नेपाललाई चौथो सफलता : सन्दीप दुई, बसन्त र ललितले एक-एक विकेट लिए
काठमाडौं : जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गरिराखेको छ ।
नेपालले दिएको १५० रनको चुनौती पछ्याउने क्रममा स्कटल्याण्डले चार विकेट गुमाएको छ । नेपालका लागि सन्दीप लामिछानेले दुई, बसन्त रेग्मी र ललित नारायण राजवंशीले एकएक विकेट लिएका छन् । पहिलो विकेट ९ दशमलव ३ ओभरमा लिएका सन्दीपले व्यक्तिगत दोस्रो विकेट १९ दशमलव ३ ओभरमा लिए । त्यसैगरी नेपालका लागि बसन्त रेग्मीले १८ दशमलव २ ओभरमा विकेट लिएका हुन् । सँगै ललित नारायण राजवंशीले नेपालका लागि चौथो सफलता स्वरुप २२ दशमलव २ ओभरमा विकेट लिएका छन्।
नेपालले दिएको सामान्य लक्ष्य पछ्याइरहेको स्कटल्याण्डले २३ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा ९३ रन बनाएको छ ।
टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले एक पछि अर्को झट्का व्यहोरदै बलियो स्कटल्याण्डलाई झिनो लक्ष्य दिएको हो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रन बनाए । पारसले ७५ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाएका हुन् ।
नेपालका लागि अन्य ब्याट्सम्यानले भने उल्लेखनीय रन जोड्न सकेनन् । अन्तत, बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डले नेपाललाई ४७.४ ओभरमा १४९ रनमै रमेटेको हो ।
नेपालका लागि बसन्त रेग्मी ५१ बलमा २४ रनमा नटआउट रहे भने सोमपाल कामीले ५४ बलमा १८ रन जोडे । त्यसैगरी रोहितकुमार पौडेलले ४० बलमा १५ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि ज्ञानेन्द्र मला १, दीलिपनाथले चार, दीपेन्द्रसिंह ऐरी १, आरिफ शेख २, सन्दीप लामिछाने ६, ललित नारायण राजवंशी ४ र शरद भेषवाकर शून्य रनमा समेटिए ।