रक्तदानमा रमाउनेहरू
‘आफन्तलाई धरानकै एक अस्पतालमा राखिएको रहेछ। अपरेसन गर्नुपर्ने, रगत छैन। त्यसपछि रगत लिनकै लागि उहाँ धरानबाट काठमाडौं आउनु भएछ,’ योगेन्द्रमानसिंह बस्न्यात तीन वर्षअघिको घटना सम्झन्छन्।
नेपाल बन्दको दिन थियो त्यो। बस्न्यात पुतलीसडकमा साथीहरूसँग गफिरहेका थिए। फोन आयो। फोन उठाउँदा अनुरोध सुनियो, ‘तपाईंको ‘ओ पोजेटिभ’ रगत रहेछ। सहयोग गर्नुपर्यो हजुर !’ काँ, किन, केका लागि जस्ता प्रश्नको उत्तर पाएपछि बस्नेत रगत दिन तयार भए। उनलाई रक्तदानका लागि प्रदर्शनीमार्गस्थित ‘रेडक्रस ब्लड बैंक’मा बोलाइयो। त्यहाँ पुगेर उनले फोनमा बोलेको मान्छेलाई भेटे। बस्न्यात भन्छन्, ‘त्यो दाइलाई मेरो नम्बर ब्लड बैंकले नै दिएको रहेछ।’
नियमित ब्लड डोनेट गरिरहने बस्न्यातको ब्लड बैंकका केही कमर्चारीसँग चिनापर्ची थियो। रगत सकिएपछि उनीहरूले बस्न्यातको नाम सिफारिस गरेछन्। बस्न्यात सम्झन्छन्, ‘ती दाइको सासूआमा बिरामी रहिछन्। प्लाज्मा बनाउन धरानमा रगत भेटिएनछ। भन्दैथिए, ‘बिहानै प्लेनमा आएको। बेलुका पनि प्लेनमै फर्किन्छु। नत्र ढिलो हुन्छ।’
जोरपाटी घर भएका बस्न्यातले अहिलेसम्म ३२ पटक रक्तदान गरिसके। सन् २००२ मा पहिलो पटक रक्तदान गरेका थिए उनले। त्यसपछि, हरेक वर्ष दुई÷तीन पटक गर्दै आएका छन्। रक्तदान नगर्दासम्म उनी सोच्थे, ‘रगत अरूलाई दिनु हुँदैन, कमजोर भइन्छ। ज्यानमा रगत सकिन्छ।’ पहिले-पहिलेको आफ्नो यस्तो सोचाइ सम्झिँदा हिजोआज उनलाई हाँसो उठ्छ।
रक्तदानप्रति मान्छेहरूको सोचाइमा परिवर्तन हुँदै आएको अनुमान गर्छिन्, नेपाल रेडक्रस ब्लड बैंकका निर्देशक डा.मनिता राजकर्णिकार। ‘रक्तदान गर्नेहरू पहिलेभन्दा बढ्दै गएका छन्,’ उनले भनिन्। अहिले वर्षको झन्डै दुई लाखभन्दा बढी युनिट रगत जम्मा हुने गरेको उनको भनाइ छ। बालकुमारीस्थित रेडक्रस ब्लड बैंकको अफिसमै दैनिक २० जना जति ब्लड डोनेट गर्न आउने गरेको बताउँछिन् उनी।
त्यस्तै, ब्लड बैंकले समयसमयमा रक्तदान कार्यक्रम आयोजना गर्छ। संघसंस्थाहरूले पनि रेडक्रससँग मिलेर रक्तदान कार्यक्रम आयोजना गर्छन्। ‘एकपटकको कार्यक्रममा झन्डै पाँच सय युनिटसम्म ब्लड उठ्ने अपेक्षा राखेका हुन्छौं,’ भन्छिन्, ‘प्रायः त्यति संकलन हुन्छ पनि। कहिलेकाहीँ त्योभन्दा बढी उठ्छ।’ २० देखि ४० वर्ष उमेरसमूहका मानिस रक्तदान गर्न बढी इच्छुक हुने गरेको उनले बताइन्।
