बहुआयामिक पूर्ण
नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले गत जनवरीमा हङकङ र मकाउको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्यो। मकाउसँगको खेल तुलनात्मक रूपमा सहज भए पनि हङकङसँगको दुई खेलमा भने नेपाली टोलीले निकै मेहनत गर्नुपर्यो। दुवै खेल पाँचौं सेटसम्म चलेको थियो। दोस्रो खेलको पाँचौं सेट चलिरहँदा केही विवाद भयो। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले दुईदुई सेट जितेका थिए।
अन्तिम तथा निर्णायक सेटमा नेपाल १४–१३ ले अगाडि थियो। त्यसलगत्तै नेपालले अर्को एक अंक थप्दै खेल जित्यो। तर नेपाली खेलाडीले ‘ओभरल्याप’ गरेको भन्दै हङकङका कप्तान र रेफ्रीले समेत मुख्य रेफ्रीसँग गुनासो गरे। बल ‘टप अफ द नेट’ रहेको भन्दै मुख्य रेफ्रीले नेपालको पक्षमा निर्णय दिए। रेफ्रीको निर्णयसँगै नेपालले हङकङमाथि ऐतिहासिक जित दर्ता गर्यो।
उक्त खेल एसियन रेफ्री क्यान्डिडेट नेपालका पूर्ण चौलागाईंले खेलाएका थिए। खेल सकेर पूर्ण होटेलतर्फ जाँदै थिए। उनको फोनमा एउटा म्यासेज आयो ‘वेल डन पूर्ण’ लेखेको। त्यो म्यासेज हङकङका मुख्य रेफ्रीले गरेका थिए। उनले पूर्णले सही र समझदारीपूर्ण निर्णय दिएको भन्दै तारिफ गरेका थिए।
नेपालका पाँचजना अन्तर्राष्ट्रिय रेफ्रीमध्येका एक हुन्– पूर्ण चौलागार्इं। गत वर्ष थाइल्यान्डको बैंककमा भएको एभीसी एसियन रेफ्री क्यान्डिडेट कोर्स सम्पन्न गरेका उनी लेभल वान प्रशिक्षकसमेत हुन्। पूर्णसँगै नेपालमा टहलसिंह थापा, गौतम लाछिबा, कुलबहादुर थापामगर र चन्दबन्दना राई अन्तर्राष्ट्रिय रेफ्री छन्। निरन्तरको मेहनत र आफ्ना अग्रजहरूको साथ र सहयोगले अन्तर्राष्ट्रिय रेफ्रीको पहिचान बनाउन सकेको बताउँछन्, पूर्ण।
जुम्लादेखि काठमाडौंको यात्रा
जुम्लामा जन्मिएका पूर्ण सानैदेखि भलिबलमा रुचि राख्थे। उनले विद्यालयका विभिन्न प्रतियोगितामा सहभागिता जनाए। जुम्लाको लाम्रास्थित दुर्गा माविबाट एलएलसी दिएपछि उनी २०५७ सालमा काठमाडौं आए। चिडियाखाना हेर्न जाने क्रममा उनले त्यहाँ भलिबल खेलिरहेको देखे। एक घन्टा उभिएरै भलिबल हेरे। मैदानको छेउछाउमा झुन्ड्याएको होडिङ बोर्डहरू सबै पढे। एउटा बोर्डमा उनको नजर पुग्यो, जहाँ लेखिएको थियो– ‘यहाँ भलिबल सिकाइन्छ।’ पूर्णलाई भलिबलमा तान्ने माध्यम त्यही चिडियाखानाको भ्रमण बन्यो।
त्यसपछि उनी भलिबल सिक्न जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भर्ना भए। भलिबलका थुप्रै नियमहरू पालना गर्नुपर्ने कारण उनलाई दिक्दारी पनि नलागेको होइन तर उनले हरेस खाएनन्। पाँच वर्षसम्म त्यहाँ नियमित प्रशिक्षण लिए। त्यसकै प्रतिफल उनी अहिले भलिबलका अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएका छन्।
पूर्णलाई बक्सिङमा पनि रुचि थियो। बेलुका भलिबलको ट्रेनिङ अनि बिहान भने रंगशालामा बक्सिङ सिक्थे। त्यसपछि उनको दैनिकी नै भलिबल र बक्सिङ बन्यो। उनले भलिबल र बक्सिङका विभिन्न प्रतियोगिताहरूमा पनि सहभागिता जनाए।
