बहुआयामिक जीवनलीला
इन्द्रबहादुर राई (१९८४–२०७४) उर्फ इन्द्र दाजुको साहित्य साधना र प्रयोग यस्तो समयमा भयो जुन बेला यो भेक र युरोपेली साहित्यमा युगान्तकारी प्रयोगहरू भइरहेका थिए। त्यो प्रयोगको कालका केही महत्वपूर्ण साहित्यिक धारहरूमा मोडर्निज्म, फ्रान्समा चलेको जँ पोल सात्र, अलबेर क्यामुको अस्तित्ववादी साहित्य र दर्शन अनि सन् १९६८ मा भएको छोटो तर दीर्घकालीन प्रभाव पारेको प्यारिस क्रान्ति, विश्वभरि युवाहरूमा चलेको प्रयोगवाद र जीवनशैली बदल्ने बुर्जुवा मान्यताहरूबाट दिक्क भएर वैभव छोडेर अर्थको खोजीमा विश्वभरि राज्यका सीमाका रेखा भञ्जन गर्दै हिँड्ने युवाहरूका आन्दोलनहरू थिए। यी गतिविधिहरूको साहित्य र कलामा सोझो प्रभाव पर्यो। त्यो समयको तरंगले अर्को परिवर्तन ल्यायो। यो भेकमा रोमान्टिक साहित्यको गहिरो प्रभावले काम गरिरहेको अवस्थामा परिवर्तन आयो।
पश्चिमी तरंगहरू र माक्र्सवादी साहित्य हेर्ने दृष्टिहरूले यस भेकको साहित्य र चिन्तनमा ठूलो प्रभाव पारे। तर, यो समयमा अन्तर्कला वा कलाका विधाहरूको सामञ्जस्य भएको अवस्था आयो। त्यो बेला राजनीतिसमेत यो महासन्धिको एउटा अंग भयो। राजनीतिमा अमेरिका र रुसले प्रतिनिधित्व गरेका विपरीत विचारधाराले मलजल गरेको एउटा अविश्वास, संभ्रमित र अर्धविलुप्त यथार्थलाई नै सत्य भनेर प्रचार गर्ने संस्कृतिको रचना भयो। पश्चिमी साहित्यमा, खासगरी फ्रान्सेली साहित्यमा यो सन्धि चेतनाको प्रयोग भयो।
जँ पल सात्रका उपन्यासको अन्तिम कडी ‘फलामे आत्मा’ उपन्यासमा युद्धमा भाग लिइरहेको प्राध्यापक मेथ्युले हानेको लक्षहीन गोली एउटा त्यो युगको विसंगत मुड र जटिलताको प्रतीक भयो। तर, कलाका अन्तर्विधाले साहित्यमा सोझो प्रभाव पारेको कुराले समीक्षामा प्रभाव पार्यो। तर, नेपाली साहित्यमा त्यो चेतनाको प्रभाव प्रस्ट रूपमा इन्द्रबहादुर राई उर्फ इन्द्र दाजुको समालोचनामा देखियो। ‘नेपाली उपन्यासका आधारहरू’ (१९९४) र ‘कथास्था’ (१९७२)मा पहिलोपटक अमूर्त कला, साहित्य र यस्तो चेतनाको संयोग गरेर इन्द्र दाजुले समालोचना लेखे। इन्द्र दाजुको लेखन पद्धतिमा माथि उठाइएको चेतना प्रवाहको प्रभाव बलियो गरी परेको देखिन्छ।
इन्द्र दाजुको साहित्य साधना र लेखनको अन्तर्य बुझ्न माथि उठाइएको विचार र प्रयोगको तरंग बुझ्नैपर्ने हुन्छ। उनको विषयमा साधारण सूचनाहरू जालसञ्जालहरूमा जताततै भेटिन्छन्। उनको विषयमा नेपालका पछिल्लो समयका युवा लेखक र समीक्षकहरूले लेखेका किताब र आलेखहरू पाइन्छन्। तर, मूल रूपमा इन्द्र दाजुको साहित्य साधना र तीन आयामिक जीवनलीला बुझ्न