नलेखिएका कथा
पश्चिम नेपालको कर्णाली पारिको क्षेत्र नै सुदूरपश्चिम भनेर चिनिन्छ। देश संघीयतामा गएपछि हालको ७ नम्बर प्रदेश भनेर चिनिने यही क्षेत्र हो। सिंजा राज्यको विघटनपछि विशाल डोटी राज्यको सरहदभित्र पर्ने काली कर्णाली क्षेत्र नेपाली भाषाको उद्गम थलो त हुँदै हो; सांस्कृतिक, कला र साहित्यको समेत उर्वर भूमि हो।
कर्णाली पारिको लोकसंस्कृति, भाषा र लोकसाहित्यलाई ऐतिहासिक पहिचानका आधारमा समग्रमा डोटेली संस्कृति भनेर पनि चिनिन्छ। सुदूरपश्चिमाञ्चल क्षेत्र नेपाली भाषा, संस्कृति, कला र लोकसाहित्यको उद्गम थलो हो भन्ने कुरा लोकसाहित्य र संस्कृतिका अनुसन्धाताहरूले पुष्टि गरिसकेका छन्। यस आलेखमा त्यस क्षेत्रको आधुनिक साहित्यको अवस्था केलाइएको छ।
काव्य लेखन र स्रष्टाहरू
प्राचीन डोटी राज्यअन्तर्गत पर्ने बाजुरा जुगाडाका कवि रत्नाकर पण्डित नै सुदूरपश्चिमी क्षेत्रका पहिला कवि हुन् भन्ने तथ्य योगी नरहरिनाथले आफ्नो ‘स्वदेश वर्णन’ भन्ने कृतिमा उद्घाटन गरेका छन्। डोटेली राजा सुर्तान मल्लका दरबारमा आ श्रय पाएका सोह्रौं शताब्दीको अन्त्यतिरका कवि रत्नाकर पण्डितका कविताका निम्न पंक्ति फेला परेका छन्—
रत्नाकार सर्वलोकप्रिय प्रियबर
बाजुराका घरघर कवि रत्नाकार
सुदूरपश्चिममा कविताको इतिहास केलाउँदा पहलमान सिंह स्वारबाटै आधुनिककाल सुरु भएको देखिन्छ। उनको ‘अंकेन्दु शेखर’ १९५६ मा वनारसबाट छापिएपछि गणितका हिसाब पनि कवितामार्फत नै पढ्ने परम्परा सुरु भयो। त्यसैगरी उनका प्रेमामृत वचनसंग्रह, पहलमान भजनमाला अछामका चाडपर्व र खोर रहस्यजस्ता काव्यकृतिले सुदूरपश्चिममा कविता लेखनको जग बसालेको देखिन्छ। त्यसपछि पहलमानकै समकालीन नेपाली भाषाका प्रथम व्याकरणविद् राजा जयपृथ्वीबहादुर सिंहको तŒवप्रशंसा नामक काव्य कृतिले कविता लेखनको जग कोरेको देखिन्छ। त्यस्तै डोटीका रामचन्द्र जोशी, बैतडीका रामचन्द्र ओझा, डडेल्धुराका करुणाकर पनेरू, गंगाराम पनेरू, विश्वेश्वर चटौत, जयदेव भट्टजस्ता कविले सुदूरपश्चिममा कविताको आराधना गरी कविताको विकासमा योगदान दिए। त्यस्तै लेखनाथ पौडेलका समकालीन कवि डडेल्धुराका डमवल्लभ उप्रेतीले १९८९ सालमा बनारसबाट पुत्रशोक नामक खण्डकाव्य प्रकाशित गरी सुदूरपश्चिमेली साहित्यको क्षितिजमा प्रथमपटक खण्डकाव्य लेखनको दीप बालेको देखिन्छ।
२००७ सालको क्रान्तिपछि सुदूरपश्चिममा कविता लेखनको क्रान्तिकारी लहर चलेको देखिन्छ। स्व. एनडी प्रकाश चटौतले क्रान्ति र परिवर्तनको आवाज उठाउँदै कविता लेखे भने आनन्ददेव भट्ट, उमाकान्त भट्ट, देवकान्त पन्त, पूर्णानन्द भट्ट, आत्माराम ओझा, महादेव भट्ट, देवीप्रसाद ओझा आदिले सुदूरपश्चिममा कविताको परम्परालाई समृद्ध पारे।
