अवैध क्रसर उद्योगको विद्युत काटियो
धादिङ : त्रिशुली नदी आसपास र पृथ्वीराजमार्ग छेउछाउमा मापदण्ड विपरित संचालनमा रहेका दुई क्रसर उद्योग र ४० बालुवा प्रशोधन केन्द्रको विद्युत लाइन काटिएको छ । जिल्ला स्तरीय नदीजन्य पदार्थ अनुगमन तथा समन्वय समितिले मंगलबार दिनभर गरेको अनुगमनमा मापदण्ड विपरित सार्वजनिक स्थलमा संचालनमा रहेका क्रसर उद्योगको विद्युत लाइन स्थलगत अनुगनमै क्रममा काटिएको हो ।
मापदण्ड बाहिर संचालनमा रहेका अवैध बालुवा प्रशोधन केन्द्र (फिरफिरे) को लापरबाहीका कारण त्रिशुली नदीमा प्रदुषण बढेको र स्थानीय तहमा समेत समस्या परेको विषयमा व्यापक गुनासो आउन थालेपछि प्रशासनले अनुगमन गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी र जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल सहितको टोलीले मापदण्ड विपरित उद्योग संचालन र अनियमित तवरले वेल्खु, स्यालटार, लगायतका विद्युत जडान गरेका दुई क्रसर र ४० बालुवा धुने उद्योगले प्रयोगमा ल्याएका आठ विद्युत ट्रान्सफर्मरको लाईन काटेको छ ।
जिल्ला प्रशासन कार्यलय धादिङका अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकालले भने, ‘बिजुली जडान गर्दा उद्योगले विद्युत प्राधिकरणमा पेश गरिएको लालपुर्जा मा ३२ वटा उद्योगहरु फेला परेनन् ।’ यसबाटै प्रस्ट हुन्छ कि उद्योगले एकातिरको लालपुर्जा देखाएर अर्कोतिर उद्योग संचालन गरिरहेका छन् ।
नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुको मिलोमतोमै विद्युत ट्रान्सफर्मर जडान गरिएका छन् भने अधिकांश बालुवा धुने उद्योगहरुले धानकुट्ने मिल, घट्ट संचालन गर्ने, व्लक वनाउने उद्योगको नाममा विद्युत लाइन लिएर बालुवा प्रशोधन केन्द्र समेत चलाइरहेका छन् ।