अफिम खेती प्रहरीको चुनौती
हेटौंडा : मकवानपुर प्रहरीले चालू आर्थिक वर्ष २०७४÷७५ मा एक हजार २९ केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ। उक्त परिमाणमा गाँजा बरामदसँगै तीन सय ८८ बिघा सात कठ्ठा जमिनमा लगाइएको गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दिलीप झाले बताए।
गत आर्थिक वर्ष २०७३÷७४ मा प्रहरीले एक हजार नौ सय ४० केजी गाँजा बरामद गरेको थियो। प्रहरी तथ्यांकअनुसार चार सय १५ बिघा ६ कठ्ठा जमिनमा लगाइएको गाँजा फडानी गरी नष्ट गरिएको थियो। आर्थिक वर्ष २०७२÷७३ तीन हजार दुई सय ४३ केजी गाँजा बरामद गर्नुका साथै आठ सय ५८ बिघा नौ कठ्ठा जमिनमा लगाइको गाँजा नष्ट गरिएको थियो।
गाँजासँगै चालू आर्थिक वर्ष २०७४÷७५ मा दुई सय २४ केजी चरेश, तीन ग्राम खैरो हिरोइन र एक केजी अफिम बरामद गरेको मकवानपुर प्रहरीको तथ्यांक छ। गत आर्थिक वर्ष २०७३÷७४ मा प्रहरीले दुई सय २४ केजी चरेश, ६ सय १३ ग्राम खैरो हिरोइन र चार केजी अफिम बरामद गरेको थियो।
लागूऔषध गाँजा उत्पादनसँगै लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्टका रूपमा समेत विकास हुँदै गएको मकवानपुरमा प्रहरीले चालू आर्थिक वर्षको माघ अन्तिमसम्म अवैध लागूऔषधसहित एक सय ४२ जनलाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख एसपी विकासराज खनालले बताए। तीमध्ये १० जना भारतीय र आठ जना महिला छन्। गत आर्थिक वर्ष २०७३÷७४ मा लागूऔषधसहित दुई सय तीन जना र २०७२÷७३ मा दुई सय ३८ जना पक्राउ गरिएको प्रहरी तथ्यांक छ।
मकवानपुरका पश्चिमी क्षेत्रमा अवैध गाँजा खेती हुँदै आएकोमा पछिल्लो समय व्यावसायिक रूपमा अफिम खेती हुन थालेपछि प्रहरीलाई चुनौती थपिएको छ। प्रहरीले गाँजा फडानी गरेलगत्तै अफिम खेती गर्ने क्रम बढेको हो।
प्रहरीले चालू आर्थिक वर्षमा २८ बिघा अफिम खेती नष्ट गरेको छ। गत आर्थिक वर्ष २०७३÷७४ मा ४८ बिघा र २०७२÷७३ मा ६५ बिघा अफिम खेती नष्ट गरेको प्रहरी तथ्यांक छ। तथ्यांकअनुसार २०७० सालपछि मकवानपुरमा अफिम खेती बढेको हो। उत्पादकले एक केजी अफिम बिक्रीबाट एक लाख रुपैयाँसम्म लिने गरेको प्रहरीको भनाइ छ।
२०७० सालपछि मकवानपुरमा अफिम खेती बढेको हो। उत्पादकले एक किलो अफिम बिक्रीबाट एक लाख रुपैयाँसम्म लिने गरेको प्रहरी दाबी छ।
‘गाँजा खेतीमुक्त बनाउने अभियानमा हामी जुटेका छौं। तर, अफिम खेतीतर्फ व्यापारी र जग्गावाला आकर्षित भइरहेका छन्’, मकानपुर प्रहरी प्रवक्ता झाले भने, ‘यसलाई निरुत्साहित गर्न र वैकल्पिक खेतीतर्फ किसानलाई आकर्षित गर्न हामी लागिपरेका छौं।’ थोरै जग्गामा खेती गरी धेरै नाफा कमाउन सकिने भएपछि गाँजा छाडेर अफिम खेतीतर्फ उत्पादक आकर्षित भएको उनले बताए।
मकवानपुरमा करिब १० हजारभन्दा बढी लागूऔषध दुव्र्यसनी रहेको प्रहरी तथ्यांक छ। पोखरापछि ठूलो संख्यामा लागूऔषध प्रयोगकर्ता मकवानपुरमा रहेको झाले बताए। ‘यही संख्यामा लागूऔषध दुव्र्यसनी बढ्दै जाने हो भने एक दशकपछि हेटौंडाका प्रत्येक घरमा दुव्र्यसनी हुन सक्छ’, उनले भने, ‘त्यसलाई रोक्न प्रहरीले मात्र काम गरेर हुँदैन, सबै पक्ष गम्भीरताका साथ लाग्नुपर्छ।’