गुलाफ

गुलाफ

मानिसहरूको घेराबन्दीमा थियो लास !

मृतक बालिका थिई, अन्दाजी तेह्र–चौध वर्षकी।

मानिसहरू कुतूहल भावले लास हेरिरहेका थिए। हुन त म पनि तिनै मानिसहरूको हूलमा थिएँ तर ती मान्छेहरूभन्दा अलि बढी नै शोकमग्न !

अकासे नीलो सर्ट र गाढा नीलो फ्रक लगाएकी थिई उसले। लुगाबाटै छुट्याउन सकिन्थ्यो— ऊ स्कुले विद्यार्थी हो। उसको अनुहार गोरो र सफा थियो। जीवित अवस्थामा ऊ निकै राम्री देखिन्थी होला !

लासलाई अँगालो हालेर एउटी प्रौढ भक्कानो छोड्दै थिइन्, ‘ए मेरी छोरी, मेरो मुटुको टुक्रा ! हामीलाई किन यसरी चटक्क छोडेर गइस् गुलाफ !!’

‘गुलाफ’, यो नामले मृतक बालिकाप्रति मलाई झन् गम्भीर, अझ संवेदनशील बनायो। मैले एकटक केटीको अनुहार हेरिरहेँ। उसको गोरो अनुहार क्षणप्रतिक्षण फुस्रो हुँदै गइरहेको थियो।

अचानक मेरो दृष्टि उसको घाँटीमा पर्‍यो। त्यहाँ कालो सलको गलपासो थियो। ओह ! के उसले आत्महत्या गरी ? मेरो मनमा अनेकौं प्रश्न उब्जिए। उसको मृत्यु अस्वाभाविक थियो तर मेरा प्रश्नहरू स्वाभाविक थिए।

त्यो केटी अर्थात् गुलाफको हत्या भएको होइन। सायद ऊ आफैँ मरेकी हो। उसकी आमाले भक्कानिएर भनेका मार्मिक शब्दहरूको आशय त्यस्तै थियो। उसले आफ्नै मर्जीले यस दुनियाँसँग नाता तोडेको देख्ता म स्तब्ध भएँ !

आखिर कुन दुःखका कारण मरी ऊ ? यो अमूल्य जीवन किन मूल्यहीन लाग्यो उसलाई ! जीवनको सार केलाउन सक्ने उमेर पनि भएको होइन उसको। कुन असह्य पीडाले पासो लागेर मर्न विवश पार्‍यो उसलाई ?

मेरो मनमा उब्जिएका प्रश्नहरू अनुत्तरित थिए।

आँगनमा पसारिएको लासमाथि छाँद हालेर रुनेको संख्या त घट्तै थियो तर लासतिर टोलाएर हेर्दै आँसु खसाल्ने मानिसहरू अझै बाँकी नै थिए—

‘कठै ! किन मरी होली बिचरी !’

‘खाऊँखाऊँ लाऊँलाऊँ भन्ने उमेरमा यो गति भयो बिचरीको !’

‘पासो लगाएर मरी, उसको आत्माले मुक्ति नपाउने भो। न बाँच्ता सुख पाई, न मरेपछि नै पाउने भई !’

‘यो सानै उमेरमा आफैँ पासो लगाएर के मर्थी ? कसैले मारेको होला !’

‘छोरो भएको भए यसरी के मर्थ्यो, छोरी न परी !’

मानिसहरूका अनेक तर्कना भए पनि मेरो दिमागमा भने अर्कै गुलाफ घुमिरहेकी थिई, जसलाई मैले बाल्यकालमै देखेको थिएँ।

त्यस बेला मेरो उमेर त्यस्तै तेह्र–चौध वर्ष हुँदो हो। गलपासो लाएर मरेकी गुलाफको उमेरसँग ठ्याक्कै मेल खान्थ्यो मेरो उमेर।

उसको बारेमा जसले जे भने पनि मलाई साह्रै मन पर्थी ऊ अर्थात् गुलाफ !

