फेसबुके ज्योतिष !

फेसबुके ज्योतिष !

‘२० वर्षपछि तपाईं कस्तो देखिनु हुनेछ ? ’ मदन पुरस्कार विजेता राजन मुकारुङले केही समयअघि यो प्रश्न राख्दै फेसबुकमा पोस्ट गरे। उनको अनुहारलाई फेसबुकले खासै फरक देखाएन। त्यसपछि उनले लेखे, ‘२० वर्षपछि त अलि फुल्न पाए हुन्थ्यो। कति कोपिलै रहनु यार ? ’

विद्यार्थी नेता जागृत रायमाझीले पनि २० वर्षपछि आफू कस्तो देखिनेछु भनेर हेरे अनि पोस्ट गरे। समाजशास्त्रका प्राध्यापक राम कार्कीले पनि विपरीत लिंगमा आफूलाई कस्तो देखाउँदो रहेछ भनेर हेरे। गोरो चिल्लो, चस्मा लगाएकी अधबैंसे महिलामा उनको मुखाकृति परिवर्तन भयो। त्यसले उनले फेसबुकमा सेयर गरे। तल कमेन्ट र लाइक गर्नेको ओइरो लाग्यो।

आजभोलि फेसबुक वालमा छ्यापछ्याप्ती देखिने फेसबुके भविष्यवाणीका केही उदाहरण हुन् यी। फेसबुक पेजमा बाक्लै देखिन्छ- तपाईंको भ्यालेन्टाइन को हो ? तपाईं कति वर्षपछि मर्नु हुनेछ ? तपाईंका असली साथी को को छन् ? तपाईंलाई कति जनाले माया गर्छन् ? तपाईंको बिहे कहिले कहाँ हुनेछ ? तपाईंको दिलमा हमेशा को बस्छ ? तपाईंको हुनेवाला श्रीमान्÷ श्रीमती को हो ? तपाईंका श्रीमती कतिजना हुनेछन् ?

jagirt

मानिस जिज्ञासु स्वभाव भएको सामाजिक प्राणी हो। आफ्नो भविष्यसँग जोडिएका रोचक तथ्यहरूमा मानिसको ध्यान जानु स्वाभाविक छ। यस्ता भविष्यवाणी फेसबुक चलाउने अधिकांशले एकपटक त पक्कै हेरेका हुन्छन्। सेयर नगर्नु बेग्लै कुरा। सेयर नै गर्नेहरूमा नेतादेखि विश्वविद्यालयका प्राध्यापकसम्म, कवि कलाकारदेखि सर्वसाधारणसम्म छन्। तर, कमै मानिसलाई थाहा हुनुपर्छ कि यो एप कसले, कसरी, किन बनाउँछ ?

विभिन्न एपहरूमध्ये टेस्टोनी, वेलफिंगर, क्विजस्टार आदि चर्चित छन्। त्यस्ता एप बनाउन सजिलो छ, जसले पनि क्षण भरमै बनाउँछ सक्छ। युट्युबमा यस्ता भविष्यवाणी बनाउने विधिहरू सिकाइएका हुन्छन्। आफूले चाहेका विषय राखेर पोस्ट गर्न सकिन्छ। तर, यी एपले गर्ने तुलनामा कुनै आधिकारिता भने छैन। त्यो थाहा हुँदाहुँदै मानिसहरू फेसबुके ज्योतिषमा झुम्मिरहेकै हुन्छन्।

बजारले मान्छेको कमजोरीलाई लतमा फेरिदिन्छ। मानिसको एक्लोपनमा बजार प्रवेश गराउन विभिन्न एप बनिरहेका छन्। यसले खासमा मान्छेलाई नै बेचिरहेको छ।

यस्ता एपले मानिसलाई स्वतन्त्रताको आभास दिने तर्क पनि सुनिन्छ। मानिसलाई क्षणभरलाई भए पनि तनावबाट बाहिर निस्कन सान्त्वना दिएको बताइन्छ। कवि राजा पुनियानी यसलाई स्वतन्त्रताको अर्थमा पनि बुझ्नुपर्ने तर्क गर्छन्। भन्छन्, ‘मान्छे यथार्थको संसारदेखि विरक्तिएको छ। यस्तो अवस्थामा भर्चुअल संसारमा बाँच्नुको गज्जव आनन्द पनि छ।’ लेखक उमा सुवेदी पनि यस्ता एपहरूले मानिसलाई स्वतन्त्रता दिएको स्वीकार्छिन्।

