धम्क्याएर करोडौं रकम माग गर्ने गिरोह पक्राउ
नेपालगन्जः छिटो पैसा कमाउने लोभमा नेपालगन्जका विभिन्न व्यवसायीहरुबाट धम्क्याउँदै रकम माग्दै आएको अपराधिक संगठन प्रहरीको नियन्त्रणमा आएको छ। फोन र एसएमएसमार्फत धम्क्याउँदै लाखौं रकमको माग गर्ने गिरोहलाई बाँके प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
फागुन १० गतेदेखि अपरिचित नम्बरबाट फोन गरी व्यवसायीलाई रकम नदिए धम्याउँदै आएका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बाँके जिल्ला प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए। बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुको समूहलाई नियन्त्रणमा लिन सफल भएको जानकारी दिएको हो। अनाधिकृत नम्बरबाट फोन र एसएमएस गरी माग गरे अनुसारको रकम नदिएमा व्यवसायीको घर परिवार उडाउने धम्की दिँदै आएका थिए। ६ जनाको समूहले १० जना व्यवसायीलाई धम्याउँदै करिब दुई करोड रकम माग गरेको प्रहरी प्रमुख तामाङले बताए।
व्यवसायीको मौखिक उजुरीपछि प्रहरीले दुई हप्तासम्म अनुसन्धान गरी बुधबार नेपालगन्जको घरबारी टोलमा रहेको एक होटलबाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा मुख्य योजनाकार सुर्खेत लेखगाउँ १ का ३२ वर्षीय विजयविक्रम शाह, बाँके राप्ती सोनारी–५ का घर भई हाल नेपालगन्ज उपमहानगरपालिका ४ बस्ने ३२ वर्षीय केशराज भण्डारी, चितवनको भरतपुर उपमानगरपालिका–६ का १८ वर्षीय विष्णु तिमिल्सीना र १८ वर्षीय कुशल श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका–८ का ५६ वर्षीय राजु भन्ने अस्फाख सिद्धिकि र बाँकेको कोहलपुर नगरपालिका–१२ का ४० वर्षीय रमेशप्रसाद अधिकारी रहेका छन्।
प्रहरीले बुधबार तीन जनालाई भरीपूर्ण गेष्ट हाउसबाट पक्राउ गरेको र अन्य तीन जनालाई उनीहरुको बयानपछि फरक–फरक ठाउँबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरुले मुख्य रुपमा चार जना व्यवसायीहरुसँग भारी मात्रामा रकम माग गरेका थिए। चार जना व्यवसायीलाई फोनमार्फत धम्याउँदै एक करोड ८८ लाख रुपैयाँ माग गरेका थिए।
पक्राउ परेका मध्य तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ भने, अन्य तीन जनालाई थप अनुसन्धानका लागि अन्यत्र राखिएको बताएको छ।
व्यवसायीले आफुहरुलाई सुरक्षित रुपमा काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन्। गिरोहले उद्योगी, व्यवसायी, शैक्षिक संस्था सञ्चालन गर्नेहरुलाई धम्क्याएको प्रहरीले बताएको छ।