स्वस्थ मानिसको शरीरमा पाँचदेखि ६ लिटरसम्म रगत हुने बताइन्छ। रगत नभएमा मस्तिष्क चार मिनेट र मुटु ६ घन्टामा निष्क्रिय हुन्छ। आवश्यकताअनुसारको रगत शरीरले उत्पादन गरिरहेको हुन्छ। रक्तदानपछि शरीरमा रगतको परिणाम वा प्लाज्माको मात्रा २४ घन्टाभित्रमै परिपूर्ति हुन्छ।
‘जीवन महत्वपूर्ण हुन्छ। हाम्रो सहयोगले कसैको जीवन जोगिन्छ भने किन रक्तदान नगर्ने,’ सबैले रक्तदान गर्नुपर्ने कुरालाई जोड दिँदै बन्दना लामाले भनिन्। नैकापकी बन्दनाले अहिलेसम्म १३ पटक रक्तदान गरिसकिन्। आफ्ना साथीहरूलाई पनि रक्तदान गर्न हौस्याउँछिन्। ‘केही साथीहरू रगत दिन मान्दैनन्। रक्तदान गर्न जाउँ भन्यो भने के-के बहाना बनाउँछन्,’ उनले भनिन्, ‘केहीलाई कमजोर हुन्छु भन्ने छ, केही डराउँछन्।’ साथीहरूलाई बुझाउने प्रयास गर्छिन् उनी। केहीले बुझ्छन्, उनीसँगै रक्तदान गर्न जान्छन्। केहीले बुझ्दैनन्, दुब्लो छु भनेर बहाना गरेर आग्रह टार्छन्।
मानवताको पक्षमा
‘साथीको काकाको छोरालाई क्यान्सर भएर अस्पताल भर्ना गरेकाले रगतको आवश्यकता परेको रहेछ,’ विश्व लामा वर्ष दिनअघिको घटना सम्झन्छन्, ‘अस्पतालै पुगेर रगत दिएँ।’ साथीको भाइलाई नियमित र फ्रेस रगत दिनुपर्ने रहेछ। त्यसैले भाइलाई ‘ओ पोजेटिभ’ रगत दिन साथीले विश्वलाई आग्रह गरेका थिए। उनले घरमा गएर ब्लड दिनेबारे सल्लाह गरे। कमजोर हुने हो कि भन्ने शंकाले रगत नदिन परिवारले सुझाए। यसभन्दा अघि उनले कहिल्यै दिएका थिएनन्। ‘घरमा थाहै नदिई वीरेन्द्र सैनिक अस्पताल, छाउनी पुगेर ब्लड दिएँ,’ विश्वले भने। क्यान्सर भएको भाइ १० कक्षामा पढ्दै थियो। उनले ब्लड दिएको कुरा न घरमा थाहा भयो, न उनी कमजोर भए। ‘कमजोर बनिन्छ भन्ने भ्रममात्र रहेछ,’ विश्व भन्छन्, ‘मान्छे भएपछि एकअर्कालाई सहयोग गर्नुपर्छ।’यसलाई मानवीय सेवाको रूपमा व्याख्या गर्छन् विश्व। उनले भने- ‘आपत् परेकाहरूलाई सहयोग गर्नु सबैको दायित्व हो।’
विश्वको भनाइसँग बन्दना पनि सहमत छिन्। उनी पनि रक्तदानलाई मानवतासँगै जोड्छिन्। ‘रक्तदान र मानवता एकअर्कामा अन्तरसम्बन्धित छन्,’ उनले भनिन्। रक्तदान जीवनदान भएकाले मान्छेहरूलाई यस विषयमा खुला ढंगले सोच्न आग्रहसमेत गर्छिन्।
डोनेट गरिने हरेक थोपा रगतमा मानवता मिसिएको देख्छिन्, बन्दना। मान्छेहरू बिरामीलाई प्रत्यक्ष नभेटिकनै पनि रगत डोनेट गरिरहेका हुन्छन्। भविष्यमा पर्न सक्ने समस्यालाई आकलन गरेर उनीहरू रक्तदान गर्छन्। यहीँनेर मानिसहरू बीचमा गाढा सम्बन्ध पाउँछिन् उनी। भन्छिन्- ‘बिरामीलाई भेटेरै मात्र रगत दिइरहेका छैनौं। अरूबेला पनि स्टकका लागि दिइरहेका हुन्छौं। मान्छेप्रतिको प्रेमले त हो नि !’