०००

दसैं, तिहार, बिहेको उत्सव र मेलाहरूमा बेसुमार नाच्थी गुलाफ। नाच देखेरै म उसप्रति आकृष्ट भएको थिएँ।

उसका गोरा गोडामा बाँधिएका घुँगरू जब बज्न थाल्थे, मादलको ताल पनि धीमा प्रतीत हुन्थ्यो। घुँगरुको संगीतको तालअनुसार ऊ आफ्नो शरीरको चाल मिलाउँथी। एकैपटक गोडामा बाँधिएका घुँगरुको छमछम र उसको सुन्दर अनुहारको हाउभाउ हेर्न मुस्किल पथ्र्यो। ऊ जहाँजहाँ नाच्थी, मान्छेहरू त्यतै ओइरिन्थे। म पनि लाग्थेँ पछिपछि— गुलाफको जादुमयी नाच हेर्न।

‘गुलाफ ! गुलाफ ! गुलाफ !’

मान्छेहरू उत्तेजित हुँदै चिच्याउँथे। गुलाफले एउटा छड्के नजर लगाइदेओस्— मान्छेहरूको तीव्र चाहना हुन्थ्यो। उसको गुलाफी अनुहारमा ज्यान फाल्ने धेरै थिए। उसको जादुमयी नाचमा मरिहत्ते गर्ने पनि कैयौं थिए। वास्तवमा गुलाफ साँच्चिकै गुलाफ थिई। त्यो फूलरानी भारेभुरेलाई कहाँ टेर्थी र ? उसको कलाका पारखी सबै हुन सक्थे तर उसको मनको पारखी हुने भाग्यमानी थोरै थिए। सायद ती थोरै भाग्यमानीहरूभित्रै पर्थें म।

‘ए पोक्चे बाबु, भोलि मेला जाने होइन ? ’ एक दिन गुलाफले मतिर हेर्दै भनी। ऊ नाच सिद्ध्याएर घर जाने तरखरमा थिई। मेरा गोरा गाला पुक्क परेका हुनाले ऊ मलाई ‘पोक्चे बाबु’ भन्थी।

मैले लजाउँदै उसका ठूलठूला आँखामा हेरेँ। ऊ मुसुक्क हाँसी।

‘मसँग लभ पर्‍या हो बाबु ? ’ ऊ फेरि हाँसी उन्मुक्त भएर।

गुलाफ मेरो नजिक आई र कोमल हातले मेरो पुक्क परेको देब्रे गाला चिमोटी। मलाई के गरूँ कसो गरूँ भयो। खुसीले मेरो मन आह्लादित भइरहेको थियो। अनायास मैले उसको हात समातेँ। र, समातिरहेँ। मेरा कलिला हातको अबोध स्पर्श पाएर हो कि, ऊ पनि खुसी देखिई।

‘आब्बुई ! तिमीले त मेरो हात समायौ राजा, मसँग बिहे गर्छौ ? ’ गुलाफको हाँसो घन्कियो फेरि।

मैले अचानक उसको हात छोडेँ। मेरो अनुहार कालोनीलो भइरहेको थियो।

‘मैले ठट्टा गरेको पो त मेरो राजा ! यत्तिकैमा आत्तिनुपर्ने ? ’ गुलाफको हाँसोले फेरि वरिपरिको वातावरण रोमाञ्चक बन्यो। मैले आफूलाई सहज अनुभव गरेँ।

‘गुलाफ तिमी कति राम्रो नाच्छ्यौ।’ मैले हतारिएर भनेँ। ऊ जान लागेकी थिई तर टक्क रोकिई र मायालु नजरले हेरी मलाई।

‘मैले त्यसै तिमीलाई कहाँ ‘राजा’ भनेकी हुँ र पोक्चे बाबु ! धेरै मान्छे मेरो नाचभन्दा पनि मलाई मन पराउँछन् ! तर तिमीले मेरो ‘नाच मन पर्छ’ भन्यौ। ओहो ! कति खुसी लाग्यो आज।’ गुलाफ भावुक देखिई।

‘यो खुसीमा आज चुरोट खुवाऊ न राजा !’

