एनबी गुरुङको क्यानभास

एनबी गुरुङको क्यानभास

पोखरा, लेखनाथ महानगरपालिका। सैनिक बस्ती। यहाँका धेरै युवा ब्रिटिस, सिंगापुर, इन्डियन आर्मीमा भर्ती भएका छन्। पेन्टर एनबी गुरुङ पनि यही बस्तीमा जन्मे, हुर्के।

बस्तीमा लाहुरे भएकाहरूको आर्थिक अवस्था राम्रै थियो। गुरुङको घरबाट कोही पनि लाहुरे भएन्न्। त्यसैले आर्थिक अवस्था पनि ठिकठिकै थियो। छोरो ब्रिटिस आर्मी भयो भने गाउँमा हैसियत बढ्ला भन्ने गुरुङ पिताको सोचाइ थियो। ‘स्कुलदेखि नै बुवाले मलाई ब्रिटिस आर्मी बन्नुपर्छ भनिरहनुहुन्थ्यो’, गुरुङ सम्झन्छन्।

पिताको ढिपि सुनेर उनी मात्र टाउको हल्लाउँथे।

उनीसँग ‘लाहुरे’ सपना कहिल्यै हुर्केन। ‘खै त्यता मनै गएन’, भन्छन्, ‘लाहुरे बन्ने होइन, पढ्नुपर्छजस्तो लाग्थ्यो।’

उनी पढाइतिर ध्यान दिन थाले। साथीहरू लाहुरे बन्न हिँडे। कोही बेलायत पुगे, कोही सिंगापुर। गुरुङले चाहिँ कहिल्यै प्रयास नै गरेनन्, लाहुरे बन्न। नेपाल आर्मीमा भर्ना हुन जानुपर्छ कि भनेर एकपटक सोचेका थिए। त्यति बेला उनी मास्टर्स अध्ययन गर्दै थिए। पछि त्यो सोचाइ धूमिल भयो। हरायो।

०००

गाउँकै त्रिभुवन शान्ति स्कुलमा भर्ना भएका थिए। काम भनेकै पढ्नु थियो।

पढाइ सकेर भुलिने ठाउँ थियो, घर नजिकैको साइनबोर्ड पसल। बेलुका स्कुल बिदा भएपछि उनको बासै त्यहीँ हुन्थ्यो। पसलेले साइनबोर्डमा रङ पोतेको खुबै मन पर्थ्यो। कपडा, टिन र पसलेको हातमा थरीथरीका रङ लतपतिएको दृश्य हेर्दाहेर्दै घाम डुबिसक्थ्यो। पसल बन्द हुन्थ्यो, उनी घर फर्कन्थे।

साइनबोर्ड पसलमा जानु दैनिकी नै थियो उनको। टिनको खिया उप्काएर रङ पोत्ने जिम्मा पाउँथे कहिलेकाहीँ। रङको बट्टामा ब्रस चोब्दा उनको मुहारमा खुसीका रेखाहरू सलबलाउँथे। ‘भविष्यमा पसले दाइजस्तै ठूलो कलाकार बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो’, विगत रिभिजिट गर्छन् उनी। २०४४ सालतिरको कुरा हो, ७ कक्षामा पढ्दै थिए। कलाकारले नाम फेर्छन् भन्ने सुनेका थिए। उनले पनि आफ्नो नाम राखे— एनबी आर्टस्।

स्कुलमा सानोतिनो कलाकार नै मानिन्थ्यो उनलाई। शिक्षकले पढाइरहँदा अन्तिम सिटमा बसेर कापीको पानामा पेन्सिल घोटिरहेका हुन्थे। साथीहरूले विज्ञान विषयको होमवर्कको चित्र बनाउन उनैलाई गुहार्थे। भन्छन्, ‘भ्यागुतो, गड्यौला, मान्छे, अक्टोपसलगायत जीवहरूको चित्र त कति बनाइयो, बनाइयो।’

