पूर्वी गुटा*बाट उठेको प्रश्न
चार हजार तीन सय अठार१ वर्षपछि
के सुक्नेछन् मेरा आँसुका थोपाहरू ?
के पुछिनेछन् रगतका यी दागहरू ?
के यो ब्रह्माण्डबाट हराउनेछ मेरो क्रन्दनको यो आवाज ?
के बहन छोड्नेछ टिग्रिस ?
के बालुवा बनिसकेको हुनेछ युफ्रेटस ?
चार हजार तीन सय अठार वर्षपछि
के कसैले पनि सोध्नेछैन प्रश्न ?
के कंकाल बनिसकेका तिम्रा–हाम्रा शरीरमा
हुनेछैन युद्धको कुनै पनि दाग ?
अहिले त म चुपचाप चुपचाप मरिरहेछु
‘पृथ्वीको यो नर्क’२मा
सायद तिमी कतै गणना गरिरहेका छौ
‘पृथ्वीको कुनै स्वर्ग’बाट
हाम्रा मृत्युहरूको
तर, के कसैले सोध्नेछैन तिमीलाई—
कति अंकले फरक छ
तिम्रो र हाम्रो जीवन ?
कति अंकले फरक छ
तिम्रो र हाम्रो सपना ?
कति अंकले फरक छ
तिम्रो र हाम्रो ‘भाग्य’?
मिस्टर ट्रम्प
मिस्टर पुटिन
मिस्टर असाद
र बन्दुक भिरेर मेरो गल्लीमा हिँडिरहेका तमाम
मिस्टरहरू हो
मेरो जिन्दगीको अन्तिम प्रश्न तिमीलाई—
चार हजार तीन सय अठार वर्षपछि
के मेटिएको हुनेछ तिम्रो अनुहारमा मेरो रगतको छाप ?
फुटनोट :
- * पूर्वी गुटा : फेब्रुअरी २३ देखि विद्रोहीहरूको बाहुल्य भएको नाममा बमबारी गरिएको सिरियाको पूर्वी भूभाग।
- १. ‘सार्जन द ग्रेट अफ अक्कड’ले ‘अक्कडियन साम्राज्य स्थापना गर्न मेसोपोटामियामा इसापूर्व २३०० तिर लडेको लामो लडाइँ त्यो क्षेत्रको प्राचीन युद्ध मानिन्छ। इसापूर्व २३०० र इसाको २०१८ जोडेर चार हजार तीन सय अठार वर्ष बनाइएको हो।
- २. संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले २६ फेब्रुअरीमा पूर्वी गुटा पृथ्वीमा नर्क बनेको टिप्पणी गरे।