उनको अन्तर्राष्ट्रिय साहित्यिक आन्दोलनको तरंग र स्थानीय रंगको संयोग बुझ्नैपर्ने हुन्छ। इन्द्र दाजुका उपन्यासमा त्यो अत्यन्त स्थानीय चित्र र त्यसबाट उठेका वैश्विक साहित्यका चिन्तनको भयानक संगम भेटिन्छ। ‘आज रमिता छ’ (१९६४), ‘दार्जिलिङमा नेपाली नाटकको अर्ध शताब्दी’ (१९८१), ‘कथास्था’ (१९७२) र ‘विपना कतिपय’ (१९६१) मा उनका संकलित कथाहरूमा स्थानीयता र वैश्विक चेतनाको सूक्ष्म संचेतना भेटिन्छ। अरू पछिका कृतिमा माथि सुरुमा उठाइएको संचेतनाको प्रयोग भएर आएको छ जसको विषयमा विस्तृत समालोचना लेखेर मात्र व्याख्या गर्न सकिन्छ।
इन्द्र दाजु ९० वर्षको उमेरमा दिवंगत भएको समाचार बिर्तामोडमा आधाराततिर थाहा पाएँ। स्तब्ध भएँ। लाग्यो, भोलि बिहानै सिलिगुडी जान्छु र उनको अन्तिम दर्शन गर्छु, तर इन्द्र दाजु समाधीस्थ हुने दिन र थलोमाथि दार्जिलिङमा केही दिनपछि हुने रहेछ। अलिक अस्वस्थ पनि भइबसेकोले जान सकिनँ। बिहानै दीपक सापकोटाले फोनबाट एउटा संस्मरणको पाठ लेखिदिन भनेपछि एउटा अनौठो झरीमा रुझेजस्तो भयो। सम्झेँ, दीपकले उनको सम्पादनमा प्रकाशित ‘पाण्डुलिपि’ मासिक पत्रिका (वर्ष १, अंक ४, २०७१ साउन)मा इन्द्रबहादुर राईमाथि ४० पृष्ठ लामो राम्रो विशेषांक निकालेका थिए। लेख्न बसेँ, इन्द्र दाजुको विषयमा आरम्भ र अन्त्यको मेलोमेसो पाइनँ। अनेकौं विचार र भावनाहरूको वर्षा भयो। लाग्यो, यही वर्षामा रुझेर बस्छु। जे आउँछ अहिले त्यही लेख्छु। यो छोटो लेख त्यही रुझानको आलेख हो।
पछि पश्चिमी साहित्यको विद्यार्थी र अध्येता भए“ जुन क्रम मेरो जीवन भएको छ। बौद्धिक, वैचारिक र भावनाको त्रिवेणी नै साहित्य हो भनेर झन्डै मान्यता बनाउन लागेको एक युवकको निम्ति एउटा अति महत्वपूर्ण घटना भयो। सन् १९६३ मा दार्जिलिङबाट एउटा सानो साहित्यिक पत्रिका उड्दै तेह्रथुमको म्याङलुङ बजारमा आइपुग्यो। त्यसको साधारण रूपले अपरिचित शीर्षक थियो ‘तेस्रो आयाम’। त्यो पत्रिका मेरोनिम्ति एउटा आरम्भ थियो। त्यसमा थोरैमा सम्पादकीय विचार र केही कविता र आलेख थिए। तर, त्यो पत्रिका एउटा पहिलो चेतनाको आरम्भ थिएन, पछिबाट बुझ्दै जाँदा त्यो इन्द्र दाजुको माथि उल्लेख गरिएको साहित्यको एक संगम चेतनाको परिणाम थियो।