आधुनिक कालमा आएर यस क्षेत्रमा कविताको इतिहास समृद्ध रहेको देखिन्छ। देवकान्त पन्तले २०२७ सालमा सीता स्वयम्बर महाकाव्य लेखेर महाकाव्य लेखनको परम्परा सुरु गरे भने २०४१ सालमा बेलु र राइमती लेखेर डोटीका भक्तबहादुर बलायरले त्यसलाई निरन्तरता दिए। त्यसपछि पूर्णानन्द भट्टले २०५३ मा शान्ति विज्ञान महाकाव्य र महादेव भट्टले तŒवबोध रामायण मनिराज जोशीले अमर साधक पहलमानसिंह स्वार, जयपृथ्वीबहादुर सिंह, अमर सहिद दशरथ चन्द, शैलेश्वरी र खप्तडजस्ता महाकाव्य लेखेर महाकाव्यको भण्डार भरे।
सुदूरपश्चिमबाट प्रकाशित काव्यकृति र कविताहरूमा खेमराज ओझाका नेपाल आमा, शिखरिणी गीता, हिमशिखर आनन्ददेव भट्टका अब हिमालय बोल्छ, युरी यलेक्स रुमिन्च गाग्रिन, ९७ साल, साहिँली मैयाँ, उमर खैयामलाई जवाफ देवकान्त पन्तका शिवमंगल विवाह, जयनेपाल, शान्तिक्षेत्र नेपाल, नेपाली तीज कथा, पूर्णानन्द भट्टका अभिसाप आर्तनाद, वनदेवी, विलापी, गाउँकला, शान्तिमन्दिर, प्रजातन्त्र बालक भालचन्द्र भण्डारीका शुभद्रा, जयनेपाल यज्ञराज उपाध्यायको बिहानीको पाना कवि यज्ञराज यात्रीका नेपालका लाललगायत दर्जन कृति रहेका छन्। त्यसैगरी त्यस क्षेत्रमा कविताका क्षेत्रमा क्रियाशील रही साधना गरिरहेका सयौं कविको साधनाले सुदूरपश्चिमको कविताको क्षेत्र समृद्ध बनेको छ। यस क्षेत्रमा सबैभन्दा बढी लेखिने साहित्य विधा पनि कविता नै भएका कारण सयौं नवप्रतिभा यस क्षेत्रमा उदाएका छन्।
गजलको स्वर्णकाल
नेपाली गजलको पुनः जागरणसँगै सुदूरपश्चिममा पनि गजल लेखनमा जागरण आएको देखिन्छ। २०३८ पछि नेपाली साहित्यमा पुनर्जीवन पाएको गजललाई लोकप्रिय बनाउने काम आधुनिक गजलका पुनर्जागरणकर्ता ज्ञानुवाकर पौडेलसँगै अछामका ललिजन रावलले गरेका हुन्। रावलका २०४३ मा केही गजल र पछि बिरानो यो ठाउँमा, सिरानीमा आँसु आएपछि सुदूरपश्चिमका नवप्रतिभाहरूलाई पनि गजल लेखनमा प्रभाव र प्रेरणा मिलेको देखिन्छ। तर, बैतडीका देवराज भट्ट शर्माले २०२२ सालमा नै आफ्नो नाटकमा गजलका शेरहरू प्रस्तुत गरेको कुरा प्रकाशमा आएपछि सुदूरपश्चिमको माटोमा धेरै अघि गजलको सुवास फैलिसकेको तथ्य खुलेको छ।
सुदूरपश्चिममै बसेर गजलको विकास र लेखनमा लागिपर्ने स्रष्टा भने कैलालीकी श्रेष्ठप्रिया पत्थर हुन्। २०५३ सालमा पग्लिएका व्यथाहरू प्रकाशन गरेकी श्रेष्ठका आँसुको सौगात, पत्थरका प्रलापहरूजस्ता गजलसंग्रहले सुदूरपश्चिममा गजलको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्। त्यसैगरी २०५६ सालमा दिव्यसागर साउदको एउटा लहर सागरको र २०५७ सालमा रामलाल जोशीको ‘हत्केलामा आकाश’ प्रकाशित भएपछि नव पुस्ताको प्रमुख आकर्षण र लेखनको रुचि नै गजल हुन गयो।
