दुई सय विद्यार्थीलाई स्वर्ण जयन्ति छात्रवृत्ति
काठमाडौं : नेपालस्थित भारतीय दुतावासले दुई सय नेपाली विद्यार्थीलाई स्वर्ण जयन्ति छात्रवृत्ति प्रदान गरेको छ। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा दुतावासले स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो।
स्वदेशी विश्वविद्यालय र क्याम्पसमा एमबीबीएस, बीई, बीएससी, बीए, बीएड, बीबीए लगायत विषय पढिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। छात्रवृत्तिबाट उनीहरुलाई स्नातक तहको पढाई जारी राख्न समर्थ तुल्याउँने दुतावासको विश्वास छ।
सन् १९५१ मा सुरु भएको भारत-नेपाल आर्थिक सहकार्यको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा भारत सरकारले सन् २००२ मा योग्य नेपाली विद्यार्थीका लागि स्वर्ण जयन्ति छात्रवृत्ति कार्यक्रमको सुरुवात गरेको थियो। कार्यक्रमको सुरुवातमा ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो।
सन् २००७ मा छात्रवृत्तिको संख्यामा वृद्धि गरी एक सय र सन् २०१२ देखि दोब्बर बनाई २ सय पु¥याइएको छ। एक एमबीबीएसको विद्यार्थीले प्रति महिना चार हजार रुपैयाँका दरले पाँच वर्षसम्म, एक बीईको विद्यार्थीले प्रति महिना चार हजार रुपैयाँका दरले चार वर्षसम्म र अन्य स्नातक तहका एक विद्यार्थीले प्रति महिना तीन हजार रुपैयाँका दरले तीन वर्षसम्म छात्रवृति प्राप्त गर्दछन्।
अहिलेसम्म नेपालका ७७ जिल्लाका २ हजार १५० बढी विद्यार्थी स्वर्ण जयन्ति छात्रवृति कार्यक्रमबाट लाभान्वित भएका छन्।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले प्रमाणपत्र प्रदान गरे। भारतीय राजदूत मञ्जिवसिंह पुरीले विद्यार्थीलाई कार्यक्रममा छानिएकोमा बधाई दिदै व्यक्तिगत र पेशागत उपलब्धि हासिल गर्न सुझाव दिए।