लेख्न किन मरिहत्ते गर्छौ ?
हामी जहिले पनि भन्छौं, यथार्थ लेख्नुपर्छ। सप्पैले मानेकै कुरा हो त्यो। यथार्थलाई नलेखी अरू केलाई लेख्ने त ! यथार्थ शब्द त एउटै छ, तर यसको बुझाइ आफ्नो आफ्नो हुन्छ। कसैले मनोवैज्ञानिक यथार्थलाई नै यथार्थ भनेर बुझ्छन्, कसैले ऐतिहासिक यथार्थ तथ्यलाई। दुवै बुझाइ ठीकै हो। त्यसरी यथार्थ लेख्नुपर्छ भन्ने ‘रियलिजम्’ साहित्यमा आयो फ्रान्सबाट।
हामीले जे कुरा सम्झिराखेका छौं यथार्थ लेख्छौं भनेर, साँच्चैमा त चुनेका कुरा मात्रै लेख्दा रहेछौं। हामीले चुनेका कुरा मात्रै चाहिँ यथार्थ ? त्यो त यथार्थ भएन। अनि ती चुनेका कुरालाई पनि आफ्नो दृष्टिले हेरेर अथ्र्याएर लेख्छौं। यसरी यथार्थवादपछि फ्रायडवाद, अस्तित्ववाद, अनेकवादहरू आउँदै गए। यथार्थवादमा जुन कुरा हामीले भूल ग¥यौं, सायद यी पछि आएका वादहरूमा पनि यस्तै किसिमका भूलहरू पो गर्दैछौं कि हामीले भन्ने एउटा आत्मसंशय हामीलाई लाग्नुपर्ने हो। यतापट्टि सचेत छैनौं।
उत्तर आधुनिकतावाद
अहिले लेख्दा, नयाँ उपन्यासहरू पढ्दा परिहालेको एकदुईवटा समस्या हेरौं। अहिले यो उत्तर आधुनिकतावादले निकै नै पिटेको छ। उत्तर आधुनिकतावाद एउटा त काल हुन्छ। तर, यो कालचाहिँ साँच्चै आएको छ कि छैन ? यसबारे हाम्रो दृष्टिकोण कस्तो हो ! यसै त आधुनिकतावादको पछि आएको उत्तरआधुनिकतावाद, यसको नाम पनि त अलिक ठीक भएन। हाम्रो गाउँघरतिर कसैकसैलाई बोलाउँदा गाउँकाहरूले काइँलाको भाइ भन्छन् नि ! उसको नाम छ नि धनबहादुर। नामै धनबहादुर राख्न पायौं भने पो साँच्चैको मानिस चिन्यौं तर काइँलाको भाइ भन्यौं भने त चिनियो पनि तर अलिक भएन नि नाम ! यो उत्तरआधुनिकता भन्ने नाम पनि आधुनिकतापछिको, आधुनिकताको भाइ। यो त नाम पनि कस्तो कस्तो भयो। तर, उत्तर आधुनिकतावादको बेलाचाहिँ आएको छ। यो बेला आएको छ भन्ने कुरा माक्र्सवादबाट हामीलाई विश्वास गराइएको छ।
उत्तरआधुनिकतावादी कार्लमाक्र्सवादबाट आएको हो। माक्र्सवादमा उल्लेख छ— कुनै कुराको पनि बेसिक (आधार) सोसियो इकनमिक व्यवस्था। त्यसमाथि चाहिँ सुपर स्ट्रक्चर उठेको हुन्छ। यो उत्तरआधुनिकतावाद पनि एउटा सुपर स्ट्रक्चर हो। त्यसको आधार बहुराष्ट्रिय पुँजीवाद वा लेट क्यापिटलिजमबाट आयो भन्ने कुरा छ। इतिहासको एकएक वटा हिसाब रिठ्ठो नबिराईकन गर्नेहरू भन्छन्—उत्तरआधुनिकतावादी लेखन त पहिले साहित्यमा