सुदूरपश्चिमको गजल विकासमा लागेका धेरै नयाँ स्रष्टाको प्रभाव ग्रहण गरेर स्थापित स्रष्टाहरूसमेत गजल लेखनमा लागेका देखिन्छन्। ५० को दशकपछि सुदूरपश्चिममा गजल लेखनमा अत्यन्त तीव्रता आएको र ६० को दशकपछि त स्वर्णकाल नै निर्माण भएको देखिन्छ। सुदूरपश्चिमी फाँटबाट उदाएका गजलकार र गजलकृतिहरूमा खगेन्द्र गिरी कोपिलाका उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू, व्यग्र चाँदनी, राग बसुन्धरा, दीर्घराज उपाध्यायको उनको यादमा, टीएन जोशीको देश रोएको बेला, लक्की चौधरीको सहिदान र अन्तर्भाव, मीनबहादुर थापा मिलनको मेरा हत्केलाका रेखाहरूको मिलन, तिम्रो प्यार र छुटेको आँचल, ऋचा लुइँटेलका बाँसुरीका धुनहरू, भावनाको यात्रा, पग्लिएर घाइते मन, (मुक्तक), पुष्पलता कलमका डोबहरूमा, कैलाशकुमार पाण्डेयको बिर्सिएका नाउहरू, बादलका बुट्टाहरू, टेकबहादुर ठकुल्लाको मनभित्रका ज्वारभाटा, धीरज त्रिवेणीको किनारदेखि किनारसम्म, भरत रोदनको आँखामा डुबेर आकृति, त्रसित वसन्तको मनभित्र डुबेको बन, दीपा ढकाल आँसुका संयोग, शान्तिको बिगुल, रञ्जित लामाको गजल कुञ्ज, नारायण कौशिकको उही धर्ती उही आकाश, यज्ञराज यात्रीको मनको पीडा, हेमबाबु लेखकको तश्नगी र मलाई पनि उस्तैउस्तै, तपेन्द्र शाहको जुन झरेर पातमा, पुष्कर भट्टको सुनौलो बिहानी, नीरञ्जन बमको वियोग, कृष्णराज धमलाको अनिँदो रातका सपना, कृष्णसिंह पेलाको अञ्जुलीमा सागर, मेघनाथ खनालको गजल यात्रा, गोविन्द शृंखलाको क्षितिजपारि, तिलक समर्पणको सपनाको सम्झनामा, दीपेन्द्रबहादुर चन्दको प्रेम पुजारी, तोयानाथ भट्टको विद्या रानी, प्रवीण बीसीको के हो जीवन, हेमन्ती जोशीको मनहरू जित्न सके, दीपा ऐरको घामछायाँ, तिम्रो आकृति, भरत गिरी र हिम्मत सिंहको लाली किरणजस्ता गजलकार र तिनका कृतिहरूले सुदूरपश्चिममा गजलको भण्डारलाई सम्पन्न पारेका छन्। फुटकर गजल लेख्ने स्रष्टा पनि प्रशस्त छन्।
सुदूरपश्चिममा कविताको इतिहास केलाउँदा पहलमानसिंह स्वारबाटै आधुनिककाल सुरु भएको देखिन्छ। उनको ‘अंकेन्दु शेखर’ १९५६ मा वनारसबाट छापिएपछि गणितका हिसाब पनि कवितामार्फत नै पढ्ने परम्परा सुरु भयो।
आशालाग्दो कथा विधा