त्यसको सम्पादकीय (वर्ष १, अंक १, २०२०÷१९६३)मा इन्द्र दाइले लेखेका थिए, ‘अबको साहित्यलेखनले मानिसको सम्पूर्णतालाई उचाल्न सक्नु पर्दछ। मानिस आँखा मात्र, कान मात्र, मन मात्र होइन। ऊ जम्मै इन्द्रिय, हृदय, मस्तिष्कको उपज हो र अब लेखिने प्रत्येक वाक्य र पंक्तिले उसको सम्पूर्णतालाई समाउनु पर्छ, उचाल्नुपर्छ। यै गर्न हाम्रो प्रत्येक कृतिले तृतीय आयाम आफूमा ल्याउन सक्नुपर्छ। दुःख पाउने मान्छेको कथा वा कविता त्यो यौटा मान्छेले दुःख पाएको कथा वा कविता मात्रमा सीमित नरहोस्। त्यसले उठ्न सकेर त्यो टुक्रा कुराको पछि एउटा विशाल विचार बसेको होस्, उँभोतिर एउटा दर्शनको आकाश टाँगियोस्, त्यो एउटा टुक्राले राजनीति बोकोस्, सामाजिक भाष्य बनोस् त्यो। त्यो ‘मात्र’ भन्दा धेरै धेरै अरू कुरा होस्।
यै धेरै– हरू हो ‘तेस्रो आयाम’।’
यो सम्पादकीयको भाष्य मेरो निम्ति नौलो थियो। यसले उजागर गरेका विचार र भावका संरचनाहरू नौला थिए। मैले उत्तेजित भएर एउटा समालोचनात्मक लेख लेखेँ। त्यसमा मेरो वय र अध्ययनको सीमा थियो। तर, पनि आफूले बुझेका कुरा राखेर ‘आधुनिक कविता र दार्जिलिङका केही तन्नेरी कविहरू’ शीर्षकको समालोचना लेखेर ‘रूपरेखा’ साहित्यिक पत्रिकामा पठाएँ। तर त्यो लेखलाई इन्द्र दाजुले ‘हामीलाई नेपालमा चिनाउने र हाम्रोबारे लेख्ने पहिलो समालोचक अभि भाइ हो’ भनेर बारम्बार भनिरहे। आफै ठिटो मान्छे तर तन्नेरी कविहरू भनेर लेख लेखेको कुरालाई मैले खुलेर लिन गाह्रो थियो। तर, उनको भनाइले सधैं कृतज्ञ भए“। अनेकौं लेख लेखेँ। छलफलहरूमा सामेल भए“। नेपाली र अंग्रेजी माध्यमका सेमिनारहरूमा ‘तेस्रो आयाम’ र इन्द्र दाजुको साहित्यिक विचारबारे लेखेँ। तर, जुन आरम्भ थियो मेरोनिम्ति त्यो पछि र अहिले पनि म र मैले पढाएका विद्यावारिधि गराएका विद्यार्थीहरूसम्म एउटा महत्वपूर्ण साहित्यको शिक्षा थियो। त्यो मैले इन्द्र दाजुका विचार र साहित्यिक चिन्तनबाट पाएको थिए“। इन्द्र दाजुलाई भेटेपछि र उनका लेखहरू पढेपछि मलाई एउटा कुराको प्रभाव पर्यो, जुन प्रभावले नेपाली साहित्यमा केही मान्यता स्थापित भए। ती मान्यताले मलाई सधैं नेपाल र विश्वकै साहित्य बुझ्ने आधार मिलेको कुरा स्वीकार गर्न चाहन्छु।
आज इन्द्रबहादुर राई उर्फ इन्द्र दाजु दिवंगत भएको यो शोकको घडीमा श्रद्धाञ्जलिका यी केही शब्दहरू लेख्न बस्दा मलाई एउटा महान् युगको अन्त्य भएजस्तो लागेको छ।
अर्को प्रसंग जोड्न चाहन्छु। नेपाली साहित्यमा विचार र अत्यन्त सिर्जनशील चेतनालाई सचेष्ट संयोग गराउने अथवा ‘मेटा लिटरेरी’ प्रयोग गर्ने व्यक्ति बालकृष्ण सम (१९५९–२०३८) र इन्द्रबहादुर राई हुन्। त्यो एउटा चाखलाग्दो समीक्षाको प्रसंग छ। समलाई मैले काठमाडौंमा आईएको विद्यार्थी हु“दा पहिलोपटक भेटेँ, अनि उनीसँग पछि धेरै नजिकको सम्पर्कमा रहेँ। उनबाट साहित्यमा विचार कसरी आउ“छ अनि त्यो कसरी साहित्यको अभिन्न अंग हुन्छ र हुनुपर्छ भन्ने कुरा पहिलोपटक थाहा पाएँ।
