौचालय’, महानन्द चोकका अनिस मियाँ भन्छन्, ‘बिर्तामोड त घरमै दिसापिसाब गरेर जानुपर्छ, भन्न पनि लाजमर्दो छ।’

अर्जुनधाराको शनिश्चरे बजारमा तत्कालीन गाविसले १२ लाख खर्चेर शौचालय बनाएको थियो भने अर्को बसपार्क समितिले बसपार्कमा बनाएको हो। बिर्तामोडमा बर्सेनि ठुल्ठूला व्यापारिक भवन बन्छन् तर सार्वजनिक शौचालय बन्दैन। नयाँ व्यापारिक भवनमध्ये केहीमा शौचालय छन्। तर, पुराना कुनै पनि व्यापारिक भवनमा शौचालय नहुँदा उपभोक्ता तथा व्यापारीले छतलाई नै शौचालयका रूपमा प्रयोग गर्दै आएको पनि पाइएको छ। ‘ग्राहकले वरपर खोज्ने र नपाएपछि छतमै गएर पिसाब फेर्ने गरेको पाइयो’, बिर्तामोड चोकका व्यापारी तारा प्रसार्इं भन्छन्, ‘धेरै ठूला सुपरमार्केटको छतको हालत यस्तै छ।’

बिर्तामोडमा धनराज मिनी मार्केट, पोखरेल मार्केट, प्रसाईं मार्केट, रत्न सुपरमार्केट गरी आधा दर्जनभन्दा बढी व्यापारिक भवनमा शौचालय छैन। ‘एउटा सुपरमार्केटमा ५० भन्दा बढी सटरबाट मासिक लाखौं रकम भाडा असुल्ने सुपरमार्केट सञ्चालकले शौचालय भने बनाउन सकेनछन्’, पाँचथर थर्पुबाट आएका कुमार लिम्बूको गुनासो छ, ‘किनमेल गर्न आउन पनि यसकै कारण गाह्रो हुँदो रहेछ।’

सडकछेउका गल्ली र अदुवा खोला किनार दिसापिसाबले दुर्गन्धित छन्। बिर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटी जग्गा अभाव नै यसको मुख्य समस्या भएको बताउँछन्। ‘कहाँ शौचालय निर्माण गर्ने भन्ने अन्योल छ’, उनी भन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.