सुदूरपश्चिमको लोकजीवनमा दन्त्यकथा र लोककथाहरू प्राचीनकालदेखि नै व्याप्त भए पनि लेखन विधाको रूपमा यसको उठान र विकास निकै पछि भएको देखिन्छ। नाटककार पहलमानसिंह स्वारका कृतिहरूमा आख्यानात्मकता भेटिए पनि स्पष्ट कथा लेखनको सुरुआत भने कथाकार भाउपन्थीको आगमनपछि मात्रै भयो। २०३६ सालमा उनको ‘सम्बन्ध’ कथासंग्रह प्रकाशनमा आएपछि सुदूरपश्चिममा कथा लेखनको ढोका खुल्यो। भाउपन्थीका कथाहरू विश्वविद्यालयका पाठ्यक्रममा पर्न सफल भए भने सुदूरपश्चिमकै तीन कथाकार लोकेन्द्रबहादुर चन्द, महेशविक्रम शाह र रामलाल जोशीले क्रमशः विसर्जन, छापामारको छोरो र ऐना कथासंग्रहबाट नेपाली साहित्यको सर्वोकृष्ट मानिने मदन पुरस्कार प्राप्त गरे। भाउपन्थीका सम्बन्ध, अद्यापी र अरू कथाहरू, चन्दको हिउँको तन्ना, विसर्जन, शाहका सटाहा, सिपाहीकी स्वास्नी, अफ्रिकन अमिगो, ज्याक्सन हाइट, छापामारको छोरो र काठमाडौंमा कमरेड, जोशीको ऐनाजस्ता कृतिहरू सुदूरपश्चिमलाई राष्ट्रिय रूपमा चिनाउने र प्रतिनिधित्व गराउने अब्बल दर्जाका कृति हुन्।
यसैगरी भोजराज भट्टको बमना रानाको कोट, पद्मराज जोशीको नामसारी, हेमन्ती जोशीको प्रतिविम्ब र पत्रपत्र जिन्दगी, श्रेष्ठ प्रिया पत्थरको एउटा अर्कै बाटो, आरडी प्रभाष चटौतको लडाइँको मैदानबाट, कृष्णदत्त चटौत कान्तको गुनासो र अस्ताचलको सूर्य रामचन्द्र नेपालको आवाजजस्ता कृतिले सुदूरपश्चिमको कथालाई स्तरीय रूप प्रदान गरेका छन्। यसैगरी यस क्षेत्रमा कथा लेखनमा सक्रिय कथाकार र कृतिहरूमा पुष्करराज भट्टको कर्मयोद्धा, एक थोपा सागरको आस्था नायकको अवसान, मुक्तिदूत, मनिराम चौधरीको रसाइल करम, दुखियारी बयिया, एम टेर्राको लाल मुरै, आत्माराम ओझाको सञ्जीवनी, भक्तराज ढुंगानाको पीडा, वीरबहादुर चन्दको नौलो नेपाला मान्स, मनिराज जोशीको दुई लाखको अर्ति आदि छन्। विवेक विशालु, ललित सादा, यज्ञराज जोशी, गणेश नेपाली आदि यस क्षेत्रका पछिल्लो समयका आशलाग्दा कथाकार हुन्।
उक्सिन नसकेको उपन्यास
नाटककार स्व. पहलमानसिंह स्वारले १९९४ सालमा एक लाख रुपैयाँको चोरी नामक उपन्यास रचना गरी उपन्यास लेखनको सुरुआत गरे। स्वारपछि देखा परेका अर्का उपन्यासकार स्व. खड्कबहादुर सिंह हुन्। उनका विद्रोह भाग १ (२०११) र विद्रोह भाग २ (२०१३) मा प्रकाशित हुरीको चरा (२०१५) नामक उपन्यासले सुदूरपश्चिममा उपन्यास लेखनको जग बसाल्यो। २०२५ सालमा भाउपन्थीका पलाँस र त्यसपछि आदिपुरुष र उब्रेको मान्छे उपन्यास प्रकाशित भए भने वासुदेव भाइसापका संस्मरण निगालाका छतरीहरू र सफर प्रकाशित भए।
उपन्यास लेखनको गतिमा तीव्रता भने २०५० को दशकपछि आयो। २०४८ सालमा श्रेष्ठप्रिया पत्थरको ‘पतिंगर’ पछि लगातार आएका उनका पुकार, रंगभूमि, मर्यादा, कसिंगर र पुनरावृत्तिजस्ता उपन्यासले सुदूरपश्चिममा उपन्यासको फाँटलाई फराकिलो पारे। पचासको दशकमै प्रकाशित उपन्यासहरूमा नृपबहादुर स्वारका कुसुमी, चिनु र कथाव्यथा, जितसिंह भण्डारीका कर्तव्य, अधिकार, ममताको डोरी, स्वप्न समाधि, विक्रमसिंह धामीको जैमिति, देवराज भट्टको नौलाहितु, तेजबहादुर शाहको बादल, विष्णुप्रकाश दौल्यालको बिदाइ, तुलसी शर्माको भाउजू, मनिराम चौधरीको थारू भाषाको विधवाजस्ता उपन्यासले यस क्षेत्रको औपन्यासिक भण्डारलाई समृद्ध पारे।