कवितालाई समेत उनले बौद्धिक कोमलता हो भनेर मानेको आधार गहिरो लाग्यो। यो प्रभावमा परेको छँदा मैले एउटा लेख लेखेर ‘रूपरेखा’मा छपाए“। त्यसको शीर्षक थियो, ‘बालकृष्ण सम : आयामिक गद्यका प्रथम प्रयोक्ता।’ यो लेखले साहित्यिकहरूबाट अनेकौं प्रतिक्रिया जन्मायो। समको प्रयोगात्मक गद्य, अधिचेतना, अनि विम्बहरूलाई विचारको ओजले भंग गरिदिने जस्ता कुरा लेखेको थिएँ, त्यसमा। उता दार्जिलिङतिर पनि त्यसको चर्चा चलेछ। कसैले साभार पनि छापेछन्। इन्द्र दाजुको चिठी आयो। सुन्दर अक्षरमा पातलो कागतमा लेखेको त्यो चिठी मेरो समालोचना शिक्षाको एउटा कोशेढुंगा हो। त्यो चिठी अहिले पनि मसँग सुरक्षित छ। त्यसमा इन्द्र दाजुले लेखे, ‘अभि भाइ, संझना छ ले लेख्दैछौं।’ त्यो चिठीमा इन्द्र दाजुले मेरो एउटा तर्कको खण्डन गरेका छन्।
उनले विम्बवाद वा ‘इमाजिज्म’ र तेस्रो आयामले भनेको सम्पूर्ण चेतना वा अभिव्यञ्जना एउटै होइनन् भन्ने कुरा सरल भाषामा लेखेका छन्। मैले कुरा बुझेँ, समको गद्य र इन्द्र दाजुले भनेको र लेखेको आयामिक गद्य एउटै थिएनन्। इन्द्र दाजुले गरेको भेद एकदम सही थियो। पछि साहित्य समालोचनाका गम्भीर अध्ययन गर्दै गर्ने क्रममा यो कुरा मलाई झन् प्रस्ट भयो। मैले त्यो इन्द्र दाजुको मलाई लेखेको चिठी ‘रूपरेखा’ पूर्णांक १९७ मा छपाए“। इन्द्र दाजुले यस कुराको प्रशंसा गरे। तर भने, साहित्यिक छलफलहरू भइरहनु पर्छ, हुँदैन, हाम्रो कमजोडी त्यही हो।
‘तेस्रो आयाम’ समूहले पछि विस्तृत दर्शनको छुट्टै ग्रन्थ निकालेन। बैरागी काइँला र ईश्वरवल्लभका महत्वपूर्ण आलेख भने आइरहे। तर, मैले सुरुमै भनेको वैश्विक साहित्यिक आन्दोलनको धार त्यतिमा सीमित हुने थिएन। त्यो एउटा निरन्तर प्रवाह भइरहेको शक्ति थियो। त्यसलाई इन्द्र दाजुबाहेक अरू कसैले पनि बुझेर अगाडि लाने सन्दर्भ र परिस्थिति थिएन। ‘तेस्रो आयाम’सँग जोडिएर केही अधिसाहित्यिक भाष्य र चिन्तन आए। आयामिक लेखनले उठाएका शब्दावली थिए। त्यसमा ‘सम्पूर्णता, तत्क्षणता, अर्थनिरपेक्षता र वस्तुता’, अनि सिंगो, झ्वाम्म अनि उचाइ, लम्बाइ, गोलाइ र घनत्वजस्ता ज्यामितीय र स्कल्पचरमा प्रयोग हुने शब्दावली त्यसमा प्रयोग भए। बैरागी काइँलाले इन्द्र दाइले भनेका तलका हरफहरूलाई उद्धरण गरेको कुरा महत्वपूर्ण मान्नुपर्छ। इन्द्र दाइ वस्तुता र ज्ञानको सन्दर्भमा भन्छन्, ‘वस्तुको स्वातन्त्र्य ‘वस्तुता’ हो, ज्ञानका विषयवस्तुको वा चेतना आफैंको वस्तुता अनावरण ‘वस्तुता’ हो। हाम्रो ज्ञानदेखि, हामीदेखि नै वस्तुहरू पूर्णतः स्वतन्त्र रहेछन् भने हामीले ओढाइदिएका अर्थहरू, हामीले टाँसिदिएका मूल्यहरूदेखि समेत ती स्वतन्त्र छन्। आत्मगत जम्मै आक्रोश वा कौमल्यदेखि स्वतन्त्र छन्। अर्थ–मूल्य–निरपेक्ष वस्तु याथार्थिक, स्वारूपिक, अनावृत, वस्तु छ। वास्तवमा यी विशेषणहरू पनि छाडिएर वस्तु पर आफैं मात्र निक्खर स्थित छ।’ (कथास्था, १९७२ : ८७)।
