चर्को शुल्क लिने थप तीन स्कुलविरुद्ध अभियोग दर्ता
काठमाडौं : आपूर्ति मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले विद्यार्थीसँग चर्को शुल्क असुल्ने युलेन्स, जेम्स र प्रिमियर स्कुलविरुद्ध मुद्दा चलाउन शुक्रबार सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गरेको छ। यसअघि रातोबंगला र द चाँदवाग स्कुलविरुद्ध अभियोग दर्ता गराएको विभागले शुक्रबार तीन स्कुलविरुद्ध पनि अभियोग दर्ता गराएको हो।
विभागले दर्ता गरेको अभियोगपत्रमाथि अध्ययन गरेर सरकारी वकिल कार्यालयले ती स्कुललाई मुद्दा चलाउँछ। तर, विभागको अभियोगमा प्रमाण नपुगे कार्यालयले फेरि विभागमै फर्काइदिन सक्छ। विभागका निर्देशक कुमारप्रसाद दाहालले भने, ‘अभियोगपत्र दर्ता भएको छ। अब सरकारी वकिल कार्यालयले बाँकी प्रक्रिया अघि बढाउँछ।’
विभागले दुई साताअघि कानुनविपरीत शुल्क लिएको गुनासोका आधारमा राजधानीका १५ वटा स्कुलको शुल्क संरचनाबारे अनुगमन गरेको थियो। अनुगमन क्रममा अधिकांश स्कुलले विद्यार्थीसँग शुल्क तोक्दा कानुनी व्यवस्थालाई नमानेको पाइएको थियो।
चालु शैक्षिक सत्रका लागि गत वर्ष निजी विद्यालयलाई ‘क’ देखि ‘ग’ सम्म वर्गीकरण गरेर शुल्क निर्धारण गरिएको थियो। जसअनुसार ‘क’ श्रेणीका विद्यालयले प्राथमिक तहमा मासिक दुई हजार तीन सय ६२, निम्न माध्यमिक तहका लागि दुई हजार सात सय र माध्यमिक तहका लागि तीन हजार ६ सय ७५ रुपैयाँ लिन पाउने सहमति सरकारी अधिकारी र विद्यालय सञ्चालकबीच भएको थियो।
यो शुल्कमा ‘ख’ र ‘ग’ श्रेणीका विद्यालयले ‘क’ श्रेणीको विद्यालयले लिएको शुल्कमा क्रमशः २५ र ५० प्रतिशत शुल्क घटाएर लिनुपर्ने कानुनी व्यवस्था छ। तर, अनुगमन गरिएकामध्ये अधिकांश स्कुलले यस मापदण्डलाई नमानेको अनुगमन क्रममा पाइएको थियो।