आयो। त्यसपछि कलामा गयो, त्यसपछि गृह निर्माण कलामा गयो। विस्तारै राजनीतिमा पनि आइपुग्यो तर, यो सुरु हुँदाखेरि चाहिँ साहित्यबाट सुरु भयो। साहित्यबाट सुरु हुँदा उत्तरआधुनिकतावादी शैलीमा दुईचारवटा फाट्टफुट्ट लेख्न थालिएको थियो, जति बेला मल्टी नेसनलहरू बनेकै थिएन। माक्र्सवादले भन्छ, मल्टी नेसनलहरू पहिला बन्यो। सोसियो इकनमिक बेस तयार भयो, अनि उत्तरआधुनिकतावादी साहित्यिक लेखन पनि आउन थाल्यो। उनीहरूको कुरा त्यो हो।
अब यसो विचार गरौं, साँच्चै नै यो उत्तर आधुनिकतावाद आएको छ त ? उनीहरूले भन्दैछन्— हो, आएको छ। एकदुईवटा उदाहरण दिऊँ, हामी नेपाली हौं। तर हाम्रो सोच, विचार, लवाइ, खुवाइ, बसाइ, आज कति प्रतिशत नेपाली छ। अब यो खुट्याउँछ, उत्तरआधुनिकतावादले। हामी कत्तिको मि िश्रत जीवन बाँच्छौं ? लगाउने लुगादेखि लिएर बस्ने घर, खानेकुरादेखि लिएर, हाम्रो सोचाइ सम्ममा हामी अर्कै भइसक्यौं। यसलाई थाहा गरेर हामीले लेख्यौं भने उत्तरआधुनिकता भइहाल्छ।
आधुनिकतावादले देखिसकेको बाटोमा नै उत्तरआधुनिकतावाद पनि हिँड्यो। यो उच्चाट लाग्ने कुरा कार्लमाक्र्सले देखिसकेका थिए। उनका शब्दमा यसलाई एलियनेसन भनिन्छ। उनले भने आफ्नै घरको वा खेतको काम ग¥यो भने दिनभरि गर्दा पनि विरक्त लाग्दैन तर, मालिकको कारखानामा गएर काम गर्नु प¥यो भने त्यो काम आफ्नो लाग्दैन। त्यो एउटा एलियनेसन हुन्छ।
पोस्टमोडर्निजमका कत्तिवटा कुराको जवाफ माक्र्सवादमा छ। अर्थ छैन भन्नेमा लाग्यो। अलिक अगाडि जाँदा सत्य छैन भन्ने पनि देखियो। अर्थ लगाएको मात्र हो, खासमा स्थिर सत्य हुँदैन भनियो। अर्थ छैन भन्नेबाट रोलाँ वार्थले लेखकको मृत्यु भन्ने सिद्धान्त निकाले। एउटा पाठ हुन्छ, यसको निश्चित अर्थ हुन्छ भनेर आधुनिकतावादले भन्थ्यो, त्यसैले शिक्षकले निश्चित अर्थ लगाउथे र त्यो निश्चित अर्थ लेखेन भने परीक्षामा विद्यार्थी फेल हुन्थे। तर, अब उत्तरआधुनिकताले अर्थ त निश्चित हुँदैन पो, आ–आफ्नो अथ्र्याइ मात्रै पो हुन्छ, भनेपछि यही कुरालाई रोलाँवाथले पनि समाते डेथ अफ दी अथर। यसलाई ठूलो सिद्धान्त भन्छन्। यसलाई विश्लेषण गरेर जे बताउँछन्, हामी झन् हुलमुलिन्छौं तर, जस्तै ठूलै सिद्धान्तभित्र पनि कुराचाहिँ सानो हुन्छ। सप्पैले बुझ्ने कुरा हुन्छ। सरल किसिमले बतायो भने त्यो कुरा जसले पनि सजिलै बुझिहाल्छ। लेखकको मृत्यु भनेको के हो त ?
