पहुँचका भरमा शान्ति मिसन जाने प्रहरीको छनोट
काठमाडौं : प्रहरी प्रधान कार्यालयले पहुँचका भरमा २२ जना प्रहरीलाई छनोट गरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (हाइटी र डार्फर) पठाउने तयारी गरेको छ। मुख्यालयको छनोटबाट मिसन जान पाउने भाग्यमानीमा प्रधानन्यायाधीश गोपाल पराजुलीका अंगरक्षक (पीएसओ) देखि प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालको भान्सेसम्म छन्।
कार्यक्षमता र दक्षताका आधारमा मिसनमा जाने प्रहरी छनोट गर्नुपर्ने हो, तर प्रधान कार्यालयको निर्णयले ज्यान जोखिममा राखेर काम गर्ने प्रहरी कर्मचारीको मनोबलमा असर पुगेको एक जना प्रहरीले दुखेसो गरे।
प्रहरी निरीक्षकदेखि माथिका दर्जामा यूएनबाट लिइने लिखित र मौखिक परीक्षा पास भएकालाई छनोट गरिन्छ तर जवानदेखि प्रहरी नायब निरीक्षक सम्मका विशेष कोटाका २२ जना सिफारिसकै आधारमा बर्सेनि मिसन जाँदै आएका छन्।
मिसनका लागि देशभरबाट उत्कृष्ट कार्य गरेका एक सय ३५ जनाको नाम सिफारिस भएका थिए। २२ जना छनोट गर्न प्रहरी मुख्यालयले पुलिस कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक नै नराखी आईजीपी अर्याल र प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेले अघिल्लो साता पहुँचवाला व्यक्तिको सिफारिसमा मिसनमा जाने प्रहरी छनोट गरेका थिए।
प्रहरी मुख्यालय स्रोतका अनुसार पहुँचका आधारमा हाइटी मिसनमा छनोट हुने प्रहरी कर्मचारीमा प्रधान्यायाधीश पराजुलीका पीएसओ प्रहरी नायब निरीक्षक (सई) शैलेन्द्र थापा, पुष्पकमल दाहालका पीएसओ सई भगवान् कार्की, आईजीपी अर्यालका भान्से प्रहरी हवल्दार आशुराम चौधरी, उनकै सवारी चालक प्रहरी जवान पुनिराम चौधरी र प्रहरी प्रवक्ता डीआईजी न्यौपानेका चालक प्रहरी जवान बमबहादुर तामाङ छन्।
न्यौपाने आफैं मिसन छनोट समितिका संयोजक हुन्। मुख्यालयका अनुसार पहुँचकै भरमा डार्फर मिसन छनोट हुनेमा पूर्वमन्त्री जनार्दन शर्माका पीएसओ सई कमलकान्त पुन र पूर्वमन्त्री विष्णु पौडेलका पीएसओ सई मानबहादुर अधिकारी छन्।
डार्फर जान छनोट भएकामध्ये प्रहरी सहायक निरीक्षक अच्युतप्रसाद पौडेल एक पल्ट सिनिसयर कोटामा परीक्षा दिएर फेल भएपछि पुनः भीआईपी कोटाबाट छनोटमा परेको स्रोतले बताएको छ।
मिसन छनोट समितिले मिसन छनोट निर्देशिकाविपरीत सूची प्रकाशन गरेको छ। निर्देशिका अनुसार छनोट भएको दिनमै सूची सार्वजनिक गर्नुपर्ने र तीन दिनभित्र चित्त नबुझे उजुरी दिन पाउने व्यवस्था छ। तर, प्रहरी मुख्यालयले तीन दिनपछि मात्रै प्रहरी कार्यालयका वेभसाइटमार्फत सूची सार्वजनिक गरेको छ।
छनोट समितिले राष्ट्रिय फुटबल टोलीका जुमानु राईको नाम छनोट गरी चलाखी गरेको छ। परीक्षा दिएर पनि छनोट हुन नपाएका एक प्रहरी कर्मचारीले अन्नपूर्णसँग भने, ‘हामीले ज्यानै जोखिममा राखेर ठूला अपराधी पक्राउ गर्यौं। पुरस्कृत पनि भयौं। तर, मिसन जान पहुचवालाकै भर पर्नुपर्ने अवस्था देखिएपछि हाम्रो दुःख केका लागि भन्ने लागेको छ ? ’
प्रहरी प्रवक्ता डीआईजी न्यौपानलेले यसपटकको विशिष्ट कोटा छनोटलाई पहिलाको तुलनामा झनै व्यवस्थित बनाइएको दाबी गरे।
उनले भने, ‘विशिष्ट व्यक्तिको पहुँचका भरमा छनोट नगरी परीक्षा प्रणाली, दौड, अनुभवी, कार्य मूल्यांकन सबैलाई आधार मानेर बोर्डले गरेको सिफारिसका आधारमा छनोट गरिएको हो। सीमित कोटा भएकाले पनि छनोटमा नपरेकाको गुनासो आउनु स्वाभाविकै हो।’