गुलाफको आग्रह सुनेर मक्ख परेछु म, दौडँदै गएँ पसलमा। एक बट्टा लालीगुराँस चुरोट ल्याएर उसको हातमा राखिदिएँ।

गुलाफले बट्टाबाट एक खिली चुरोट निकाली। सलाई कोरेर सल्काई र लामो कस लिई। अनि, मतिर हेर्दै धुवाँ फाली।

‘तिमी पनि मलाई चुरोट बनाऊ न राजा !’ गुलाफ खितखित गर्दै हाँसी। मैले ट्वाल्ल परेर उसलाई हेरिरहेँ।

‘तिमी सानै छौ राजा ! यस्ता कुरा कहाँ बुझ्छौ र !’ गुलाफका चञ्चल आँखामा कुनै रहस्य लुकेको थियो तर त्यतिखेर मैले त्यो रहस्य बुझ्न सकिनँ।

‘मलाई केही कुरा भन्न खोजेको हो राजा ? ’ गुलाफ बोली।

‘मेरो घरमा पनि नाच्न आऊ न गुलाफ !’ आत्तिँदै बोलेँ म।

उसले मेरो गाला चिमोट्तै भनी, ‘आउँछु एक दिन। त्यो दिन मसँग तिमी पनि नाच्ने है पोक्चे बाबु !’

म खुसी हुँदै चिच्याएँ, ‘म पनि नाच्छु गुलाफ, तिमीसँगै।’

जाने बेलामा उसले फेरि भनी, ‘भोलि मेलामा मेरो नाच छ। हेर्न आउनु है !’

ऊ गई मेरो मनमा मीठो प्रभाव छोडेर। म भने ‘भोलि कहिले होला’ भनेर प्रतीक्षा गर्न थालेँ।

मेलामा गुलाफको नाच !

गाउँ, बस्ती, बजार उर्लिएको थियो नाच हेर्न। म पनि बिहानै पुगेको थिएँ मेलामा, खानै नखाई— गुलाफको नाच हेर्न। तर, नाच साँझ मात्र हुने थाहा पाएपछि दिनभर बजार घुमेँ। भोक लाग्यो। दुइटा समोसा र चिया खाएँ। ‘कुन बेला फेरि गुलाफले चुरोट माग्ने हो !’ चुरोट किन्ने पैसा बचाएर राखेँ। र, साँझ नपरुन्जेल नीमको रूखमुनि भुइँमा पराल बिछ्याएर निस्लोट सुतेँ।

साँझ परेपछि पसलेहरू पेट्रोमेक्स बाल्न थाले। बजार उज्यालियो। गुलाफ मेलामा आएपछि बजार झन् उज्यालो भयो। मान्छेहरू गुलाफ नाच्ने मञ्चको छेउतिर दौडिए। एकैछिनमा सबै पसल बन्द भए।

मञ्चमा गुलाफको नाच सुरु भइसकेको थियो। म भीड छिचोलेर अगाडि जान सकिरहेको थिइनँ। त्यसैले रुन थालेछु। म रोएको देखेर एक जना भलाद्मीले मेरो हात समातेर अगिल्लो पंक्तिमा लिएर गए, जहाँबाट म गुलाफलाई प्रस्ट देख्न सक्थेँ।

‘झुट बोले कौवा काटे, काले कौवे से डरियो,

मैं माइके चली जाउंगी तुम देख्ते रहियो।’

त्यस जमानाको सुपर हिट हिन्दी गीतमा नाचिरहेकी थिई गुलाफ। ढोलक ढोल बजाइरहेको थियो। तबल्ची तबलामा व्यस्त। रमितेहरू थपडी मारिरहेका थिए। म भने गुलाफलाई मात्र हेरिरहेको थिएँ, ‘आज औधी राम्री देखिएकी छे गुलाफ !’

त्यसै राम्रो गुलाफको अनुहारमा आज झन् पाउडर दलेकी थिई। ओठको लाली र आँखाको गाजलले साह्रै खुलेको थियो !

‘माइती किन जानुपर्‍यो मेरी प्यारी ! तिम्रा लागि मेरो ज्यान हाजिर छ !’