साठीको दशकमा यो क्रम अझ तीव्र भयो। यस दशकमा देखा परेको उपन्यास र उपन्यासकारहरूमा कृष्णदत्त चटौतको मल्लोबाटो, आत्माराम ओझाको तिला र राजा नाग मल्ल, अनिल उपाध्यायको रहस्य भित्रको बटुवा, कुँकुरा बोहोराको जेल, पदम विष्टको नौलो बिहानी, गौरीदत्त पनेरूको धरौटी, पदमराज जोशीको पहाडकी सौंराई, रामनाथ अधिकारीको सहिद जनसेनाकी पत्नी, पदम गाउँलेको अमर माया, शर्मिला सृष्टिको थारू भाषाको दुखके हल्कोरा, रमेश पाण्डेयको शायरा आदि हुन्।
उपन्यास लेखनको लामो परम्परा भए पनि त्यस क्षेत्रबाट उपन्यास विधा भने माथि उठ्न सकेको देखिँदैन। तर, पछिल्लो समयमा उदाएका राज सरगम, विवेक ओझा, शेर साउदजस्ता उपन्यासकार यस क्षेत्रका आशालाग्दा किरण हुन्। राज सरगमको ‘छाउघर’ र विवेक ओझाको ‘ऐलानी’ले पछिल्लो समयमा सुदूरपश्चिमको औपन्यासिक क्षेत्रमा एउटा कम्पन पैदा गरेको देखिन्छ।
नाटक : नलेखिएको इतिहास
लोकसाहित्य र संस्कृतिको विशाल क्षेत्र मानिने सुदूरपश्चिमका लोकनृत्यहरू–हुडकेली, भुवो, गमरा, छलियाहरूमा गेय र नृत्यात्मक अभिनय पाइने हुँदा आदिम कालदेखि लोकजीवनमा नाटकको बीज थियो भन्न सकिन्छ। तथापि नाटक लेखनको सुरुआत भने पहलमानसिंह स्वारबाटै भएको देखिन्छ। भारतको सिंघाईमा निर्वासित भएको बेला १९५६ सालमा रचना गरी १९६२ मा प्रकाशित अटलबहादुर नै सुदूरपश्चिमेली माटोको सुगन्ध बोकेको पहिलो नाटक हो। यस नाटकले नेपाली साहित्यमै पहिलो मौलिक नाटकको श्रेय पाएको छ। त्यसैगरी उनका शाकुन्तल, विमलादेवी, विष्णुमाया, लालुभागा र जगत् सिंहजस्ता नाटकले सुदूरपश्चिमेली नाटककारहरूलाई प्रभाव र प्रेरणा दिएको देखिन्छ।
स्वारको अवसानसँगै लामो समय ओझेलमा परेको नाटक लेखनले ३० वर्षपछि २०२१ सालदेखि मात्रै पुनर्जीवन पाएको देखिन्छ। यस क्रममा २००७ सालमा आत्माराम ओझाका एकांकी प्रकाशित भए पनि त्यसले खासै चर्चा पाएको देखिँदैन। २०२१ सालमा भने स्व. ओझाकै उषा अनिरुद्ध नाटक रत्नपुस्तक भण्डारबाट प्रकाशित भयो। त्यसैगरी उनका त्यो देशद्रोही गोर्खाली होइन, गुरु शिष्य र मृत्युपथका भाइबहिनीजस्ता एकांकी प्रकाशित भए। त्यसैगरी २०२२ सालमा देवराज भट्ट शर्माको अमर सहिद दशरच चन्द आयो भने त्यसपछि लोकेन्द्रबहादुर चन्दको ‘नेताको साथी’ वासुदेव भाइसाबको गोरा चैतालो र माघीजस्ता नाटक प्रकाशनमा आए। नेपाली नाटककै जग बसाल्ने काम सुदूरपश्चिमेली माटोले जन्माएका पहलमान सिंह स्वारले गरे। तर, नेपाली साहित्यको इतिहासमा त्यसको उचित मूल्यांकन भएको देखिँदैन। सुदूरपश्चिममा नाटकको इतिहास अझै लेखिएको देखिँदैन।