सामाजिक सञ्जालमा ब्लड डोनेसनकै नामबाट विभिन्न ग्रुप छन्। त्यस्तै, सोसल साइटकै अन्य गु्रपहरूले पनि बेलाबेला रक्तदान कार्यक्रम आयोजना गर्छन्। विभिन्न क्लबहरू पनि रक्तदान कार्यक्रममा सरिक हुँदै आएका छन्। ‘लियो क्लब अफ काठमाडौं बि टु’ अन्तर्गत ‘लियो क्लब अफ काठमाडौं निर्वाणा’का अध्यक्ष राजनराज खनाल भन्छन्, ‘हाम्रो ग्रुपको क्लबबाट २०६९ सालदेखि प्रत्येक वर्ष रक्तदान कार्यक्रम आयोजना गरिरहेका छौ)।’ सानो सहयोगले मान्छेको ज्यान बचाउन सकिन्छ भने रक्तदान गर्न हिच्किचाउन नहुने उनको बुझाइ छ।
खनालले अहिलेसम्म ९० पटकभन्दा धेरै रक्तदान गरिसकेका छन्। ‘जो कसैलाई जुनसुकै समयमा रगत आवश्यक पर्न सक्छ। मान्छे हौं भने मान्छेलाई सहयोग गर्नुपर्छ,’ उनले थपे।
पहिलो पटक रगत निकाल्दा
कविता रेग्मीको साथीको बुवालाई गंगालाल अस्पताल, बाँसबारीमा भर्ना गरिएको थियो। उनी मुटुको बिरामी थिए। तत्काल अपरेसन गर्न डाक्टरले सुझाए। ‘ओ पोजेटिभ’ रगतको आवश्यकता पर्यो। एक वर्षपहिलेको घटना हो यो। बिरामीको छोरी विनिता श्रेष्ठ र कवितासँगै पढ्थे, एपेक्स कलेज, पुरानो बानेश्वरमा। त्यो दिन पनि उनीहरू कलेजमै थिए। तुरुन्त रगत चाहिएपछि दुवै गंगालाल अस्पताल पुगे। पहिलो पटक रक्तदान गर्दै थिइन्, कविता। आफ्नो ओ पोजेटिभ रगत उनले साथीको बुवालाई दिइन्। रक्तदानले आफूलाई ‘सन्तुष्टि’ दिएको बताउँछिन् उनी। भन्छिन्- ‘हाम्रो सानो सहयोग कसैका लागि ठूलो योगदान बन्छ भने किन सहयोग नगर्ने ? ’
आफूहरूको स-सानो सहयोगबाट मान्छेहरूको मुहारमा हाँसो ल्याउन सक्ने बताउँछिन्, कविता। ‘कुनै ठूलो दान त गर्न सकिँदैन,’ उनले थपिन्, ‘रगत त समयसमयमा दिन सकिन्छ। आफूसँग भएको कुरा किन नदिने ? ’
‘रगत सकिएर जाँदैन,’ योगेन्द्र भन्छन्, ‘मान्छेले मान्छेलाई सहयोग नगरे कसलाई गर्ने ? २०५४ सालतिर उनले पहिलो पटक रक्तदान गरेका थिए। उनको छिमेकी दिदीलाई ‘एनिमिया’ भएको थियो। तत्काल ‘ओ पोजेटिभ’ रगतको जरुरत पर्यो। नेपाल मेडिकल कलेज, जोरपाटीमा गएर रगत दिनुपर्ने।
अस्पताल पुगेर बस्न्यातले पहिलो पटक रगत दिए। ‘ब्लड दिनु हुँदैन। बिरामी परिएला भन्ने लागेको थियो,’ उनले भने, ‘त्यस्तो केही होइन रहेछ। बरु आत्मसन्तुष्टि हुने रहेछ।’
रक्तदान : एक ‘ब्रिफिङ’
राष्ट्रिय रक्तसञ्चार ब्युरो, टेकुले प्रकाशित गरेको ‘रक्तसञ्चारसम्बन्धी जिज्ञासा’ पुस्तिकामा भनिएको छ, ‘रक्त समूहलाई एबीओ र आरएच दुइटा ठूला समूहमा विभाजन गरिएको छ। ए बी ओ समूह चारवटा वर्गमा विभाजन गरिएको छ ः ‘ए’, ‘बी’, ‘ओ’, ‘एबी’ समूह। आरएच समूह दुई प्रकारको हुन्छ ः आरएच पोजेटिभ र आरएच नेगेटिभ। आरएच भन्नाले ‘रेसस फ्याक्टर’ भन्ने बुझिन्छ, जुन रेसस जातिको बाँदरबाट नामकरण गरिएको छ।