अघिल्लो पंक्तिमा बसेका रमितेहरूमध्ये एउटा जोडले करायो।

सबैले ताली पिटे। हाँसोको पर्रा छुट्यो। मलाई भने ती कुराहरू ठीक लागिरहेका थिएनन् तर अचम्म ! दर्शकहरूले जे भने पनि जवाफमा गुलाफ मुस्कुराइरहेकी थिई। उसको अनुहारमा लेस मात्र पनि क्रोधका भावहरू देखिएनन्।

‘झुट बोले कौवा काटे...’

गीत गाउँदै एउटा पुरुष मञ्चमा उक्लियो। उसले गुलाफको हात समात्यो र नाच्न थाल्यो। रमितेहरूको भीड सिट्ठी फुक्न थाल्यो, ‘लैजाऽ लैजाऽ नछोड् !’

मान्छेहरू छाडा शब्द बोल्न थालिसकेका थिए। म गुलाफका शब्दहरू सम्झिरहेको थिएँ, ‘मान्छेहरू मेरो नाचभन्दा मलाई मन पराउँछन् !’ हो, त्यहाँ मान्छेहरू गुलाफको नाच हेरिरहेका थिएनन्। गुलाफलाई नै हेरिरहेका थिए। गुलाफका अंगप्रत्यंगहरू लोभी नजरले हेर्दै निलूँलाभैmँ गरिरहेका थिए। अर्थात् तिनीहरू गुलाफलाई पाउने भित्री चाहना प्रकट गरिरहेका थिए। मलाई भने असह्य भइरहेको थियो।

त्यो मान्छेले गुलाफलाई अँगालो हाल्दै, नाच्तै मञ्चबाट तल लिएर आयो। अग्रपंक्तिका कुर्सीमा सायद ठूला मान्छे बसेका थिए।

‘आहा बनमा फुल्यो फूलैफूल, बास्ना चल्यो मनैमा...!’

गुलाफको सुरिलो स्वर फेरि लहरियो तबला र हार्मोनियमको सुमधुर संगीतसँगै। गुलाफ घुँगरुको साज छेड्दै नाच्न थाली। नाच्तानाच्तै ऊ एउटा पुरुषको काखमा बसी। त्यो मान्छेले गुलाफको गाला मुसार्‍यो र म्वाइँ खायो। गुलाफलाई फेरि अर्को मान्छेले तान्यो र सर्वांग छाम्यो। गुलाफको मुस्कुराहट झन् गाढा हुँदै गयो।

‘ओह ! गुलाफ, तिमीले यो के गर्‍यौ ? ’ मेरो मन चित्कार गरिरहेको थियो। मेरा आँखाबाट अनायासै बलिन्द्र धारा आँसु खस्न थाले। मैले चाहेर पनि रोक्न सकिनँ आफ्नो आँसुको भेल।

मैले गुलाफलाई हेर्न छोडेँ। मान्छेहरूको हाँसोको बीचमा निसासिइरहनु सह्य भएन। त्यसैले भीडबाट निस्केँ र राति नै मैले मेला छोडेँ।

मध्यरात हुँदो हो। अभिशप्त मन लिएर गाउँको एकलास गोरेटोमा एक्लै आफ्ना पाइलाहरू बढाइरहेँ। झिसमिसेमा घर पुगेँ र कोठाभित्र छिरेर ढोका लगाएँ।

“त्यो बदिनीको नाच हेर्न पुगेन तँलाई। रातभर आबारा बनेर घुम्या छ, घुम्या छ। थुक्क पाजी !” माथिल्लो तलाबाट आमाको विरही रौद्र स्वर मेरा कानमा पर्‍यो। सायद उनी रातभर मेरै बाटो हेरिरहेकी थिइन्। म केही नबोली ओछ्यानभित्र घुस्रिरहेँ।

गाउँबस्तीमा गुलाफको घुँगरुको आवाज गुञ्जिन छोडेन तर बाआमाको डरले मैले गुलाफको नाच हेर्न जानै छोडेँ। मनको चरो उडेर जान खोज्थ्यो भुरुरु गुलाफको पछिपछि तर त्यसलाई बलजफती मनकै पिँजरामा थुनेर राखेँ मैले।

म आफ्नै मनको पिँजरामा थुनिए पनि गुलाफ स्वतन्त्र थिई। एक दिन ऊ उड्दै आई मेरो घरमा। सायद गुलाफले मेरो आमन्त्रण भुलेकी थिइनँ। ऊ निसंकोच मलाई खोज्दै आएकी थिई।

