भाेली र पर्सी शाकाहारी सम्मेलन हुँदै
काठमाडौं : शनिबार र आइतबार काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको एसिया प्यासिफिक शाकाहारी सम्मलेन हुँदैछ। नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघ (आईभीयु) को सहकार्यमा हुन लागेको सो महोत्सव शाकाहारी परिकारहरूको समेतको महोत्सव हुने संस्थाका उपाध्यक्ष कृष्ण गुरूङले जानकारी दिए।
विभिन्न ३० देशबाट निम्तालु आउने सो कार्यक्रम नेपालमै पहिलो भएको संस्थाका महासचिव सुरेश शर्माले जानकारी दिए। नेपालभरिका ४ सय बढी प्रतिनिधि सहभागी हुने कार्यक्रममा शाकाहारी जीवन शैलीलाई वैज्ञानिक कसीमा बहस र व्याख्या गरिने बताइएको छ। कार्यक्रम काठमाडौंको महेन्द्र पुलिस क्लबमा हुनेछ।
मासु र जनावरजन्य उत्पादनले क्यान्सरलगायतका असाध्यै रोगमा योगदान गरिरहेको सन्दर्भमा शाहाकारको महत्व जगाउने र यसको प्रवर्द्धन गर्ने कार्य अत्यन्तै आवश्यक भएको रेडियोकर्मी तथा संघकी सदस्य रीता लिम्बूले बताइन्।
महोत्सवको उद्घाटन २० वर्षदेखि शाकाहारी खानपान अपनाउँदै आएकी बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले गर्ने बताइएको छ। कार्यक्रमको प्रायोजन नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, हेल्लो नेपाल, हिमालयन अनटप र जनता बैंकले गरेको हो।