धर्के कापीमा पेन्सिलले स्केच कोर्दाकोर्दै स्कुल जीवन सकियो। २०५२ सालतिर उनी सैनिक बस्तीलाई छोडेर काठमाडौं हानिए, पेन्टिङ पढ्न। तर, काठमाडौंमा प्राइभेट आईए पढे, अंग्रेजी विषय लिएर। ‘पेन्टिङ पढ्न इन्ट्रान्स पास गर्नुपर्छ भनेपछि मन मर्‍यो’, गुरुङ थप्छन्, ‘जिन्दगीमा जसरी पनि अंग्रेजी सिक्नुपर्छ भन्ने लागेको थियो। त्यसैले अंग्रेजीमा भर्ना भएँ।’

दुई वर्षमा आईए सकियो। उनी पोखरा फर्किए। आफ्नै गाउँ।

पोखरामा उनको भेट आलोक गुरुङसँग भयो।

आलोकसँग उनले पेन्टिङको अनौपचारिक शिक्षा लिन थाले। २०५८ सालतिरको कुरा हो यो। आलोकले रङसँग उनको साइनो गाँसिदिए।

पेन्टर आलोकसँग आर्ट सिक्दै गरेका गुरुङले एक दिन सुने, ‘काठमाडौंको ललितकला क्याम्पसमा आर्ट कम्पिटिसन सुरु हुँदैछ।’ त्यति बेला ‘नेपाल कमर्सियल आर्टिस्ट एसोसिएसन’ले राष्ट्रव्यापी कला प्रतियोगिताको आयोजना गरेको थियो। यो प्रतिस्पर्धामा भाग लिन उनी काठमाडौं आए। आर्ट कम्पिटिसनमा भाग लिएको यो नै पहिलो अनुभव थियो उनको। ‘पेन्टिङ पेढेका मान्छेसँग मैले प्रतिस्पर्धा गर्न पाएँ’, उनले भने, ‘यसले मलाई कलाकार बन्न प्रेरणा दियो।’

प्रतियोगिताको दोस्रो पुरस्कार उनैको पोल्टामा आइपर्‍यो।

बेलाबेला भइरहने पेन्टिङ प्रतियोगितामा उनको सहभागिता बढ्न थालेको थियो। सन् २००२ मा उनले पेन्टिङको एकल प्रदर्शनी नै गरे, काठमाडौंमा। आफ्नो पहिलो एकल प्रदर्शनी। ‘एक्जिबिसन’मा २४ वटा पेन्टिङ राखिएको थियो। त्यति बेला उनी पोखराको पृथ्वीनारायण क्याम्पसबाट ब्याचलर सकेर भर्खरै त्रिविमा मास्टर्स भर्ना भएका थिए।

नेपालमा अहिलेसम्म तीनवटा आर्ट एक्जिबिसन गरिसकेका छन् उनले। त्यस्तै, बेलायतमा एकपटक एक्जिबिसन गरे।

०००

गुरुङको पेन्टिङमोह बढ्दै थियो। छोरो भविष्यमा पेन्टर बन्लाजस्तो देखेर बुवाआमा चिन्तित थिए। पेन्टिङमा लाग्नुभन्दा बरु विदेशतिर जान सल्लाह दिन्थे। ‘विदेशतिर गयो भने राम्रो पैसा कमाउला भन्ने बुवाको सोचाइ थियो’, गुरुङ थप्छन्, ‘पेन्टिङबाट सुक्को पनि पैसा हुँदैन भन्ने चिन्ताले उहाँलाई सताएको थियो।’

जिन्दगी गुजार्न पुग्ने पैसा पेन्टिङबाटै आउँछ भन्ने निष्कर्षमा थिए गुरुङ किनकि उनका पेन्टिङ अब बिक्री हुन थालेको थियो। पेन्टिङ बेचेर थोरैतिनै पैसा पनि लिन थालेका थिए।

०५८ सालमा उनले पहिलोपटक आफ्नो पेन्टिङ बेचेका थिए। त्यो बच्चाको पोट्रेट थियो। गाउँले परिवेशको बच्चा। त्यति बेला बनाएका मध्ये उनलाई सबैभन्दा मन परेको पेन्टिङ थियो त्यो। लगभग सात घन्टा लगाएर तयार पारेका थिए। ग्यालरीले त्यो पेन्टिङ तीन सय रुपैयाँमा किन्यो। त्यसयता उनका धेरै पेन्टिङ बिक्री भइसके।