मेरो आँगनमा गुलाफको प्रवेशले हलचल मच्चायो। कोही कसैसँग बोल्नै पाएन। सबै आँगनमा जम्मा भए। सबैभन्दा अगि म थिएँ। मलाई देखेर गुलाफको अनुहार उज्यालो भयो। म पनि कम्ती खुसी थिइनँ।

आज पनि ऊ मेलामा देखिएभैmं थिई, सिँगारपटारले धपक्क बलेकी। गुलाफले टिमिक्क परेको रातो ब्लाउज लगाएकी थिई। उसको गहिरो नाइटो देखेर म लजाएको थिएँ। सारीको फेरोले उसका गोरा पिँडौलाहरू छोप्न सकेको थिएन। त्यसको ठीक मुनि गोडामा घुँगरु बाँधेकी थिई।

मेरो घरको आँगनमा गुलाफको आगमन एउटा रोचक घटना थियो। अर्काको घर र मेलामा गुलाफको नाच हेर्न जानुलाई बेइज्जत सम्झनेहरू आफ्नो घरमा गुलाफ नाच्न आउनुलाई भने प्रतिष्ठा ठान्थे। मेरो घरपरिवार पनि गुलाफको उपस्थितिप्रति खुसी थियो।

आँगनको धुलो उडाउँदै नाची गुलाफ। त्यहाँ ऊ आफू मात्र नाचिन, मलाई पनि नचाई। एक कुनाबाट अर्को कुना, यो छेउबाट त्यो छेउ— कुनै ठाउँ छोडिन उसले। ऊसँग नाच्ता मेरो मनमा कुतकुती लागिरहेको थियो। मनले साउती गथ्र्यो, ‘गुलाफसँग यसै गरी नाचिरहे कति रमाइलो हुन्थ्यो होला !’

नाच सिद्धिएपछि केही पैसा बक्सिस र सामलतुमल दिनुभयो आमाले। उसलाई परसम्म पुर्‍याउन गएँ म।

‘गुलाफ ! यो पैसाको चुरोट खानु ल।’ मैले मेलाबाट बचाएर ल्याएको रुपैयाँ गुलाफको हातमा राखिदिएँ, रुन मात्र सकिन ऊ।

गुलाफले मलाई गम्लंग अँगालो हाली, ‘तिमीजस्ता माया गर्ने मान्छेले गर्दा नै त म बाँचेकी छु नि पोक्चे बाबु !’ उसले बरर आँसु खसाली। म चुपचाप उभिइरहेँ। उसलाई सम्झाउने, बुझाउने मसँग कुनै शब्द थिएनन्।

‘दुखिया हो बिचरी ! बाहिरबाट हेर्दा जति खुसी देखिन्छे, त्योभन्दा धेरै दुःखी छे गुलाफ !’ आमाको कुराले मलाई अचम्मित पार्‍यो।

‘गाउँका ठूलाठालु उसलाई रखैल बनाउँछन्। केही समय राख्छन्, स्वार्थ पूरा भएपछि छोडिदिन्छन्। तेरै उमेरकी छोरी पनि छे उसकी।’

आमाका कुरा केही बुझेँ, केही बुझिनँ तर जति बुझेँ, त्यसले मलाई भावुक बनायो— बिचरी गुलाफ ! काँडाको घोचाइ सहेर पनि आफू फक्रेर सबैलाई सुवास छरिरहेकी छ !

‘गुलाफकी छोरी पनि छे !’ किन हो किन मलाई यो वास्तविकता झुटो होस् भन्ने लाग्यो। मबाहेक गुलाफले माया गर्ने अर्को मान्छे पनि होस्, जुन मेरो मनलाई किमार्थ स्वीकार्य थिएन।

मैले आमालाई सोधेँ, ‘गुलाफले बिहे गरेकी छे आमा ? ’

‘नाइँ, उसको बिहे भएको छैन। ऊ भन्छे, ‘उसकी छोरीको बाबु गाउँको जमिनदार किस्न सिंह हो।’ किस्ने भन्छ, ‘गुलाफ बदिनी हो। उसका लोग्ने कति छन् कति। म कसरी यसको बाबु भएँ ? ’ दुवैको कुराले एउटाचाहिँ प्रस्ट छ— कुनै समय उनीहरू आपसमा लहसिएका थिए।’

मलाई रिँगटा लाग्यो आमाका कुराले— के आमा साँच्चिकै सही बोलिरहनुभएको छ ?

