नेपाललाई छैटौं सफलता : सन्दीप, बसन्त दुई-दुई र दिपेन्द्र, ललितले एक-एक विकेट लिए
काठमाडौं : जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गरिराखेको छ ।
नेपालले दिएको १५० रनको चुनौती पछ्याउने क्रममा स्कटल्याण्डले ६ विकेट गुमाएको छ । नेपालका लागि सन्दीप लामिछानेले र बसन्त रेग्मीले दुई–दुई विकेट लिएका छन् भने ललित नारायण राजवंशी र दीपेन्द्र सिंह ऐरीले एकएक विकेट लिएका छन् ।
नेपालले दिएको सामान्य लक्ष्य पछ्याइरहेको स्कटल्याण्डले ३८ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १३३ रन बनाएको छ ।
टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले एक पछि अर्को झट्का व्यहोरदै बलियो स्कटल्याण्डलाई झिनो लक्ष्य दिएको हो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रन बनाए । पारसले ७५ बलमा १० चौकाको मद्दतमा ६३ रन बनाएका हुन् ।
नेपालका लागि अन्य ब्याट्सम्यानले भने उल्लेखनीय रन जोड्न सकेनन् । अन्तत, बलियो प्रतिद्वन्द्वी स्कटल्याण्डले नेपाललाई ४७।४ ओभरमा १४९ रनमै रमेटेको हो ।
नेपालका लागि बसन्त रेग्मी ५१ बलमा २४ रनमा नटआउट रहे भने सोमपाल कामीले ५४ बलमा १८ रन जोडे । त्यसैगरी रोहितकुमार पौडेलले ४० बलमा १५ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि ज्ञानेन्द्र मला १, दीलिपनाथले चार, दीपेन्द्रसिंह ऐरी १, आरिफ शेख २, सन्दीप लामिछाने ६, ललित नारायण राजवंशी ४ र शरद भेषवाकर शून्य रनमा समेटिए ।