आईबी राईका चार अवतार
मेरो विचारमा इन्द्रबहादुर राईउर्फ आईबी राईका मुख्यतः चारवटा अवतार छन्।
पहिलो, उनी नेपाली यथार्थवादी आख्यानका महान् कलाकार हुन्। उनको उपन्यास ‘आज रमिता छ’ र कथासंग्रह ‘विपना कतिपय’ नेपाली साहित्यमा व्यापक रूपले पढिएका र चर्चा गरिएका, व्यापक रूपले प्रशंसित र आलोचित कृतिहरू हुन्। आईबी राईको दोस्रो अवतार हो— उनी आयामेली आन्दोलनका परिकल्पनाकार, व्याख्याता र प्रवक्ता तीनैथोक हुन्।
उनका शब्दमा तेस्रो आयाम साहित्यमा बौद्धिकता थप्ने र जीवनका तीनै आयामलाई झ्याप्पै छोप्ने साहित्यिक पारा हो। उनको तेस्रो अवतार हो— उनी साहित्य सिद्धान्त र साहित्य समालोचनाका ठूला पण्डित हुन्। उनको ‘नेपाली समालोचनाका आधारहरू’ भन्ने ग्रन्थ वास्तवमा नेपाली समालोचनाको आधारस्तम्भ नै बनेको छ।
र, आईबी राईको चौथो अवतार उनको लीलालेखनमा प्रकट भएको छ। मलाई उनको लीला लेखनचाहिँ बुढेसकालको वैराग्यको अभिव्यक्तिजस्तो लाग्छ, जसमा उनको लेखन जीवनको यथार्थ परिवेशबाट चिप्लिएर र बत्तिएर कतै अमूर्ततातिर बेगिएको छ। त्यसो त तेस्रो आयामको पछिल्लो चरणमा नै उनको लेखनमा मनग्गे क्लिष्टता आइसकेको छ। खास गरेर ‘हामीजस्तै मैनाकी आमा’ र ‘खाल्डो’जस्ता कथामा पुग्दा आई बी राईको प्रयोग प्रयोगका लागि प्रयोग ज्यादा र जीवनको बोधगम्य अनावरण कम भइसकेको छ। यहाँ पनि राईको प्रयोग जीवनको जीवन्त धरातलबाट उछिट्टिएर कतै शून्यतिर बहकिएझैं लाग्छ।
म समग्र नेपाली साहित्यमा खासगरी पाँच जना कथाकारलाई नेपाली कथाका देउराली मान्छु। यो मेरो नितान्त निजी चयन वा रोजाइ हो। यी पाँच देउराली हुन्— विश्वेश्वरप्रसाद कोइराला, गोविन्दबहादुर मल्ल (गोठाले), पारिजात, रमेश विकल र इन्द्रबहादुर राई। नेपाली कथाका यी पाँच देउराली कथाका पाँच पृथक् र विशिष्ट प्रवृत्तिका स्वनामधन्य प्रतिनिधिहरू हुन्।
अब एक फुटकर टिप्पणी। इन्द्रबहादुर राईको अर्को एउटा अवतार ‘साहित्यको अपहरण’मा अभिव्यक्त छ। यस अवतारमा राईले माक्र्सवाद–प्रेरित प्रगतिवादी साहित्यमा कलाको नांगो अपहरण हुन्छ भनी चर्को जिरह गरेका छन्। राई कला वा शिल्पद्वारा नसिँगारिएको लेखन नारा, रुढी, भजन, भक्ति वा स्तुति हो भनी भयंकर तर्क गर्छन्। यहाँ राईका विचारहरू निश्चय नै विचारणीय छन्।
तर, यो विमर्श दार्जिलिङको रैथाने गुट द्वन्द्वबाट उत्पन्न तिक्तता र कताकति क्षुद्रतासमेतले भरिपूर्ण छ। राईले क्रुद्ध आवेगबाट वशीभूत भई उनको बौद्धिक श्रेष्ठता र मर्यादित तर्कशीलताबाट बाहिर निस्केर प्रगतिवादीहरूलाई कति हो कति होच्याएका छन् र गिज्याउनुसम्म गिज्याएका छन्। तथापि, मेरो विचारमा आईबी राईको सौन्दर्यशास्त्रीय ऐनामा आफ्नो अनुहार हेर्न प्रगतिवादीहरूका लागि श्री राईको यो सर्वाधिक पठनीय कृति हो।
इन्द्रबहादुर राई बडो सौभाग्यशाली लेखक रहेछन्। उनले जीवन बिसाउनुभन्दा केही अघिमात्र अनुवाद कलाका दुई अब्बल प्रतिभा मञ्जु श्री थापा र प्रवीण अधिकारीद्वारा अनुदित आफ्ना दुई कृति ‘आज रमिता छ’ र कथासंग्रह अंग्रेजीमा देख्न पाए। मानौं यो देख्नकै लागि उनी यतिन्जेल बाँचेका थिए।
९१ वर्ष मनग्ये लामो जीवन हो। इन्द्रबहादुर राई भव्य जीवन बाँचे र भव्य मृत्यु मरे। श्री राईप्रति मेरो हार्दिक श्रद्धाञ्जलि।