जनावरले टोके आपत् : छैन एन्टी रेबिज भ्याक्सिन
विराटनगर : विराटनगर–५ का ८० वर्षीय वृद्ध खगेन्द्रप्रसाद पौडेल बुधबार पत्नीसँगै कोसी अञ्चल अस्पतालमा भौताइिरहेका भेटिए। कुकुरले हातमा टोकेपछि एन्टी रेबिज भ्याक्सिन खोजीमा निस्किएका उनले अस्पताल धाएको १० दिन पुगेको सुनाए। तर, उनले अहिलेसम्म एउटा पनि भ्याक्सिन लगाउन पाएका छैनन्।
‘अस्पतालमा भ्याक्सिन छैन भन्ने जवाफ मात्रै आइरहेको छ’, उनले भने, ‘स्वास्थ्यकर्मीले बाहिरबाट किनेर ल्याउनुभयो भने लगाइदिन्छौं भन्छन्।’ कुकुर, बिरालो, बाँदरलगायत जनावरले टोके अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क पाइन्छ भन्ने सुनेर आए पनि नपाएको गुनासो उनले गरे।
विराटनगर–१३ का ३५ वर्षीय श्रवणकुमार दास पनि बाँदरले कम्मरमा टोकेपछि पाँच दिनदेखि अस्पताल धाइरहेका छन्। तर, उनले भ्याक्सिन लगाउन पाएका छैनन्। भने, ‘अस्पतालका कर्मचारीले भ्याक्सिन नै छैन भन्ने मात्र जवाफ दिन्छन्।’
अस्पतालका अनुसार दैनिक २० भन्दा बढी बिरामी रेबिजबाट जोगिने भ्याक्सिन लगाउन आउने गरेका छन्। मेडिकल स्टोरका नायबसुब्बा काशीराज पराजुलीले भ्याक्सिन अभाव भएको जानकारी दिए। भने, ‘यो भ्याक्सिन निःशुल्क पाइन्छ तर सरकारी अस्पतालमा अभाव छ।’ क्षेत्रीय मेडिकल स्टोरमा पनि मौज्दात सकिएको जानकारी आएको उनले सुनाए।
सरकारी अस्पतालबाहिर एउटा भ्याक्सिनको मूल्य ६ सयभन्दा बढी पर्छ। चिकित्सकले पाँचपटकसम्म भ्याक्सिन लगाउन सल्लाह दिन्छन्।
सरकारी अस्पतालबाहिर एउटा भ्याक्सिनको मूल्य ६ सयभन्दा बढी पर्छ। रेबिज नलागोस् भनेर चिकित्सकले पाँचपटकसम्म भ्याक्सिन लगाउन सल्लाह दिन्छन्। तर, बुधबार मात्र भ्याक्सिन खोज्दै १९ जना अस्पतालको सम्पर्कमा आए तर एक जनाले पनि लगाउन पाएनन्।
स्टोरका कोल्ड चेन निरीक्षक चन्द्रकान्त ठाकुरले भने, ‘स्टोरमै सकिएका कारण पूर्वमा भ्याक्सिन अभाव भएको हो।’ उनका अनुसार एक महिनामा पूर्वमा ६ हजार पाँच सय भायलभन्दा बढी भ्याक्सिन आवश्यक पर्छ। तर, ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तीन हजार भायल मात्रै पठाएको उनले बताए। स्टोरले पूर्वका १६ वटा जिल्ला अस्पताल, तीन अञ्चल अस्पताल, कटहरी र मंगलबारे अस्पताल गरेर २१ स्वास्थ्य संस्थामा भ्याक्सिन पठाउँछ।
कोसी अस्पतालका फिजिसिन डा. रोहित यादवले १० दिनसम्म टोक्ने जनावर जीवितै छ भने भ्याक्सिन लगाउन आवश्यक नपर्ने तर हात, खुट्टा र मुखमा टोक्यो भनेचाहिँ तुरुन्त लगाउनुपर्ने बताए।