जिन्दगीकै सबैभन्दा महँगो पेन्टिङ केही समयअघि उनले तीन लाख रुपैयाँमा बेचे, बेलायतमा। भक्तपुरको एकजना बूढा मान्छेको पोट्रेट थियो त्यो। झन्डै तीन घन्टा लगाएर पूरा गरेका थिए। त्यति बेलै उनले दुई लाख रुपैयाँमा अर्को पेन्टिङ पनि बेचे। उनले त्यसमा बच्चाले पानी खाइरहेको दृश्य उतारेका थिए।

पेन्टिङ बेचेको दिन उनको अनुहारमा खुसी र उदासीको बादल एकैपटक उड्छन्। एकातिर आफ्नो कामले मूल्य पाउँछ। अर्कातिर, आफ्नो सिर्जना आफैंबाट छुट्टिएको हुन्छ।

कुनै–कुनै पेन्टिङ बेच्नुपर्दा आत्मग्लानि महसुस भएको अनुभव सुनाउँछन् उनी।

ब्रान्डेड पेन्टर एनबी गुरुङलाई ‘कलर ब्लाइन्ड’ भएको छ। रातो र हरियो रङ उनी स्पष्टसँग देख्न सक्दैनन्।

०७१ सालतिरको कुरा हो, उनले क्याराभानका नायक थिन्लेलाई क्यानभासमा कैद गरे। चाउरिएको अनुहार, चिम्सा आँखा, थेप्चो नाक, झुस्स दारी, थिन्लेको हुलिया उतारे। उनको अनुहारमा हिमाली जनजीवन हाले। गुरुङले यसलाई आफूले बनाएका मध्ये सबैभन्दा मन पर्ने पेन्टिङकोे सूचीमा राखेका छन्। भन्छन्, ‘यसमा रङ संयोजनदेखि आँखाको भाव सबै मिलेको थियो।’ अमेरिकामा भएको ‘नर्थ इस्ट कम्पिटिसन २०१६’ जितेको यो पेन्टिङलाई उनले ८० हजार रुपैयाँमा बेचिदिए। दुई वर्षअघि बेचेको यो पेन्टिङ आज पनि बेलाबेला उनको स्मृतिमा आइदिन्छ। पेन्टिङ कहाँ पुग्यो, उनलाई थाहा छैन। कहाँ सजिएको छ, उनलाई थाहा छैन। मोबाइलमा चाहिँ फोटो खिचेर राखेका छन्। फोटो हेरेर कहिलेकाहीँ सोच्छन्— नबेचेको भए पनि हुने रहेछ।

‘जीविकोपार्जनका लागि पेन्टिङमै निर्भर रहनु परेपछि नबेचेर पनि नहुने’, उनले बाध्यता सुनाए, ‘मायाले मात्रै जिन्दगी नचल्ने रहेछ।’

०००

यी ब्रान्डेड रङप्रेमी कलाकार आफूमा ‘कलर ब्लाइन्ड’ भएको भन्छन्। रातो र हरियो रङ उनी स्पष्टसँग देख्न सक्दैनन्। भन्छन्, ‘मलाई कलर ब्लाइन्ड छ भनेर मैले लामो समयसम्म थाहै पाइनँ।’ रातो र हरियो रङ एकै ठाउँमा मिसिएर आयो भने उनी ठम्याउन सक्दैनन्। यो कुरा उनले दुई वर्षअघि थाहा पाए। डाक्टरलाई देखाएपछि यो सत्य बुझे।

कलर ब्लाइन्डको सीधा प्रभाव आफ्ना पेन्टिङहरूमा देखिने गरेको बताउँछन् उनी। भन्छन्, ‘जस्तो, म रातो रङमै पनि अरू केही रङ मिसाएर त्यसलाई झनै गाढा रातो बनाउन चाहन्छु। तर, त्यो त अरूका लागि कम रातो हुने रहेछ। कहिलेकाहीँ मलाई लाग्छ, मैले एकदमै गाढा रातो रङ हालेँ। अरूले हेर्दा त्यहाँ एकदमै सफ्ट रातो हुने रहेछ।’