कुनै कवि वा लेखकले लेख्दाखेरि उसको अभिप्राय हुन्छ, यसमा म यो लेख्छु, अनि त्यो अभिप्राय लेखियो भन्ने लेखकले ठान्छ। लेखकको अभिप्राय हामी पाठकले समातेर उनले लेखेको यही हो भन्न सक्छौं भनेदेखि त्यो लेखकको अभिप्राय हामीले बुझ्न सक्यौं र लेखकले जुन अर्थ लगाएर त्यो लेखेको छ, त्यसलाई हामीले ठीक सम्झ्यौं भनेदेखि लेखकको मृत्यु भएन तर लेखकले लेखेको कुरालाई हामीले आफ्नै अर्थले बुझ्न थाल्यौं, लेखकको अर्थ बुझ्दैनौं भने उनको मृत्यु भन्ने कुरा त्यत्ति त हो नि। तर, अब यहाँ नेर हामीले सोच्नु प¥यो— रोलाँ वार्थको ठूलो नाम देखेर उनको अनुसार हामी पनि अर्थ हुँदैन भन्नेमा जाऊँ कि, कता जाऊँ ?
रोलाँँ वार्थले यसरी लेखेका छन्— लेखकले लेखेपछि लेखक त त्यही बसिरहँदैन, त्यही कुरा ऊ सधैं बोली पनि रहँदैन, त्यो लेखकले लेखेको त टेक्स्ट मात्र रहन्छ। जीवित व्यक्तिले बोलेको सुनेको जस्तो, त्यो पाठ होइन। चित्रकलामा पनि जब हामी त्यो कलाकारको उद्देश्य बुझ्छौं, अनि मात्र त्यो चित्रलाई बुझ्दोरैछौं। हामी आफंैले चित्रकला हेरेर बुझेको भूल हुन सक्दो रहेछ। जस्तो उदाहरण पिकासोले स्पेनको एउटा विध्वंशको चित्र बनाए। त्यसमा मुनि एउटा कुकुर बसिरहेको चित्र छ। त्यो चित्रबारे कला समीक्षकहरू भन्छन्— यस्तो चित्र त केटाकेटीले पनि बनाउँछन्। तर कलाकारहरू भन्छन्— जब हामी पिकासोको अभिप्राय बुझ्छौं तब मात्र त्यो चित्र बुझ्छौं।
लीलालेखनमा पनि हामी यही भन्दैछौं— आज हामीले जानेकोलाई आज यही सत्य भन्छौं अर्को बेलामा हाम्रो आँखा अर्कै खुल्छ होला। विज्ञानमा पनि त अहिले यो सत्य भनेर एउटा हाइपोथेसिस मानिएको हुन्छ। अर्कोपल्ट त्यो काटिएर अर्कै हाइपोथेसिस बनाइन्छ। स्थिर सत्य त हुँदै हुँदैन। यसरी कुराहरू आएर मिलिरहेका हुन्छन्। त्यसो भए सत्य हुँदैन भने गहिराइ पनि हुँदैन भनेर उत्तरआधुनिकताले समातेको छ।
लीला लेखन
जब हामी तेस्रो आयाममा थियौं, हामी त गहिराइको कुरा गथ्यौं। अनि अरूले गहिराइ लेखेनन्, त्यो सतही भयो, चेप्टो भयो भनेर हामी त्यसको विरोध गर्थ्यौं। हामी बढ्यौ गहिराइलाई समातेर। तर अब आएको छ गहिराइ हुँदैन भन्ने। यो कुरामा अलिकति विचार गर्नुपर्ने छ। जस्तो भारतमा हुसेन भन्छन्, ‘मेरो आर्ट हेर, त्यो हेर्दा राम्रो लाग्छ तिमीलाई एकछिन, मनमा राम्रो लागेको फिलिङ आउँछ, मेरो आर्ट त्यत्ति हो। त्योभन्दा बढी नखोज, यसको अर्थ पनि छैन, महŒव पनि छैन। यसको गहिराइ पनि छैन।’ त्यत्ति मात्रै हो उत्तरआधुनिक आर्ट भनेको।
