धनबहादुरको एक हाते सिप
बागलुङ : काठेखोला गाउँपालिका ८ लेखानीका धनबहादुर विकको १२ वर्षको हुँदा हात भाँचियो। त्यो बेला न नजिक अस्पताल, न पैसा खर्चिएर उपचार गर्ने प्रचलन। त्यसैले उनका अभिभावक र आफन्तले पनि गाउँले प्रचलन अनुसार नै उनको भाँचिएको हात स्थानीय जडिबुटी भुइचापा, चिप्लेकिरासहित काप्रोले बाँधेर जोड्ने प्रयास गरियो। तर, हातमा किरा प¥यो, पछि कुहिएर हातै खस्यो।
‘दुखाइको हिसाब थिएन,तर म सँग सहनुको विकल्प थिएन’, धनबहादुरले त्यस बेलाको दर्दनाक पीडाको फेहरिस्त सुनाउँदै भने, ‘कुहिएर खसेका मेरो हात र औलाहरु अझै पनि सुरक्षित राखेको छु, गाउँघरमा जिउँदो मान्छेको त्यसै फाल्नु हुँदैन भनेर मरेपछि एकै साथ फाल्ने भनेर राखिएको हो।’ गाउँकै गने नेवारको बान्दामा बसेर रोइरहेकी बहिनीलाई सडकमा झार्न सहयोग गर्ने क्रममा लडेर हात भाँचिएको उनले सुनाए। ‘लौ न दाइ, बहिनीलाई तल झार्दिनु भने, म गएर बोकेर तल झर्छु भन्दा लडे, आफ्नै हात भाँचियो।’ उनले थपे। त्यस यता धनबहादुर एकै हातको बल र सिपमा आफू र आफ्नो परिवारको निर्वाह चलाउन बाध्य छन्।
अहिले उनी एकै हातले डोको, नाम्लो, थुन्से, नाङ्लाको बिट लगायत निगाला बासबाट बन्ने धेरै चिज बनाउँछन्। ‘दिनमा एउटा डोको बुन्न सक्छु, दुई वटा हात भए जस्तो सजिलो त के हुन्थ्यो’, उनले थपे, ‘तर अहिले अप्ठ्यारो लाग्दैन, एकै हातको सिप देखेर गाउँले दंग छन्।’ अहिले उनले एउटा डोको एकै दिनमा सक्ने गरेका छन्।
गाउँका ३ सय घरधुरी मध्ये उनी दुई सय भन्दा बढीको घरमै पुगेर पनि डोको, नाम्लो बुन्ने र मर्मत गर्ने गर्छन्। भाँडा माझ्न, घाँस काट्न, नुहाउन बढी समस्या भएपनि अरु कामहरु भने आफूले गर्ने गरेको धनबहादुर बताउँछन्। पानी डोकोको ३ सय ५०, घाँस काट्ने डोकोको ५ सय रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए। ‘डोको, थुन्से बुन्न म आफैले सिकेको हुँ’, उनले भने, ‘कोठो बुन्न भने गाउँकै अपांगता भएका भीमलाल विकबाट सिके, यही सिपहरुले जीवनमा धेरै अभाव र कठिनाइ भोग्नु परेन।’ गाउँमा कटुवाल काम गर्दै आएका धनबहादुर काठेखोला गाउँपालिका वडा नम्बर ८ (साविक लेखानी गाविस) का कार्यालय सहयोगीको समेत काम गर्छन्।
२०२९ सालदेखि २० रुपैयाँ तबलबाट काम सुरु गरेका उनले अहिले ४५ सय तलब बुझ्छन्। यो तलबका अतिरिक्त गाउँलेले प्रत्येक घरबाट वार्षिक रुपमा एक/एक पाथी अन्न दिने गरेका छन्। अहिले त बालीघरे प्रथा राम्रो नभएको भन्छन् नि भन्ने प्रश्नमा धनबहादुरले भने, ‘गाउलेलाई नराम्रो भन्न त मिल्दैन, मलाई धेरै माया र सहयोग गरेका छन्, तर अब बुढेसकालमा घर–घरमा थैलो थापेर हिड्ने रहर छैन।’ २०२९ सालदेखि कार्यालय सहयोगी काम सुरु गरेका उनले चार प्रधानपञ्च, ३ गाविस अध्यक्ष र ३ सचिव बेहोरिसकेका छन्।
छोराछोरीको बिहे, उपचार गर्दा ५० हजार भन्दा बढी ऋण रहेको उनले बताए। ‘यो ऋण पनि अब तिर्ने सोचमा छु,’ उनले थपे,‘ धनेले खाएर म¥यो भन्ने पार्ने छैन।’ धनबहादुरको एक हातको कला कौशल र इमान देखेर हालै मात्र युके समाजले १ लाख २३ हजार रुपैयाँ प्रदान समेत गरेको छ। त्यही रकमबाट ऋण तिरेर बाँकी गाउँकै सहकारीमा बचत गरेर अप्ठ्यारो पर्दा प्रयोग गर्ने सोच रहेको उनले सुनाए।
३ कक्षा सम्म पढेका उनले आर्थिक अभावमा धेरै पढ्न पाएनन्। बुबा आमा सानैमा गुमाएका उनले कम्तीमा एसएलसी सम्म पढ्ने रहर भएको तर त्यो अपुरो भएको सुनाए। २ छोरा र ३ छोरीका अभिभावक रहेका विकले जेठी छोरी सीतालाई अल्पायुमै गुमाए। जेठा र माइला छोरा दुबै छुट्टभिन्न भएका छन् भने २ छोरीको बिहे भइसकेको छ। अहिले उनी सँग श्रीमतीका साथै कान्छा छोरा, कान्छी छोरी र एक नाती छन्।