महिला अधिकारका लागि ८ तरिका

महिला अधिकारका लागि ८ तरिका

अहिले विश्वभरिका महिला र पुरुष महिलाका अधिकार, लैंगिक समानता र न्यायका लागि अद्वितीय अभियानमा छन्। विश्वभरका महिलाले जागरणका लागि पदयात्रा गर्नेदेखि सामाजिक सञ्जालमा लैंगिक विभेद र दुव्र्यवहारविरुद्ध ‘मिटु’ जस्ता अभियान चलाएका छन्। यौन हिंसाको विरोध गर्दै असमान तलब सुविधा र महिलाको असमान राजनीतिक प्रतिनिधित्वका विषयमा पनि बहस भइरहेका छन्। यो वर्षको अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को नारा ‘गाउँ र सहरका महिला अधिकारकर्मीको सक्रियतामा महिलाको जीवन परिवर्तनका लागि अहिलेको समय नै उचित हो’ भन्ने आशयको छ।

हो, महिला अधिकार र समानताका लागि बोल्ने उचित समय अहिल्यै हो। यसका लागि यी तरिका अवलम्बन गर्न सकिन्छ।

१. आवाज उठाउनुहोस्

साथी, परिवार वा अधिकारको वकालत गर्ने संस्था जोसँग कुरा गरिरहनुभएको भए पनि महिला अधिकार र समानताका लागि आवाज उठाउनुहोस्। महिलाको अधिकार र लैंगिक समानताका लागि आवाज उठाएर तपाईं जनचेतना फैलाउन र यो प्रक्रियामा रहका अवरोध हटाउन सहयोग गरिरहनुभएको हुन्छ।

जहाँ दुकुरेह संयुक्त राष्ट्रसंघको महिला संगठन (यूएन वुमेन) को अफ्रिकामा काम गर्ने संस्थामा आबद्ध छिन्। उनले बालिकाको यौनांगमा गरिने पीडादायी र अमानवीय शारीरिक परिवर्तन (फिमेल जेनिटल म्युटिलेसन) को विरुद्धमा संगठित आवाज उठाउन थालेकी छन्। छोरीले उनीजस्तो मानवीय रूपमा दुःखद अनुभव गर्नु नपरोस् भनेर आफू यसका विरुद्धमा अभियान थालेको उनी बताउँछिन्।

२. एकअर्कालाई सहयोग गर्नुहोस्

सन् २०१५ देखि प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको मानवाधिकार केन्द्रमा कार्यरत कानुनकर्मी अयाह अल–वकिल हरेक दिनजसो अदालत गइरहेकी हुन्छिन्, हिंसामा परेर बाँचेकाको पक्षमा मुद्दा दायर गर्न र वकालत गर्न। विवाह, सम्बन्ध–विच्छेद, बालबालिकाको लालनपालनमाथिको अधिकार र सम्पत्ति हस्तान्तरणका विषयमा तालिम लिएपछि महिलाका पक्षमा काम गर्न आफूलाई प्रेरणा मिलेको उनी बताउँछिन्।

‘म मेरो सहरका महिलाको जीवनस्तर कसरी सुधार्न र सजिलो बनाउन सक्छु भन्ने सोच्न थालें’, उनी भन्छिन्। अरू महिलाको जीवनमा तात्विक परिवर्तन ल्याउन सक्ने काममा संलग्न हुन सकिन्छ भन्ने दृढ विचार आएपछि सानातिना अवरोधले छेक्न नसक्ने उनी बताउँछिन्।

महिला र महिला अधिकारलाई सबल बनाउने क्रियाकलापको समर्थन गर्ने हो भने मात्रै लैंगिक समानता कायम हुन सक्छ। महिलाका बारेमा रहेका कानुनी पद्धतिको अध्ययन गरेर वा महिला उद्यमीलाई सहयोग गरेर लैंगिक समानताको पक्षमा बोल्न सकिन्छ।

३. काम बाँड्नुहोस्

महिलाको सबलीकरण तपाईंको घरबाटै सुरु हुन्छ। पकाउने, सफा गर्ने, पानी र दाउरा ल्याउने, बालबालिका, प्रौढहरूको हेरविचार गर्ने जस्ता पैसा कमाइ नहुने घरेलु काममा महिला पुरुषभन्दा २.५ गुणा बढी खटिएको पाइएको छ। त्यसैले उनीहरू कमाइ हुने र धेरै समय व्यस्त रहनुपर्ने काम गर्न अवसर पाउँदैनन्।

महिलाको कमाइ नहुने कामले परिवारको खर्च भने उल्लेख्य रूपमा घटाइदिन्छ भन्ने बुझ्नु जरुरी छ। महिलाले घरको काम नगरिदिने हो भने यसमा धेरै खर्च लाग्न सक्छ। त्यसैले उनीहरूका कामलाई सम्मान गर्नुपर्छ।

४. सामाजिक काममा संलग्न हुनुहोस्

सेनेगलको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर विजयी भएकी कोउम्बा डिआव जस्ता महिलाका आवश्यकताका बारेमा संवेदनशील महिला उम्मेदवारलाई समर्थन गर्नु वा आफैं पनि त्यस्ता निर्वाचनमा उम्मेदवार हुनु पनि महिलाको अधिकारको पक्षमा लाग्नु हो।

