ढुंगाखानी भत्केर दुई मजदुरको मृत्यु
जुम्ला : चन्दननाथ नगरपालिका ९ श्रीढुस्कामा ढुंगाखानी भत्केर शुक्रबार साँझ दुईजना मजदुरको मृत्यु भएको छ। घर निर्माणका लागि ढुंगाखानीमा ढुंगा निकाल्दै गर्दा माथिबाट आएको ठूलो ढुंगाले च्याप्दा उनीहरुको मृत्यु भएको हो।
विगत केहीबर्ष यता उनीहरु नियमित रुपमा खानीबाट ढुंगा निकाल्दै बेच्दै जीविकोपार्जन गरिरहेका थिए। मृत्यु हुनेमा चन्दननाथ नगरपालिका ९ श्रीढुस्काका ५८ वर्षीय रक्षाबहादुर घर्ती र २५ वर्षीय तीर्थराज घर्ती रहेका छन्। प्रहरीका अनुसार रक्षाबहादुर घर्तीको घटनास्थलमै मुत्यु भएको हो भने तीर्थराज घर्तीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी हवल्दार केशर खड्काका अनुसार मृतकको शव प्रतिष्ठानको शव घरमा राखिएको छ। पोष्टमार्टमपछि घटनाको मुचुल्का गरी शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले बताएको छ।