मलाई जेजस्तो गाली गरे पनि आमाको मनमा गुलाफप्रति प्रचुर सहानुभूति थियो। आमाका हरेक कुरामा गुलाफप्रति आत्मीयता झल्किथ्यो। तर, गाउँमा अन्य महिलाका मुखबाट गुलाफबारे नकारात्मक कुराहरू नै बढी सुनिन्थे, ‘त्यो चरित्रहीन आइमाई हो...’

‘आफू त बिग्री बिग्री, हाम्रा छोरानातिहरूलाई नि बिगार्ने भई...’

‘नाचगान मात्र गरे त हुन्थ्यो नि, हाम्रा लोग्नेमाथि समेत कुदृष्टि राख्छे रन्डी...’

यी कुरा सत्य मान्ने हो भने त्यस भेकमा सबैभन्दा खराब मान्छे भनेको गुलाफ नै हुन्थी।

पछिल्लो समय गुलाफबारे नयाँ हल्ला चलिरहेको थियो, हल्लाहरूको शृंखलामा एउटा नयाँ हल्ला—

‘...राति जमिनदार किस्न सिंह गुलाफको घरमा आएको थियो। गुलाफसँग सुत्न खोज्यो तर उसले नमानेपछि छोरीमाथि नै हात हाल्यो ! गुलाफले प्रहरीमा उजुरी गरी। प्रहरीले उल्टै गुलाफका आमाछोरीलाई थुनिदियो...।’

हल्लामा सत्यता थियो। भोलिपल्ट बिहान पुलिसको भ्यान आमाछोरीलाई घरसम्म छोड्न आयो। गुलाफकी छोरी लडखडाएर हिँडिरहेकी थिई। मलाई गुलाफसँग भेट्ने मन थियो। अलिकति भए पनि उसको दुःख आफूसँग साट्ने मन थियो तर म उसको घरमा जान सकिनँ।

०००

‘गुलाफले आज राति किस्न सिंह र आफ्नी छोरीको हत्या गरी !’

बिहानसम्म यो समाचार सारा गाउँ, बस्ती र बजारमा फैलिसकेको थियो। आमाको मुखबाट त्यस्तो कुरा सुन्दा म क्वाँक्वाँ रुन मात्र सकिनँ। ‘आमा अब के हुन्छ ? ’ मेरो मन भक्कानो छोडिरहेको थियो।

‘ब जेल जान्छे। दुईदुई जनालाई मारेकी छे। जेलमै सड्छे। कति अभागी रैछ बिचरी !’ आमा सुँकसुँकाउनुभएको थियो।

‘आमा ! हामी जाऊँ गुलाफलाई हेर्न’, मैले अनुनय गरेँ।

बा, आमा र म तीनैजना घटनास्थलमा गयौं। घटना उसकै घरमा भएको थियो।

घटनास्थल डोरीले घेरेर राखेको थियो प्रहरीले। कसैलाई पनि भित्र पस्न दिइएको थिएन। गुलाफको हातमा हत्कडी थियो र उसलाई दुईजना महिला प्रहरीले समातेर राखेका थिए।

प्रहरीले घरभित्र अनुसन्धानको काम पूरा गरेपछि लासलाई बाहिर ल्यायो। दुवैको गर्धन छिनालिएको थियो। अचम्मको कुरा के थियो भने दुवै जनाको सर्वांग नांगो लास प्रहरीले तन्नाले ढाकेको थियो। उनीहरूलाई मार्न प्रयोग भएको रगत लतपतिएको खुकुरी पनि बरामद गरिएको थियो।

मैले टाढैबाट गुलाफलाई हेरेँ। मेरो मनमा हुन्डरी चलिरहेको थियो। गुलाफको अनुहार सपाट थियो। ऊ कसैलाई हेरिरहेकी थिइन, केवल शून्यमा ताकिरहेकी देखिन्थी।