महिलालाई सार्वजनिक जीवन राजनीतिमा लाग्न दिनु हुँदैन भन्ने सामाजिक मान्यता र भनाइ सुनेर हुर्किएकी कोउम्बालाई महिलाका हकहितका लागि महिला नेतृत्व नै हुनुपर्ने आभास भयो। उनी सेनेगलको लौगा क्षेत्रकी एउटै मात्र महिला मेयर हुन्। ‘मानिस महिलाले चुनाव लड्नु हुँदैन र एकल महिला मेयर हुन सक्दैनन्...। उनीहरूमा समाज व्यवस्थापन गर्न सक्ने क्षमता हुँदैन भन्थे। उनीहरू सबैलाई मैले गलत प्रमाणित गरिदिएकी छु’, कोउम्बा भन्छिन्। कोउम्बाले अरू महिलालाई प्रेरित गर्ने र महिलाका समस्यामा ध्यान दिने गर्छिन्। पिउने पानीका धारा व्यवस्था गरेर र सानातिना व्यापार गर्न चाहने महिलाका लागि साप्ताहिक बजार स्थापना गरिदिएर उनले महिलाको समय जोगाउन सहयोग गरेकी छन्।

५. भावी पुस्तालाई दीक्षित गर्नुहोस्

विश्वभरिका युवा अधिकारकर्मी लैंगिक समानताका लागि विविध क्रियाकलापमा अगाडि बढिरहेका छन्। युवा अधिकारकर्मीलाई सबलीकरण गरेर र उनीहरूलाई महिलाका अधिकारका बारेमा शिक्षा दिएर महिला र समग्र समाजको भविष्यमा योगदान दिन सकिन्छ।

किर्गिजस्तानकी अइगुल अलिबाएभाले उनकी छोरीलाई महिला सशक्तीकरण, महिला पुरुषबीच अर्थपूर्ण संवाद र बालविवाहसम्बन्धी फेरिएका प्रवृत्तिका बारेमा तालिम दिने विद्यालयमा अध्ययन गर्न सघाइरहेकी छन्। छोरीको सहभागितालाई समर्थन गरेर उनले महिला सबलीकरणमा सहयोग गरिरहेकी छन्। ‘उनलाई घरमा पढ्ने र गृहकार्य गर्न थप समय दिएर सहयोग गरिरहेका छौं’, अइगुल भन्छिन्। उनी थप्छिन्, ‘मेरी छोरीलाई महिलाको अधिकारका बारेमा थाहा छ र विद्यालयमा सिकेका विषय उनले हामीलाई समेत बताउने गरेकी छन्।’ उनको छोरीले भविष्यमा कानुन पढ्ने इच्छा व्यक्त गरेकी छन् र अरूसँग पनि लैंगिक समानतासम्बन्धी ज्ञान आदानप्रदान गर्ने इच्छा देखाएकी छन्।

अइगुलकी छोरी अइतुर्गन भन्छिन्, ‘मैले विद्यालयमा सिकेका महिला अधिकारका विषय मेरो भाइलाई पनि बताउने गरेकी छु। उसलाई पनि यी कुरा थाहा हुनुपर्छ। ‘मैले उसलाई हिंसाका विरुद्धमा सशक्त कदम चाल्नुपर्ने पनि मैले बताउने गरेकी छु।’

६. आफ्नो अधिकार थाहा पाउनुहोस्

चारो मिना–रोजास कोलम्बियन अधिकारकर्मी हुन्। उनी अफ्रिकी मूलका सीमान्तकृत समुदायका महिलालाई उनीहरूका सांस्कृतिक, राजनीतिक र भूमिमाथिको अधिकारमा बारेमा उनीहरूलाई सचेत बनाउन लागिपरेकी छन्। कोलम्बियाको सरकार र त्यहाँका फार्क विद्रोहीहरूबीच सम्झौता भएर ५० वर्षभन्दा लामो विद्रोह अन्त्य भएपछि उनी कोलम्बियाका अफ्रिकी मूलका महिलाका लागि न्याय र समानताका पक्षमा बोलिरहेकी छन्। उनीहरूको अधिकारको विषयलाई राष्ट्रिय बहसमा ल्याउन सफल भएकी छन्।

७. संवादमा निर्धक्क संलग्न हुनुहोस्

सन् २०१७ मा सामाजिक सञ्जालमा महिलाविरुद्धका प्रवृत्तिविरुद्ध र जनचेतना अभिवृद्धिका लागि अभियान चले। ‘मिटु’ र ‘टाइम्सअप’ जस्ता अभियान अमेरिका र विश्वभरि नै चर्चित भए। यसमा महिलाले व्यक्तिगत अनुभव बाँडेर र अरूका अनुभव सेयर गरेर महिलाको सबलीकरणमा योगदान दिन सफल भए यी अभियान। सामाजिक सञ्जालका यस्ता अभियानका सिको गर्दै युगोस्लाभिया टुक्रेर बनेको म्यासेडोनियामा पनि ‘म अब बोल्न थाल्छु’ भन्ने अभियान थाले।

यी अभियानले यौन दुव्र्यवहार र हिंसाको व्यापकता मात्र देखाएनन्, विश्वभरका महिलाले साना दुव्र्यवहारका घटना कसरी सहेर र चुपचाप हिँड्ने रहेछन् भन्ने देखाए। तपाईं पनि यस्ता अभियान र महिला अधिकारका अन्य विषयमा संवादमा संलग्न हुन सक्नुहुन्छ।

८. महिला समानतालाई सक्दो सहयोग गर्नुहोस्

प्रत्येक महिला र बालिकालाई हिंसा र विभेदरहित जीवन जिउने अधिकार हुन्छ। यसका लागि आर्थिक, नैतिक र मनोवैज्ञानिक सहयोगले महिलालाई हिंसाको दुष्चक्रबाट बचाउन र हिंसाबाट बचेकालाई मद्दत गर्न सकिन्छ। आर्थिक समावेशीकरण र महिला र बालिकालाई समान अधिकार ग्यारेन्टी गर्न पनि सबैले आआफ्नो स्थानबाट सहयोग गर्न सक्छन्।

(यूएन वुमेनको वेबसाइटबाट अनूदित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.