संसारका प्रायः मानिसमा ‘ए’, ‘बी’, ‘ओ’, ‘एबी’ पोजेटिभ र ‘ए’, ‘बी’, ‘ओ’, ‘एबी’ नेगेटिभ रगत हुन्छ। आरएच नेगेटिभ वर्गको रगत भएका व्यक्तिलाई आरएच पोजेटिभ दिइँदैन। रक्तसञ्चार ब्युरोले भनेको छ- फरक रगत दिइएमा एन्टिजेन-एन्टिबडी रियाक्सन भई त्यस व्यक्तिलाई नकारात्मक असर पर्छ।
रक्तदान गर्ने मानिस स्वस्थ हुन जरुरी हुन्छ। मुटु, फोक्सो, कलेजोलगायतका अंगहरूले स्वस्थ रूपमा आफ्नो क्रिया गरिरहेको हुनुपर्छ। क्यान्सर, दम, मलेरिया क्षयरोग, एड्स, उच्च रक्तचाप, हेपाटाइटिसजस्ता रोग लागेका बिरामीहरूले रक्तदान गर्नुहुँदैन। स्वस्थ मानिसले वर्षमा तीन पटकसम्म रक्तदान गर्न सक्ने बताउँछिन् डा. मनिता। भन्छिन्, ‘रक्तदान गर्नुअघि रक्तदाताको स्वास्थ्य परीक्षण गर्नुपर्छ।’
स्वस्थ मािनसको शरीरमा पाँच देखि ६ लिटरसम्म रगत हुने बताइन्छ। रगत नभएमा मस्तिष्क चार मिनेट र मुटु ६ घन्टामा निष्क्रिय हुन्छ। आवश्यकता अनुसारको रगत शरीरले उत्पादन गरिरहेको हुन्छ। रक्तदानपछि शरीरमा रगतको परिणाम वा प्लाज्माको मात्रा २४ घन्टाभित्रमै परिपूर्ति हुन्छ। रक्तसञ्चार ब्युरोका अनुसार रातो रक्तकोषिकाहरू परिपूर्ति हुन चाहिँ चारदेखि आठ घन्टा समय लाग्छ। त्यस्तै रक्तदान गरेपछि केही समय आराम गरी नियमित काम गर्न मिल्छ। भारी कामहरू भने केही घन्टा आराम गरेर मात्र गर्न डाक्टरहरू सुझाउँछन्।
मानव शरीरबाट निकालिएको रगतलाई प्लास्टिकका पोकाहरूमा संकलन गरिन्छ। संकलन गरिएको रगतलाई जम्न नदिन केमिकलहरूको प्रयोग गरिएको हुन्छ। त्यस्ता पोकामा चार सय ५० मिलिलिटर रगत जम्मा गर्न सकिन्छ। यसरी जम्मा गरिएको रगतलाई सीपीडीए एन्टिकोएगुलेनट सलुसनमा राखी न्यूनतम २-४ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गरिने हो भने ३५ दिनसम्मका लागि काम लाग्छ।
कस्ता मान्छेले रक्तदान गर्ने ?
१. रक्तदाताको उमेर १८ देखि ६५ वर्षको हुनुपर्छ। पहिलोपटक रक्तदान गर्ने रक्तदाताको उमेर ५५ वर्षको भन्दा कम हुनुपर्छ।
२. रक्तदाताको तौल कम्तीमा ४५ केजी हुनुपर्छ।
३. रक्तदान गर्न चाहने व्यक्तिको शरीरको तापक्रम ९९.५ डिग्री फरेनहाइटभन्दा कम र मुटुको धड्कन ६० देखि १०० को बीचमा हुनुपर्छ।
४. रक्तदान गर्ने व्यक्तिको रक्तचाप सिस्टोलिक १०० देखि १६० को बीचमा र डायास्टोलिक ६० देखि १०० प्रतिमिनेटको बीचमा हुनु आवश्यक छ।
५. रक्तदान गर्ने व्यक्तिको हेमोग्लोबिन १२जी÷डीएलभन्दा कम हुनु हुँदैन।
६. रक्तदान गर्ने व्यक्तिलाई श्वासप्रस्वाससम्बन्धी कुनै पनि रोग हुनु हुँदैन।
७. रक्तदान गर्ने व्यक्तिलाई कुनै पनि किसिमको चर्मरोग भएको हुनु हुँदैन।
८. रक्तदान भएको व्यक्तिलाई कुनै किसिमको रगतबाट सरुवा रोग भएको हुनु हुँदैन।
९. रक्तदान गर्ने व्यक्तिको हात तथा पाखुरामा पेसागत रक्तदान वा लागूऔषधि प्रयोगकर्ता जनाउने खालको घाउ, खत भएको हुनु हुँदैन।