झापा एकदम नै सफलतम सँगले अघि बढिरहेको क्षेत्र हो। यहाँ भइराखेका कतिवटा प्रयोगहरू हामी देख्छौं। जस्तो यहाँका कृष्ण धरावासीको पुस्तक हेरौं। उहाँको आधाबाटो हामीले पायौं, त्यसभन्दा अघि शरणार्थी। शरणार्थीमा भ्रमित लेखकको सिद्धान्तलाई उहाँले अगाडि बढाउनुभयो। आईबी राई भ्रमित थिए, जयमायाको कथालाई लेखेर त्यही नै अन्त गरे, त्यो कथा त अघि पनि बढ्न सक्थ्यो, भनी भ्रमित लेखकलाई प्रमाणित गर्दै शरणार्थी उपन्यास तयार गर्नुभयो। त्यसपछि आधाबाटो आयो। आधाबाटोमा अझ अगाडि बढ्नुभयो उहाँ। त्यो अटोबायोग्राफी पनि हो, आत्मजीवनी पनि हो, किनकि यो फ्याक्चुयल छ। तथ्यहरू छ। उहाँलाई जान्ने धेरैले भन्छन्, यसमा साँचो साँचो कुराहरू छ। तर, साथै फेरि त्यो उपन्यास पनि हो। तर, अटोबायोग्राफी कसरी उपन्यास पनि हुन सक्ला ? त्यसको मुनि पिँधको कुरा हामी अलिकति हेरौं।
धरावासीले आफ्नो जीवनको यथार्थ लेख्दा त जीवनको सम्पूर्ण कुरा लेख्नुपर्ने हो। अनि पढ्न पनि हामीलाई त्यति नै लामो समय लाग्नुपर्ने हो। तर त्यस्तो त हुँदैन ! त्यसैले उहाँले चुन्दै, चुन्दै लेख्नु भाको छ त्यहाँ। यथार्थ लेखेँ भन्नु भयो, तर त्यहाँ चयन गरिएको छ। चुनाइ अटोबायोग्राफीमा पनि हुन्छ, त्यही चुनाइ उपन्यासमा पनि हुन्छ। फेरि उहाँले ती तथ्यहरूलाई इन्टरप्रियट गर्नुभा’को छ।
आफ्नो अर्थ लगाउनुभएको छ— मैले यति दुःख पाएँ, मलाई यस्तोहरूले मद्दत गरे, म भाग्यमानी भएँ त्यहाँ आदि। उहाँले अथ्र्याउनुभएको छ। त्यो अथ्र्याइ त यथार्थमा हुँदैन नि, उहाँकोबाट आएको हो नि त्यो। त्यसैगरी उपन्यासमा पनि त हामी अथ्र्याउँदै त लेख्छौं नि। त्यसैले मुनि पिँधमा त उपन्यास, इतिहास र अटोबायोग्राफीमा केही पनि भेद छैन। बाहिरी रूपमा मात्र भेद, मुनि त एकै छ। त्यसै गरेर उहाँले राधामा अर्कै काम गर्नुभएको छ।
हामीले धेरैअगाडि पढेका थियौं संजीव उप्रेतीको नेपाली अनुवाद भएको कृति ‘आलु, नौनी र कफी’। त्यसमा हामी देख्छौं एउटा गहिरो कुरा। पश्चिमी ज्ञानलाई लिएर यता पूर्वको धार्मिक ज्ञान, मन्त्रतन्त्र पनि मिसाउनुभएको छ। मिल्दो रहेछ नि त। अघि आधुनिकवादी जुगमा धर्मलाई एकदम नै हिनामी गरिन्थ्यो। यो अन्धविश्वास हो, यसलाई मान्नु हुँदैन, भनिन्थ्यो। जब विज्ञान बढेर आउँछ, धर्मको नाम निशान रहँदैन भन्थे तर जब साइन्सले नै हार मानेपछि त र धर्म पनि एउटा कथा मात्रै, साइन्स पनि अर्को कथा मात्रै भएपछि त हाराहारी एकै लहरमा त भए तिनीहरू। त्यसैले धर्मलाई हामी त्यत्तिकै त्याग्न सक्दैनौं। किनभने त्यस भित्रबाट त कत्तिवटा साहित्यिक सिद्धान्त बन्न सक्छ।