वस्तुताको स्वतन्त्र अस्तित्व विषयमा पश्चिमी दर्शनमा धेरै व्याख्या र छलफल भएका छन्। तर, पश्चिमी विचारलाई सन्दर्भमा ल्याए पनि इन्द्र राई यताको परम्परासँग जोडेर जोडदार अर्थ निकाल्नसक्ने सामथ्र्य राख्थे। बालकृष्ण समको यही सामथ्र्यले मलाई खिचेको थियो। ‘रूपरेखा’, पूर्णांक २०० (२०३४) मा प्रकाशित ‘भ्रान्तिहरू र लीलालेखन मात्र’ लेखमा इन्द्र दाजुले अर्थ बहुलताबारे तल लेखेको भाष्यमा त्यो सन्धि र विचारको समन्वय गर्ने एक सचेष्ट र प्रबुद्ध अनि सिर्जनशील साहित्यकारको चिन्ता भेटिन्छ। इन्द्रबहादुर राई लेख्छन्, ‘कृष्ण सभामा पस्ता, भागवत् १०÷४३÷१७ मा बताइन्छ, मल्लहरूले बज्र रूप देखे, स्त्रीहरूले मूर्तिमान कामदेव देखे, सामान्य मानिसहरूले नर–रत्न, गोपहरूले स्वजन, शास्ताहरूले दण्डकर्ता, वसुदेव र देवकीले शिशु देखे, कंशले कराल मृत्यु, अविदुषले विराट्, योगीहरूले परम्तŒव, वृष्णीहरूले इष्टदेव देखे (यसको विस्तारित व्याख्याका लागि हेर्नोस् पं. वासुदेव भट्टराईको श्रीमद्भागवत महापुराण, द्वित्तीय खण्ड, पृ.२२८)।’
अर्थहरूको बाहुल्य अवतारको विषयमा पश्चिमी उत्तरआधुनिकतावादले यति राम्रो साम्य गराएर लेखेको मलाई थाहा छैन। सबै देशका परम्परामा साहित्य हेर्ने, अर्थ खोज्ने कामहरू हुन्छन्। साहित्य सिद्धान्तको मूल मर्म र दर्शन भनेको अर्थ हो। पश्चिमी र यताको दर्शनको साझा चरित्र भनेको अर्थ हो, अर्थको निराकरण र खोजी हो। त्यही विषयले पछि साहित्य सिद्धान्तमा प्रवेश पाएको हो। अहिलेको ‘लिटरेरी थ्योरी’को मूल चिन्ता भनेको त्यही अर्थ हो। अर्थ कहिले लाग्छ र कसले लगाउ“छ भन्ने आजको थ्योरी प्रभावित समालोचनाले छलफल गरेको विषय हो। साहित्य समालोचनामा अर्थको अर्थ अर्कै हुन्छ।
समालोचक अर्थ खुट्याउने मानिस हो भनेर समालोचक भन्छन्। तर, सही अर्थ खुट्याउने मनुवा पाठक हुन् भन्ने आजको भनाइ छ। जाक डेरिडा, सम, इन्द्र राई जस्ता साहित्य र दर्शन मिलाउने चाख भएका विद्वान् छन्। तर, डेरिडा भन्छन्, अर्थहरू नलाग्ने होइनन् तर ती स्थगित भएर बस्छन्, ती सोझै खुल्दैनन्। यो बहसले सबैतिर छोएको छ। कला र संगीतमा पनि यो विषयको छलफल छ। इन्द्रबहादुर राईका आयामदेखि लीलालेखनसम्मका अभियानमा समेटिएका विचारको छलफल गर्ने यो लेख होइन, तर पनि यत्ति भन्छौं, इन्द्र दाजु यस्ता लेखक थिए जसले अर्थहरूबारे दर्शन जन्माए तर अर्थ ठोकुवा गर भनेर कहिल्यै भनेन्।