यस्ता एपहरू मानिसलाई किन प्रयोग गर्न मन लाग्छ ? यसबारे मनोविद्हरूको आफ्नै तर्क छ। मनोविद् करुणा कुँवर मानिसलाई जहिल्यै आफ्नो भविष्यबारे जिज्ञासा हुने बताउँछिन्। भन्छिन्, ‘आफ्नो भविष्यप्रति मानिसलाई जिज्ञासा हुनु सामान्य मानवीय मनोविज्ञान नै हो।’

तर, यस्ता एपहरूले समयको बर्बादी र मानिसलाई आत्मप्रशंसामा रमाउन लगाएको तर्क पनि गरिन्छ। कतिपयले यसलाई आत्मरतिको पराकाष्ठाको रूपमा समेत लिने गरेका छन्। आफ्नो विचार र अनुहार कुनै ठूला नेता र सेलिब्रिटीमा मिलेपछि मानिसहरू मक्ख पर्नु स्वाभाविक छ। भागदौडमा दौडिरहेको आजको मानिसलाई यस्ता एपहरूले आत्मरतिमा रमाउन दिएको छ। यस्ता एपहरूले मानिसलाई रमाइलो महसुस गराएको बताउँछन्, कवि स्वप्नील स्मृति। तर, कवि पुनियानी यथार्थको दुनियाँबाट भागेर मानिसहरू क्षणिक आत्मतृप्तिमा रमाउन नहुने बताउँछन्। भन्छन्, ‘यथार्थको विकल्प भर्चुअल संसार हुनै सक्दैन।’

ram-karki

कतिपयले भने यस्ता एपहरूमा क्लिक गर्दा आफ्ना गोप्य सूचनाहरू बाहिरिने गरेको समेत बताउँछन्। तर, सफ्टवेयर इन्जिनियर सुनिल विष्ट त्यसो नहुने बताउँछन्। भन्छन्, ‘यो रमाइलोको लागि बनेको हो। यसमा क्लिक गर्दा गोपनीयता अरूले थाहा पाउँदैनन्।’

लेखक सुवेदी बेरोजगार नागरिक भएको देशमा यस्ता एप प्रयोग गर्नु सामान्य घटना भएको बताउँछिन्। उनी मानिसहरू कामविहीन भएपछि समय कटाउन यसो गरिरहेको तर्क गर्छिन्। उनी कटाक्ष गर्दै भन्छिन्, ‘यत्तिको प्रविधिको ज्ञान हुने मानिसहरू नेपालमा रहेछन्। योग्यताअनुसारको काम पाउने हो भने देश निकै अघि बढ्ने थियो।’ उनी फेसबुकमा यस्ता एप प्रयोग गर्ने प्रयोगकर्तालाई व्यंग्य गर्दै भन्छिन्, ‘खाली दिमाग सैतानको घर।’

यस्ता एपको पछाडि बजार जोडिएको तर्क पनि गरिन्छ। कवि स्वप्नील स्मृति यस्ता एपबाट मानिसले पैसा कमाइरहेको हुन सक्ने अनुमान गर्छन्। उनले भनेजस्तै त्यस्ता एपहरूमा विभिन्न ग्याजेटका विज्ञापनहरू देख्न पाइन्छ। वेभसाइट खोल्दा मोबाइल, मोनिटर, कम्प्युटर गेम, ल्यापटप, टीभी, पुस्तकलगायतका सामग्रीहरू हेवी डिस्काउन्टमा अफर गरिएको हुन्छ।

कवि पुनियानी पनि एपसँग बजारको सम्बन्ध रहेको तर्क गर्छन्। भन्छन्, ‘मोबाइलको संसारबाट प्रयोगकर्ताको गिदीमा बजार प्रवेश गरेको छ। बजारले मान्छेको कमजोरीलाई लतमा फेरिदिन्छ। मानिसको एक्लोपनमा बजार प्रवेश गराउन विभिन्न एप बनिरहेका छन्। यसले खासमा मान्छेलाई नै बेचिरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.