लैंगिक विभेद कायम : डब्लूएचओ
काठमाडौं : विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियामा लैङ्गिकतामा आधारित विभेद कायमै रहेको उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रेस विज्ञप्ति प्रकाशित गर्दै संगठनले महिलामाथि हुने गरेका विचित्र खालका विभेद कायमै रहेको जनाएको छ। महिलामाथि कार्यक्षेत्रमा विभेद र कामको अवमूल्यन हुने गरेको विज्ञप्तिमा उल्लेख छ।
लैङ्गिक विभेद हटाई स्वस्थ्य,सबल र सशक्त बनाउनु पर्ने आवश्यकतामा उसले जोड दिएको छ। कलिलो उमेरमै सुत्केरी हुने क्रम बढेको र शिक्षा तथा अन्य अवसरबाट बन्चित हुनु परेको विज्ञप्तिमा उल्लेख छ। यस क्षेत्रमा १५ देखि १९ वर्षका झण्डै ६० लाख किशोरीहरुले शिशु जन्माउने गरेका छन्।
महिला र शिशु मृत्युदर घटाउनु पर्ने चुनौति रहेको उल्लेख गर्दै विज्ञप्तिमा सहस्राब्दी र दिगो विकास लक्ष्य पुरा गर्नु पर्नेमा जोड दिइएको छ।
ग्रामीण भेगमा कलिलै उमेरमा विवाह गर्ने र गर्भवति हुनु पर्ने अवस्थाले महिलाहरूले स्वस्थ र गुणस्तरीय जीवन जीउन नपाएको संगठनको विज्ञप्तिमा उल्लेख छ।