लीलालेखनलाई हामीले ज्यादा भ्रमपट्टि जोड दियौं। कान्ट भन्छन्— हामीले साँच्चै कुरा ‘थिङ इस सेल्फ’ जान्नै सक्दैनौं। हामीले जानेको सबै इल्युजन नै हो, भ्रम नै हो। भ्रम हुँदाहुँदै पनि यो कत्ति बहादुर छ कि यसले आफ्नो जीवन, आफ्नो बँचाइलाई सार्थक पार्ने कोसिस गरिरहन्छ। त्यस्तै हामीले पनि आफ्नो कुरालाई सार्थक कसरी पार्नु ? त्यसैले यसको उत्तर खोज्न धर्ममा पुग्नैपर्छ। हाम्रो धर्मले भनेको छ, यो सृष्टि किन ईश्वरले गरेको ? उनलाई त यो चाहिएको थिएन ! यो सृष्टि नगरे पनि ईश्वर त सम्पन्न नै थिए।
उनी भन्छन् यो सृष्टिचाहिँ उनले क्रीडा गर्न, खेल्न गरेको रे। कुनै व्यक्तिले बजाउन जान्दछ भने उसले त्यसलाई नबजाई बस्नै सक्दैन। त्यस्तै यो सृष्टिको कुनै अर्थ पनि छैन। तर यस्तो सृष्टिमा पनि हाम्रा दार्शनिकहरूले अर्थ खोज्न कत्ति कोसिस गरेको ? त्यसैले भ्रमलाई पनि निरर्थक भ्रम र सार्थक भ्रम भनेर दुई किसिमले पो छुट्याउनुपर्छ होला कि ? निरर्थक भ्रमचाहिँ राति डोरीलाई साँप देखेको जस्तो हो। तर, कत्ति भ्रमले त हामीलाई बाँच्न मद्दत पनि गर्दो रैछ। जस्तो बाबुआमालाई ढोग गर्नुपर्छ भनिन्छ तर किन ढोग्नुपर्छ भन्ने कुराबारे हामी प्रश्नकर्तालाई चित्त बुझाउन त सक्दैनौं। त्यो ढोग्नैपर्ने भन्ने पनि एउटा भ्रम त हो नि समाजले बनाएको। त्यसमा खास कुनै महान् अर्थ त के नै छ र ? तर त्यसरी ढोग गर्नाले हाम्रो समाज, जीवनमा एउटा सरलता बनेको त छ नि। भ्रम नै भए पनि त्यसले बाँच्न सजिलो बनाएको छ।
अब भनौं न, यो साहित्य गरेर के हुन्छ र ? जत्ति गरे पनि एक दिन हामी मरिहाल्छौं। मरेपछि मैले यस्तो लेखेको थिएँ भन्ने ज्ञान पनि रहँदैन। व्यर्थमा हामी किन अमर हुन्छौं भन्दै लेख्न मरिहत्ते गरी बस्छौं ? भित्र गढेर हेर्दा त त्यसमा केही छैन। त्यो सबै भ्रम नै हो तर पनि त यसमा एउटा सार्थकता त छ नि। भ्रममा पनि सार्थकता हुन्छ कि भन्नेमा पनि सोचौं न।
(२०६४ असारमा सासंक प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको झापा धुलाबारीस्थित निवासमा केही बुद्धिजीवीका विभिन्न जिज्ञासाबीच साहित्यकार इन्द्रबहादुर राईले व्यक्त गरेका विचार कृष्ण धराबासीले उपलब्ध गराएका हुन्।)