राष्ट्रपतिमा विद्यादेवी सुनिश्चित

राष्ट्रपतिमा विद्यादेवी सुनिश्चित

नरेन्द्र साउद
काठमाडौं : दोस्रो कार्यकालका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदमा उम्मेदवारी दिएकी छन्। मंगलबार मध्यराति सम्पन्न एमाले स्थायी समितिको निर्णयअनुसार भण्डारीले बुधबार उम्मेदवारी दर्ता गरेकी हुन्।

वाम गठबन्धनसँग स्पष्ट बहुमत रहेकाले भण्डारी निर्वाचित हुने निश्चित छ। तर प्रमुख विपक्षी कांग्रेसले सांसद कुमारी लक्ष्मी राईलाई पनि राष्ट्रपति उम्मेदवार उठाएको छ। भण्डारी र राई दुवै भोजपुरमा जन्मेर राजनीतिमा सक्रिय छन्। राष्ट्रपतिका लागि फागुन २९ गते निर्वाचन हुँदै छ। संघीय संसद् (प्रतिनिधिसभा÷राष्ट्रियसभा) र प्रदेशसभाका सांसद राष्ट्रपति निर्वाचनका मतदाता हुन्।

राष्ट्रपतिकै हैसियतमा भण्डारीले बुधबार संसद् भवन बानेश्वर पुगी उम्मेदवारी दर्ता गरेकी हुन्। प्रधानमन्त्री केपी ओलीसमेतको उपस्थितिमा भण्डारीले मनोनयन दर्ता गरेकी थिइन्। एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङ र माओवादी केन्द्रकी नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तीमगर भण्डारीको प्रस्तावक छन्। यस्तै माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा, एमाले उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट, पूर्वप्रमुख सचेतक भानुभक्त ढकाल र सांसद रवीन्द्र अधिकारी समर्थक बसेका छन्।

राष्ट्रपतिको उम्मेदवार बन्न पाँच सांसद समर्थक र पाँच सांसद प्रस्तावक बस्नुपर्ने कानुनी व्यवस्था छ। मधेसी जनअधिकार फोरम र राजपाका नेताहरूले भण्डारीको उम्मेदवारीमा प्रस्तावक र समर्थक बस्ने इच्छा देखाए पनि समन्वय हुन नसकेको एमालेका एक नेताले बताए। फोरम र राजपा वाम गठबन्धनको सरकारमा सहभागी हुने तयारीमा छन्।

कांग्रेसले सहिद परिवारकी सदस्य एवं दोस्रो संविधानसभामा समेत प्रतिनिधित्व गरेकी कुमारीलाई राष्ट्रपति उम्मेदवार बनाएको छ। भोजपुरका सहिद दिवानसिंह राईकी छोरी कुमारीलाई कांग्रेसको बुधबार बसेको कार्यसम्पादन समिति बैठकले राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको थियो। कुमारीको प्रस्तावकमा पूर्वउपसभामुख चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् भने समर्थकमा कांग्रेसकै सांसदहरू मेखलाल श्रेष्ठ, राधा घले, शिवचन्द्र चौधरी, सरिता प्रसाईं र सुजाता परियार छन्।

वाम गठबन्धनकै मतले बहुमत पुग्ने भए पनि मधेसकेन्द्रित दलले समेत समर्थन गर्ने निर्णय गरेकाले भण्डारी सजिलै निर्वाचित हुने देखिन्छ।

संघीय र प्रदेशसभाका सांसद मतदाता रहे पनि उनीहरूले दिने मतको भार भने फरक छ। संघीय संसद्का सांसदको मतभार ७९ र प्रदेशसभाका सांसदको मतभार ४८ हुने कानुनी व्यवस्था छ। राष्ट्रपतिका लागि ८८४ सांसदको जम्मा मतभार ५२ हजार ७ सय ८६ हुन्छ। निर्वाचित हुन तत्काल कायम रहेको कुल मतको बहुमत अर्थात् २६ हजार ३ सय ९४ मतभार चाहिन्छ। वाम गठबन्धनसँग ३३ हजार ६ सय ७५ मतभार छ। मधेसकेन्द्रित दलले पनि समर्थन गर्ने निर्णय गरेकाले राष्ट्रपतिमा भण्डारी सजिलै निर्वाचित हुने देखिन्छ।

कांग्रेस उम्मेदवार कुमारीको मतभार ११ हजार ४ सय २८ मात्र हुने देखिन्छ।

नयाँ संविधान जारी भएपछि दुई वर्षे कार्यकाल सम्पन्न गरेकी भण्डारी अब ५ वर्षे कार्यकालका लागि चुनावी मैदानमा उत्रेकी हुन्। एमालेभित्र नयाँलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठे पनि वादविवाद र माथापच्चीबीच मंगलबार मध्यराति बसेको बैठकले भण्डारीलाई पुनः राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको थियो।

‘बाहिरी आँखाले मात्र मलाई नहेरौं’

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी भण्डारीले आफूलाई बाहिरी आँखाले मात्र नहेर्न कांग्रेसलाई आग्रह गरेकी छन्। भण्डारीले निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको भन्दै कांग्रेसले उनीविरुद्ध उम्मेदवारी दिएको धारणा सार्वजनिक गरेपछि उनले यस्तो आग्रह गरेकी हुन्। राष्ट्रपतिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘मलाई बाहिरी आँखाले मात्र हेर्नु हुँदैन, भित्री आँखाले हेर्नुहोस्।’

तपाईंको भूमिका तटस्थ भएन भन्ने कांग्रेसको आरोप छ नि भन्ने प्रश्नको जवाफमा भण्डारीले भनिन्, ‘मैले देशको हितलाई सर्वोपरी राखेर संविधानअनुसार काम गरेकी छु। जे गरेकी छु, देशका लागि मात्र गरेकी छु।’ संक्रमणकालमा देशको हितमा आफूले काम गरेको भन्दै उनले संविधान कार्यान्वयनका लागि उम्मेदवारी दिएको बताइन्।

‘भण्डारीभन्दा म सिनियर’

कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईले वर्तमान राष्ट्रपति भण्डारीभन्दा आफू सिनियर भएकाले मत दिन आग्रह गरिन्। विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको उनले बताइन्। पार्टीको निर्णयअनुसार उम्मेदवारी दिएको भन्दै उनले राष्ट्रपतिसँग चुनाव लड्न पाएकोमा खुसी लागेको धारणा राखिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.