डेढ करोडमा पोखरीको जीर्णोद्धार
सिरहा : लक्ष्मीपुर–पतारी गाउँपालिकास्थित ऐतिहासिक महत्वको पतारी पोखरीको जीर्णोद्धार सुरु भएको छ। गाउँपालिकाले आर्थिक वर्ष ०७४/७५ को प्रथम गाउँसभाबाट डेढ करोड रुपैयाँ बजेट विनियोजन गरी पोखरीको जीर्णोद्धार सुरु गरेको हो।
‘पर्यटकीय स्थलका रूपमा घोषणा भइसकेको यो पोखरीको अवशेष मात्र बाँकी थियो’, गाउँपालिका अध्यक्ष रामबल्लभ साहले भने, ‘त्यसैले पोखरीको जीर्णोद्धारमा जोड दिएका छौं।’
उनका अनुसार पानी सुकाएर जीर्णोद्धारको काम सुरु भइसकेको छ। पोखरीको बीचमा बाबा हरसिंह देवको मन्दिर बनाउने योजना छ। ‘जीर्णोद्धारपछि देश/विदेशमा पोखरीको ऐतिहासिक महत्वबारे व्यापक प्रचार गरी बाह्य पर्यटक आउने माहोल बनाउने योजना छ’, उनले भने।
यो पोखरी पूर्व–पश्चिम राजमार्गबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ। राजमार्गबाट पोखरी पुग्ने बाटो पनि जीर्ण छ। ‘पर्यटकीय स्थलका रूपमा विकास गर्न बाटोसमेत कालोपत्रे गर्न जरुरी छ’, स्थानीय वीरेन्द्र यादवले भने, ‘यसतर्फ पनि सम्बन्धित निकायको ध्यान पुगोस्।’ पोखरीको महत्व बुझेकाहरू पनि बाटो जीर्ण भएकै कारण आउन नसकेको उनको गुनासो छ।
पोखरीमा हरेक वर्ष वैशाख २ गते मेला लाग्छ। दक्षिण डिलमा रहेको राजा हरसिंह देवको मन्दिरमा पूजापाठपछि अक्षता लिएर सीधै पोखरीमा सयौं महिला एकसाथ हाम फाल्छन्। पहिलो डुबुल्कीमै कुनै पनि जीव भेटिए सन्तान हुने जनविश्वास छ।
स्थानीयवासी पोखरीकै पानी भान्सामा प्रयोग गर्थे। कल र इनारका पानीमा भात पकाउँदा रातो हुने तर पोखरीको पानी फोहोरजस्तो देखिए पनि सफा हुने स्थानीय बताउँछन्। पतारी पकडियाका राजा कुलेसरका कान्छा भाइ हरिसिंह देवको निवासस्थल रहेको लोकनायक सलहेस गाथामा पोखरीबारे उल्लेख छ। यो पोखरी सलहेसकै बेला विसं १३२५ देखि अस्तित्वमा आएको मानिन्छ।
जीर्णोद्धारका लागि पानी सुकाएको पोखरी डिलमा उभिएकी एक स्कुले बालिका। सन्तोष यादव