साथीहरूले पहिला–पहिला ‘तेरो पेन्टिङमा रङको संयोजन अलि फरक हुन्छ’ भन्थे। उनी आफ्नो पेन्टिङ हेर्थे, सबै ठीकठाक देख्थे। साथीहरूले किन यसो भन्छन् भनेर उनले मेसै पाइरहेका थिएनन्। भन्छन्, ‘मैले बुझेको रातो र साथीहरूले बुझ्ने रातो अलि फरक रहेछ।’

हरियो नम्बर प्लेटमा रातो अक्षर लेखिएको छ भने उनलाई ठम्याउन गाह्रो हुन्छ। भन्छन्, ‘सबै एकै थरी देख्छु।’

०००

पेन्टिङ बिगार्न माहिर छन्, गुरुङ। कहिलेकाहीँ चारपाँचवटा पेन्टिङ एकैपटक बनाउन सुरु गर्छन्। ती कुनै पनि उनलाई राम्रो लाग्दैन र क्यानभास मिल्काइदिन्छन्। यसरी मिल्काएको दिन उनलाई लाग्छ— खासमा म कलाकार नै होइन।

मिल्काउने मात्र होइन, आफूले पूरा गरेका कतिपय पेन्टिङ उनलाई फिटिक्कै मन पर्दैन। ‘आफ्नो मन नखाएको त्यस्तै पेन्टिङ कहिलेकाहीँ अरूले खुबै मन पराइदिन्छन्’, उनले भने, ‘मलाई अचम्म लाग्छ।’

सन् २००८ तिरको कुरा हो। त्यति बेला भारतमा ‘केमल आर्ट कम्पिटिसन’ चलेको थियो। प्रतिस्पर्धा गर्न पाउने लिस्टमा उनको नाम पनि निस्कियो। नाम निस्किए पनि त्यहाँ प्रदर्शन गर्न लगेको आफ्नै पेन्टिङ उनलाई मन परिरहेको थिएन।

क्यानभासको एक छेउमा उनले आफ्नै रोइरहेकी छोरीलाई उतारेका थिए। छोरीको नजिकै गाई थियो। छोरी र गाईको सम्बन्ध देखाउन खोजेका थिए उनले। पेन्टिङको नाम थियो, ‘इन्नोसेन्स’। प्रतियोगिताका लागि यो पेन्टिङ उपयुक्त छैन भनेर उनले बारम्बार सोचेका हुन्। सोचाइविपरीत एक दिन उनले सुने— इन्नोसेन्सले प्रथम पुरस्कार जित्यो।

‘कलालाई हेर्ने दृष्टिकोण नै रोमाञ्चक हुन्छ’, गुरुङ भन्छन्, ‘एउटालाई मन नपरेको त्यही चिज अर्कोलाई आकर्षक लाग्नसक्छ।’

इन्नोसेन्समात्र होइन, गुरुङलाई चित्त नबुझेका अरू धेरै पेन्टिङ छन्। कति मिल्किएका छन्। कति आधा बनाएर छोडिएका छन्। कुनै–कुनै पहिले मन नपरे पनि अहिले मन पर्न थालेका छन्। उनले भने, ‘हरेक पेन्टिङ बनाउनुअघि राम्रै बनाउँछु भनेरै लाग्छु तर पनि बिग्रिन्छ। ‘झुर’ बन्छ।’

पेन्टिङ किन बिग्रिन्छ, उनी कहिलेकाहीँ आफैसँग सोध्छन्। पेन्टिङ बनाउनु अघिल्लो दिन आफ्नो योजनामाथि घोत्लिन्छन्। कापीमा स्केच गर्छन्। के कुरालाई हाइलाइट गर्ने, के कुरालाई डिम गर्ने भन्ने निश्चित गर्छन्। त्यसपछि मात्र क्यानभासको अघिल्तिर बस्छन्। तैपनि कहिलेकाहीँ चित्त बुझ्दैन उनलाई र मिल्काइदिन्छन्।