तिनले साहित्यलाई लिएर अनेकौं मन्थन गर्ने आधार बनाए, तर तिनले यत्ति मात्रै मन्थन गर भनेर कहीँ किटान गरेनन्। तिनका विचारको व्याख्या गर्नेहरू तिनका आधी कुरा बुझेर इन्द्रबहादुर राईले अर्थनिष्पत्तिका यस्ता निर्देशन दिएका छन् भनेर लेखेका पढेको छु। त्यो एकदम गल्ती व्याख्या हो, इन्द्र राईको साहित्यजनिन दर्शनको। इन्द्र दाजुको साहित्यको मूल स्पन्दन भनेकै पाठकको मुक्ति हो। ‘अर्थहरूको पछिल्तिर’ (१९९४) राम्ररी पढ्नेले यो कुराको सार बुझ्न सक्छन्। बालकृष्ण समको सामथ्र्य पनि त्यही थियो। तिनी अर्थहरू भनेको दार्शनिक र साहित्यिक अभिव्यञ्जनाले रञ्जित चेतना हो जुन मुक्त विषय हो भनी मान्थे। इन्द्र दाजु समलाई अत्यन्तै मान्थे। त्यसको कारण त्यही साम्य हो भन्ने मलाई लाग्छ।
यो छोटो लेखमा अलिक जटिल कुरा पनि राखिए। तर, अहिले इन्द्र दाजुको शोकमा परेको छँदा म तिनको अत्यन्त सरल, प्रेमालु र सहज सिर्जना गर्नसक्ने सामर्थ्यलाई सम्झिन्छु। इन्द्र दाजुलाई जगदम्बा श्री पुरस्कारको निम्ति नोमिनेसन् गर्ने क्रममा हामी (केदार शर्मा भाइ, म र केही जना)ले कारणहरू खोलेर प्रस्ताव राख्यौं। चलन त्यस्तै रहेछ। एकमात्र मलाई आमन्त्रित जगदम्बा मिटिङमा म गएँ। राजेश्वर देवकोटा पनि थिए। उनले भने, ‘अभिजी, मलाई इन्द्रबहादुर राईको ‘हामीजस्तै मैनाकी आमा’को अर्थ खुलाइदिनुहोस्।’ देवकोटा निर्णायक मण्डलका एक प्रमुख मानिस रहेछन्। अर्को सानो भेट मिलाएर केही मानिसको उपस्थितिमा मैले उनलाई त्यो महान् कथाको व्याख्या गरेँ। देवकोटाले भने, ‘यो कथाका लेखकका यस्ता उदात्त, सरल, कलात्मक, चिन्तनमय र मुक्त विचारको मलाई तपाईंले जुन परिचय दिनुभयो, म त्यो कहिल्यै बिर्सनेछैन।’
मेरानिम्ति यो घटना चाखलाग्दो थियो। इन्द्र दाजुलाई बुझ्न सरलता, काल्पनिक सामथ्र्य, सिर्जनशील शक्ति, दार्शनिक गहिराइ, पश्चिमी र यताका चिन्तन परम्पराको सम्यक ज्ञान आवश्यक छ। नेपालका पाठक इन्द्र दाजुलाई धेरै सम्मान गर्छन्। नेपालका लेखकहरूले किताबकै रूपमा उनको विषयमा लेखेका छन्। उनका विचार र शैलीबाट प्रभावित भएर आफ्ना साहित्यिक रचना गरेका छन्। यो छुट्टै छलफलको विषय हो। आज इन्द्रबहादुर राई उर्फ इन्द्र दाजु दिवंगत भएको यो शोकको घडीमा श्रद्धाञ्जलिका यी केही शब्द लेख्न बस्दा मलाई एउटा महान् युगको अन्त्य भएको जस्तो लागेको छ। तर, युग जीवन्त राख्ने जीवन्तहरूको कर्तव्य हो।
इन्द्र दाजु, सम्झना छ। यस्तै लेख्तै छौं।