धरानमा बनेन नयाँ बसपार्क
धरान : धरान उपमहानगरपालिका–८ स्थित तीनकुनेमा नयाँ बसपार्क निर्माणको योजना बने पनि काम भने अघि बढेको छैन। जनप्रतिनिधिले कार्यभार सम्हालेको नौ महिना बित्न लाग्दा पनि उपमहानगरपालिकाले नयाँ बसपार्क निर्माण अघि नबढाएको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।
भानु चोकस्थित बसपार्क साँघुरो भएपछि २०५८ सालमा तीनकुनेको एक बिघा १५ कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गर्ने निर्णय गरी काम अघि बढेको थियो। तर, यतिका वर्ष बितिसक्दा पनि बसपार्क निर्माणले गति लिन नसकेको हो। धरानकी उपमेयर मञ्जु भण्डारीको संयोजकत्वमा बसपार्क निर्माण समिति गठन गरिए पनि अन्य प्रक्रिया अघि नबढेको स्थानीयको गुनासो छ।
नयाँ बसपार्क निर्माण नभएका कारण यातायात साधन व्यवस्थापनमा समस्या थपिएको सप्तकोसी बस व्यवसायी संघका अध्यक्ष तिलक राईले बताए। भानु चोकमा रहेको अव्यवस्थित बसपार्कका कारण धरानको सुन्दर मुहार कुरुप हुन थालेको उनको भनाइ छ।
तीनकुनेमा बसपार्क निर्माण गरिने भएपछि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका थिए। पछिल्लो समय जग्गादाताले अवरोध गरेपछि नयाँ बसपार्क निर्माणले गति लिन नसकेको उपमेयर भण्डारीले बताइन्। उनले जग्गादातालाई पुनः सहमतिमा ल्याएर बसपार्क निर्माण तत्काल थाल्ने प्रतिबद्धता जनाएकी छन्।
उपमहानगरपालिकाले खगेन्द्रप्रसाद खतिवडालाई आयोजना प्रमुख तोके पनि मेयर तारा सुब्बाले वरिष्ठ प्रशासकीय अधिकृतका रूपमा खटाएपछि बसपार्क निर्माणमा झनै ढिलाइ भएको हो। हालको बसपार्क साँघुरो भएको र यातायातका साधनको चाप बढिरहेका कारण बसपार्क अभावमा दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरी धरानका प्रहरी निरीक्षक होमराज दाहालले बताए। कोसी राजमार्गमा पर्ने भानु चोकको व्यस्त बजारमा मिनी बसपार्क मात्र भएका कारण यातायात साधनको चापका कारण दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ।
धरानको भानु चोकस्थित बसपार्क। रत्नप्रसाद आचार्य