निबन्ध : लेख्न अझै बाँकी साहित्य
पहलमानसिंह स्वारले विसं १९७५ मा लेखेको के सन्तोष राख्न चाहिन्छ भन्ने गद्य कृतिलाई नै सुदूरपश्चिमेली निबन्धको उठान बिन्दु मान्नुपर्ने हुन्छ। तर, आधुनिक निबन्धकारको खोजी गर्ने हो भने बैतडीका लोकेन्द्रबहादुर चन्दबाट सुरु भएको देखिन्छ। २०३५ सालमा उनको बाह्रौं खेलाडी प्रकाशित भएपछि सुदूरपश्चिमेली साहित्यको आकाशमा निबन्धको ढोका खुल्यो। त्यसपछि बैतडीका आनन्ददेव भट्टका केही आत्मपरक निबन्धहरू र दृष्टिबिन्दु नामक कृति देखिन्छन् भने कैलालीका यज्ञराज यात्रीका नारी बैतडीका देवराज भट्टका समाजवाद र धर्म डोटीका रामचन्द्र भट्टका प्राज्ञिक त्रिवेणी देवीप्रसाद ओझाका समसामयिक चिन्तनजस्ता निबन्ध–कृतिहरू प्रकाशित भए।
आधुनिक नेपाली निबन्धमा उच्च बौद्धिकता, नयाँ चिन्तन र आत्मपरक शैलीले नयाँ उचाइमा निबन्धलाई पु¥याएर राष्ट्रिय ख्याति कमाएका डा. दुर्गाप्रसाद भण्डारीले सुदूरपश्चिमेली निबन्धकारलाई पनि नयाँ प्रेरणा र प्रभाव दिएर कुतकुत्याए। डोटीमा जन्मिएका भण्डारीका मृगस्थली, नीरो बाँसुरी बजाइरहेछ र फूल र रोटीजस्ता कालजयी निबन्ध कृतिले सुदूरपश्चिमेली निबन्धकारहरूलाई समेत गौरवबोध गराउँदै निबन्ध लेखनमा प्रेरित गरेको देखिन्छ। त्यसैगरी भाउपन्थीकोे चोर चोर र पछिल्लो समयमा प्रकाशित गणेशराज जोशीको मान्छे र फूल निबन्ध कृतिहरू सुदूरपश्चिमेली स्तरीय निबन्धका प्रतिबिम्ब हुन्। यसैगरी सुदूरपश्चिमेली निबन्ध स्रष्टा र कृतिहरूमा टेकराज पन्तको अनावरण, गणेशप्रसाद ओझाको जुत्ता दर्शन, मुकुन्द कलौनीको चक्रव्यूह र विविधा, पुष्करराज भट्टको ‘युगधारा’, राजेन्द्र भट्टको ‘जीवन संघर्ष’, खगोयक्ष पन्तको ‘चित्कार र पुकार’, मोहन बुढाऐरको समाजभित्रका व्यथाहरू, उत्तमबहादुर सिंहको राजनीति र प्रजातन्त्र आदि महत्वपूर्ण प्राप्ति हुन्।
अन्य विधा : कछुवा गति
सुदूरपश्चिमेली साहित्य फाँटमा अन्य विधाहरूसमेत लेख्ने र कृति प्रकाशित गर्ने क्रम जारी छ। समालोचना आत्मसंस्मरण, जीवनी, यात्रा संस्मरण, भाषा–व्याकरण, इतिहास र वंशावलीजस्ता सबै विधाका कृतिहरू प्रकाशित भइरहेका छन्। तर, साहित्यको विधागत लेखनतर्फ नयाँ चिन्तन, धार र शैलीका लेखकहरू आउन नसक्नुमा समालोचना परम्परा नहुनु पनि हो। साहित्यका प्रायः सबै विधाको लेखन र विकास भइरहेको भए पनि कुनै विधाको प्रभाव र प्रख्यातिले फड्को मारेको देखिन्छ भने कुनै विधा कछुवा गतिमा घस्रिरहेको प्रतीत हुन्छ।