५० वर्षपछि कखरा
फिदिम : फालेलुङ–७ स्थित पापुन्दिनकी ६० वर्षीया मनमाया आङ्बो बल्ल क, ख... लेख्न सिकिरहेकी छन्। उनले लेखपढ गर्न थालेको डेढ महिना मात्र भयो। ‘क, ख भन्न पहिले नै आउँथ्यो, अहिले लेख्न सक्ने भएँ’, उनी भन्छिन् ‘बुढेसकालमा क, ख सिक्दै छु, पढ्नलाई उमेरले छेक्छ र ? ’
उनको यस्तो प्रतिप्रश्नले पढाइप्रतिको मोह झल्काउँछ। उमेर ढल्किए पनि पढ्नुपर्छ भन्ने इच्छाशक्तिकै कारण उनी आफ्नो र ठाउँको नाम लेख्न सक्ने भएकी छन्। ‘लेखपढ गर्ने रहर अब मात्र पूरा भयो’, उनी भन्छिन्।
नेपाली अक्षर पढ्न सक्षम हुने उनको अठोट छ। ‘बिहान–बिहान पढ्न थालेको छु’, उनी भन्छिन्, ‘सुरुमा कलम समाउनै कठिन भयो, अहिले क, ख लेख्दा हात गल्दैन।’
सुरुमा लेख्न बस्दा हात मात्र नभई शरीर नै गलेको महसुस भएको उनी सुनाउँछिन्। ‘अलिअलि लेख्न जान्ने हुँदा खुसी छु’, उनी भन्छिन्, ‘सुरुमा त कोदालो खनेभन्दा पनि धेरै थाकेको थिएँ।’
उनीजस्तै ५० वर्षभन्दा माथिका यहाँका महिला बल्ल लेखपढ गर्न सिक्दै छन्। नेपालीमा लेखेको पढ्न सक्नु र नेपालीमै लेख्न सक्ने हुनु उनीहरूको लक्ष्य छ। ‘पढ्न मज्जा आइरहेको छ’, ५९ वर्षीया गोरीमाया आङ्बो भन्छिन्, ‘नानीहरूलाई जानिनस् भनेर पिट्नु धिक्कार रहेछ।’
उनको बुझाइमा कामभन्दा लेखपढ गर्न गाह्रो छ। परीक्षामा राम्रो नतिजा नल्याएको भनेर नानीहरूलाई अब नपिट्ने उनको प्रतिबद्धता छ। ‘घरको कामभन्दा पढ्न गाह्रो रहेछ’, उनी भन्छिन्, ‘नानीहरूले धन्न पो पढ्दा रहेछन्।’
बिहानको समय पारेर पापुन्दिनका १८ महिला लेखपढ गर्न सिकिरहेका छन्। पापुन्दिन आधारभूत विद्यालयको एउटा कोठामा भेला भएर उनीहरूले लेखपढ गरिरहेका हुन्। स्थानीय विमनता आङ्बोले उनीहरूलाई सिकाउँछिन्।
‘सुरुमा हात बसाउनै गाह्रो भो’, उनी भन्छिन्, ‘अहिले त उहाँहरूलाई नै बानी परेको छ।’