कृष्णबहादुर महरा: लाभको पदमा रमाउने माओवादी नेता

कृष्णबहादुर महरा: लाभको पदमा रमाउने माओवादी नेता

काठमाडौं: कृष्णबहादुर महरा मुलुककै सबैभन्दा भाग्यमानी राजनीतिक नेता बनेका छन् । प्रतिनिधि सभामा अबको ५ वर्षका लागि निर्विरोध सभामुख भएपछि राजनीतिका यी चलाख खेलाडी माओवादीमा सबैभन्दा 'भाग्यमानी' नेता बन्न पुगेका छन् ।

नेपाली राजनीतिक वृत्तमा सधैँ सत्ताको दौडमा रहने कांग्रेसका नेता विजय गच्छदारलाई समेत माथ खुवाउने गरी महरा सधैँ शक्ति र सत्तामा बस्ने माओ‌वादी नेता बनेका छन् ।

जसले असफलता देखेनन्

महरा, जसले राजनीतिक जीवनमा कहिल्यै असफलता देख्नु परेको छैन । माओवादी केन्द्रका नेता महराको राजनीतिक जीवन सधै सत्ताको ‘पेरिफेरी’मै बितेको छ । माओवादी केन्द्रबाट सभामुखमा बलियो दाबेदारी गरेकी ओनसरी घर्तीलाई माथ खुवाउँदै महराले अध्यक्ष प्रचण्डलाई रिझाउन सफल भए ।

२०६४ सालपछिको १० वर्ष यता त उनी सत्ताको स्वाद चाखिरहने नेपालकै भाग्यमानी नेतामा पर्छन् । १० वर्षको अवधिमा उनी ७ पटक त मन्त्री नै भइसकेका छन् ।
मुलुकमा गणतन्त्र आएपछि २०६३ वैशाख १२ गते अन्तरिम विद्यायक बनेका महरा गिरिजाप्रसाद कोइरालाको नेतृत्वका अन्तरिम सरकारमा पहिलो पटक सूचना तथा सञ्चारमन्त्री भएका थिए ।

कोइराला सरकारको प्रवक्ता समेत महरा बनेका थिए । त्यसपछि उनी लगातार मन्त्री भइरहेका छन् । माओवादी संसद्‍बादी भासमा परेको आरोप लगाउँदै धेरै नेताहरुले पार्टी छाडेको अवस्थामा महरालाई भने सं‌सदीय राजनीति सबैभन्दा फलिफाब भएको छ ।

नेता रिझाउन सिपालु

गच्छदारपछि लगातार पदमा रहिरहने नेता भएका छन् महरा । २०६४ मा भएको संविधान सभाको पहिलो निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका महरा २०६५ भदौ २० गते पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको पहिलो गणतान्त्रिक सरकारको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता बने ।

२०६७ माघ २३ गते एमाले नेता झलनाथ खनालको सरकारमा उनी उपप्रधानमन्त्री एवम् सूचना तथा सञ्चारमन्त्री बन्न सफल भए । २०६८ वैशाख २१ गते झलनाथकै पुनर्गठित मन्त्रिमण्डलमा उनी उपप्रधान तथा गृहमन्त्री भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी रोल्पा क्षेत्र नं १ बाट निर्वाचित भए । २०७३ साउन २० गते प्रचण्ड सरकारमा उनी उपप्रधान तथा अर्थमन्त्री बन्न सफल भए ।

महरा पुनः शेरबहादुर देउवाको प्रधानमन्त्रीकालमा २०७४ साल जेठ २४ गते उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारीमा पुगे । माओवादीले एमालेसँग वाम गठबन्धन बनाएपछि उनी उपप्रधान तथा विनाविभागीय मन्त्रीमा थन्क्याइए । २०७४ सालमा दाङ-२ बाट निर्वाचित भएका महरा अब प्रतिनिधि सभाको सभामुख भएका छन् । अब पाँच वर्षसम्म उनी शक्तिमै रहनेछन् ।

४ पटक जित्ने एक्ला माओवादी संसद

उनी तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालको प्रतिनिधि सभामा रोल्पाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । २०४८ सालमा जनमोर्चाबाट ९ जना मात्रै निर्वाचित भएका थिए ।