‘गुलाफले किस्न सिंहलाई आफ्नी छोरीलाई स्वीकार्न नचाहेको र उल्टै उसमाथि आँखा लाएको कारणले मारी। तर, छोरीलाई किन मारी ? ’ कसैले सुल्झाउन सकेन यो रहस्य।

केही महिनापछि म गुलाफलाई भेट्न गएँ जेलमा।

‘तिमीले आफ्नी छोरी किन मार्‍यौ गुलाफ ? ’ ऊसँग भेट हुनेबित्तिकै मैले सोधेको थिएँ।

‘तिन कारणले मारेँ पोक्चे बाबु !’ उसले निसंकोच भनी।

‘पहिलो कारण, मैले उसलाई आफ्नी सौता हुनबाट बचाउन मारेँ ! दोस्रो, उसलाई मारेर मैले रन्डी हुनबाट बचाएँ र तेस्रो कारणचाहिँ उसलाई मारेर मैले व्यभिचारी किस्न सिंहको वंश समाप्त पारेँ।’

०००

अबोध बालिका गुलाफको लास अभैm आँगनमा पस्रिरहेको थियो।

‘गुलाफ किन मरी ? के कारणले मरी ? आफैँ मरी वा कसैले मार्‍यो उसलाई ? अरूले मारेको भए कसले मार्‍यो ? ’ लास घेरेर उभिएका मान्छेहरूबाट यस सम्बन्धमा विभिन्न शंका–उपशंका प्रस्तुत भइरहेका थिए। तर, स्वयं पीडित परिवारको कुरा सुन्दा यो विशुद्ध आत्महत्याबाहेक केही थिएन।

प्रहरीको अनुसन्धान टोली आयो। घटनास्थलबाट मान्छेहरू हटाएर सूक्ष्म अनुसन्धान थाल्यो। केही समयको अनुसन्धानबाट प्रहरीले लासलाई शववाहनमा राखेर परीक्षणका लागि अस्पताल पठायो। त्यसपछि प्रहरीले जुन कार्य गर्‍यो, त्यो भने आश्चर्यजनक मात्र होइन, विस्मात् पार्ने खालको थियो।

प्रहरीले गुलाफकी आमाको हातमा हत्कडी लगाउँदै भन्यो, ‘छोरीको हत्यारा तिमी हौ !’

प्रहरी कार्यालय लगेपछि गुलाफकी आमाले प्रहरीसामु आफ्नो अपराध स्वीकार गर्दै भनी रे, ‘ऊ सानी छँदै मैले जुन केटासँग उसको मगनी पक्का गरेकी थिएँ, त्यो केटासँग उसले बिहे गर्न मानिनँ। ‘बिहे गर्दिनँ, पढ्छु’ भन्न थाली। मैले रिस थाम्न सकिनँ र सलले घाँटी बेरेर मारिदिएँ।’

०००

मेरो जीवनमा दुइटी गुलाफ देखिए। पहिली जेल गई, म सानै थिएँ। दोस्री गुलाफ मर्दा म प्रौढ भइसकेको छु। यति लामो अन्तराल भए पनि अभैm म बाँचेको समाजमा गुलाफहरू आफूलाई हुर्काउने मालीद्वारा कोपिलामै निमोठिने नियति भोगिरहेकै छन्। आफैँ देखेभोगेको यो कटु यथार्थले मलाई भने अझै चिन्तित बनाइरहेछ— हाम्रा भावी सन्ततिलाई कसरी सुरक्षित घर र समाज दिने ? के तपाईंहरू पनि चिन्तित हुनुहुन्छ ?

‘...भर्खरै समाचार आयो— गणतन्त्र दिवसमा नेपाल सरकारले तीन सय कैदीलाई बाँकी कैद सजाय माफी गरी जेलबाट मुक्त गर्ने निर्णय गरेको छ। त्यो सूचीमा ती दुईको नाम पनि छ, जसले आफ्ना छोरीको हत्या गरेका थिए...।’

(आज विमोचन हुने कथासंग्रह ‘भुइँखाट’बाट)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.