पेन्टिङहरू बिग्रिनेमात्र होइन, कहिलेकाहीँ उनले सोचेभन्दा राम्रो बनिदिन्छ। वाटर कलर पेन्टिङमा यस्तो एसिडेन्ट हुनु स्वाभाविक रहेको ठान्छन् उनी। भन्छन्, ‘के बनाउन सुरु गर्‍यो, कहिलेकाहीँ के–के बनिदिन्छ।’

०००

बागबजारस्थित एक क्याफेमा छौं हामी। आधाजति झरेको कपाल, थेप्चो नाक, चिम्सा आँखा, कालो फ्रेमको चस्मा, गोलो अनुहार, गुरुङको स्केच बनाउनु पर्‍यो भने यति सम्झिनु अनिवार्य हुन्छ। उनी बेलाबेला चियाको सुर्की लाउँछन्। र, रङ मन पर्न थालेपछिको इतिहास उप्काउँछन्।

बाटोमा हिँड्दा वस्तुको कम्पोजिसनलाई ख्याल गर्छन्। उनको दिमागमा रङ र वस्तु एकैपटक घुम्न थाल्छ। त्यसैले मन परेको दृश्य भेटियो भने फोटो खिचिहाल्छन्। केही समय पहिले उनी बांगेमुढा पुगेका थिए। गल्लीमा सानो मन्दिर देखे। बाइकमा अलि पर पुगिसकेका थिए। अघिकै ठाउँमा फर्किएर गल्ली र मन्दिर दुवै आउने गरी फोटो खिचे। भन्छन्, ‘पेन्टिङका लागि उपयुक्त थियो त्यो।’

दृश्यहरूले कुनैकुनै क्षण खुसी दिन्छन् उनलाई। कहिलेकाहीँ पेन्टिङका लागि दृश्य भेट्छन्। केहीलेकाहीँ क्यानभासमा आफैंले क्याप्चर गरेको दृश्य देख्छन्। केही समयपहिले उनी एउटा बैंक पुगेका थिए, कारोबारका लागि। लाइनमा बस्दै गर्दा कुनै बेला आफैंले खेलेका रङहरूको संयोजन भेटे, हेरिरहे। उनको मुहारमा खुसी नाच्यो। ‘यस्ता पेन्टिङहरूले फ्ल्यासब्याकमा पुर्‍याउँछ’, उनले भने, ‘आफ्नै विगतलाई पनि मूल्यांकन गरिने रहेछ।’

०००

सन् २०१६ देखि गुरुङकै नेतृत्वमा ‘इन्टरनेसनल वाटरकलर सोसाइटी अफ नेपाल’ले आर्ट इभेन्ट सञ्चालन गरिरहेको छ। विभिन्न देशका कलाकार कार्यक्रममा सहभागी हुन्छन्। दुई वर्षपहिले पनि बाहिरी देशबाट ३२ कलाकारको उपस्थिति रहेको थियो। गुरुङ भन्छन्, ‘यस वर्षको डिसेम्बरमा पनि कार्यक्रम सञ्चालन हुँदैछ। ४० देशबाट कलाकारहरू आउँदैछन् यसपालि।’ आफूहरूले प्लेन एअर सेसन पनि सञ्चालन गरेको बताउँछन् उनी। ‘यसमा हामीले कलाकारलाई विभिन्न ठाउँमा लगेर स्पटमै पेन्टिङ गर्न लगाउँछौं’, उनले भने, ‘रङको माध्यमबाट नेपालको टुरिजम पनि विकास गरौं भन्ने हाम्रो मान्यता हो।’ सन् २०१६ मा कलाकारलाई घान्द्रुक लगेर कार्यक्रम आयोजना गरिएको थियो। यो साल कलाकारलाई लुम्बिनी लैजाने बताउँछन् गुरुङ।

पेन्टिङमा वाटर कलर प्रयोग गर्छन् गुरुङ। अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटीको नेपाल प्रमुख हुन् उनी।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.