संयुक्त जनमोर्चा नेपालको तर्फ संसदीय दलको नेता समेत महरा नै भए । माओवादीबाट २०४८ सालपछि लगातार ४ पटक निर्वाचित हुने माओवादीका एकमात्र नेता पनि हुन् महरा ।

२०६३ पुसमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका-संसदको सदस्य तथा माओवादी संसदीय दलको नेताको जिम्मेवारी बहन गरे । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचन दाङ-३ बाट निर्वाचित भए ।

दाङमा जित्ने अवस्था नभएपछि २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन महरा रोल्पा गए । रोल्पा क्षेत्र नम्बर-२ मा संविधान सभा सदस्यमा पुनः निर्वाचित भए । २०७४ मा वाम गठनबन्धन भएर जित्ने निश्चित भएपछि फेरि दाङ नै फर्किए ।

दाङ क्षेत्र नम्बर २ मा एमाले नेता एव वर्तमान प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लड्न तयार भएको अवस्थामा महरा नै प्रतिनिधि सभामा उम्मेदवार बन्दै सांसदमा निर्वाचित भए ।

तीनै वार्तामा सहभागी

पार्टीमा हरेक अवसरमा उनले ‘चान्स’ भएका छन् । माओवादी सशस्त्र युद्धकालमा समेत महरा ३-३ पटक वार्ता टोलीमा पनि रहे । २०५८ सालमा माओवादी र तत्कालीन सरकारसँग पहिलो वार्तामा महराले माओावदी तर्फबाट संयोजकको भूमिका निर्वाह गरेका थिए । २०६० सालमा उनी दोस्रो वार्ता टोली सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता बने । २०६३ मा तत्कालीन सरकारसँग वार्ताका लागि गठित तेस्रो वार्ता टोलीको संयोजक भएर माओवादी पक्षको उनले नेतृत्व गरे ।

राजनीतिक जीवन

२०१५ असार १५ गते रोल्पाको लिवाङ-७ धारापानीमा जन्मिएका उनले पृथ्वीनारायण क्याम्पस पोखराबाट शिक्षाशास्त्रबाट स्नातक तह उत्तीर्ण गरे । महरा २०३५ र ०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय भएका हुन् ।

२०३६ सालदेखि २०३९ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधिको जिम्मेवारी निर्वाह गरेका महराले २०३७ मा तत्कालीन नेकपा चौथो महाधिवेशनदेखि पार्टीको सदस्यता लिएका थिए ।

२०३७ सालमा रोल्पा जिल्ला सदस्य बनेका महराले २०३९ देखि ४१ सालसम्म अनेरास्ववियूको आठौं राष्ट्रिय सम्मेलनबाट केन्दीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष भए ।

२०३६ देखि २०४८ सम्म शिक्षण पेशा हराएका महरा २०४८ सालदेखि नेकपा (मशाल) रोल्पा जिल्ला सेक्रेटरी बने । महराले २०५० सालमा तत्कालीन नेकपा (एकता केन्द्र) को क्षेत्रीय संगठन समितिको सदस्यको जिम्मेवारी निर्वाह गरे ।

२०५१ मा तत्कालीन नेकपा (माओवादी) को पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य बनेका महरा जनयुद्धको प्रारम्भिककाल २०५३ असारमा माओवादीको केन्द्रीय सदस्य बन्न सफल भएका थिए ।

२०५५ सालमा महरा पोलिटब्यूरो सदस्य बने । २०६२ सालमा माओवादीको स्थायी समिति सदस्य बने । २०६५ सालमा पार्टी एकता भएपछि एकीकृत नेकपा ((माओवादी)को स्थायी समिति सदस्यका रुपमा क्रियाशील रहे । २०६६ सालमा विदेश विभाग प्रमुख बने ।

२०६९ मा भएको सातौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख र मध्यब्यूरो इञ्चार्जको भूमिका निर्वाह गरे । महरा २०७१ मा पार्टीको महासचिव भए । २०७३ देखि हालसम्म उनी पार्टी केन्द्रीय कार्यालय सदस्यको भूमिकामा क्रियाशील छन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.