कलिलै उमेरमा गाउँमा भएको प्रतियोगितामा रेफ्रीले गरेको पक्षपाती निर्णयको विरोध गरेका उनले त्यस बेलैदेखि रेफ्री बन्छु भन्ने सपना बोकेका थिए।
भलिबलमा उनले खासै समस्या भोग्नु परेन। तर बक्सिङमा भने उनले पटकपटक दुःख बेहोर्नुपर्यो। २०६० सालमा राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगिता खेल्दै गर्दा उनको खुट्टा फ्याक्चर भयो। तीन महिनासम्म ओछ्यानमै परे। ५२ केजी तौलसमूहमा उनले विभिन्न प्रतियोगितामा सहभागिता जनाए।
यसरी मोडियो बाटो
दुवै खेलमा लागेर राम्रो नहुने भएपछि भलिबलका प्रमुख प्रशिक्षक कपिलकिशोर श्रेष्ठले पूर्णलाई बक्सिङ छाडेर पूर्ण रूपमा भलिबलमै लाग्न उत्प्रेरित गरे। त्यसपछि उनले भलिबललाई बढी समय दिन थाले। भलिबलमै लागेपछि जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन। उनले जावलाखेल क्लबका साथै पश्चिमाञ्चलबाट विभिन्न प्रतियोगितामा सहभागिता जनाए पनि नेपालको प्रतिनिधित्व गर्दै विदेशमा भने खेल्न पाएनन्।
राष्ट्रिय खेलकुद परिषद्बाट एनआईएस भलिबल प्रशिक्षण कोर्स लिएका पूर्णले २०६७ सालमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदमा सल्यान जिल्ला खेलकुद विकास समितिको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरे। त्यस्तै २०६६ सालमा क्षेत्रीय रेफ्री कोर्स, २०६९ मा इन्टरनेसनल लेभल वान प्रशिक्षण कोर्स र २०७० सालमा राष्ट्रिय रेफ्री कोर्स गरे। २०७२ मा थाइल्यान्डको बैंककमा सिनियर रेफ्री कोर्स गरेका उनले २०७३ मा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा मध्यपश्चिमाञ्चल क्षेत्रको राष्ट्रिय रेफ्रीको संयोजकको भूमिका निर्वाह गरे।
यही जेठमा उनले थाइल्यान्डको रामखेङहाङ विश्वविद्यालयमा एसियन भलिबल फेडेरेसनले आयोजना गरेको एसियन रेफ्री कोर्समा नेपालको प्रतिनिधित्व गरे। उक्त कोर्स गरेसँगै पूर्णले अन्तर्राष्ट्रिय खेल खेलाउने बाटो खुल्यो।
कलिलै उमेरमा गाउँमा भएको प्रतियोगितामा रेफ्रीले गरेको पक्षपाती निर्णयको विरोध गरेका उनले त्यसबेलैदेखि रेफ्री बन्छु भन्ने सपना बोकेका थिए। त्यही सपनालाई साकार पार्न विभिन्न दुःखकष्ट सहेका उनले दुःख नगरी सुख पाइँदैन भन्ने बुझे। हरेक खेलमा निष्पक्ष निर्णय दिन चाहन्छन् उनी। ‘जिन्दगीमा कहिले पनि पक्षपात गर्दिनँ। खेलाडी र दशर्कको मन जित्ने काम गर्नेछु’ पूर्ण प्रतिबद्धता जनाउँछन्।
गत जेठमा सरकारले भलिबल खेललाई नेपालको राष्ट्रिय खेल बनाएपछि आगामी दिनमा आफ्नो जिम्मेवारी थप बढेको महसुस पूर्णले गरेका छन्। आफ्नै अनुशासनमा चल्न रुचाउने पूर्णको परिचय समग्रमा भलिबलको अन्तर्राष्ट्रिय रेफ्रीमा मात्र सीमित छैन। उनले आमसञ्चार तथा पत्रकारितामा पनि स्नातकोत्तर गरेका छन्। चार वर्ष न्युज २४ टेलिभिजनमा काम गरेको अनुभव सँगालेका उनी नेपाली पोस्ट साप्ताहिकका प्रकाशक/सम्पादक पनि हुन्।
पूर्ण राजनीतिमा पनि उत्तिकै सक्रिय छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको वरिष्ठ उपाध्यक्ष छन् उनी। रेफ्रीका रूपमा देशविदेशमा आफ्नो भिन्न छवि बनाएका उनी भविष्यमा खेलकुदसँगै राजनीतिलाई पनि अघि बढाउने योजनामा छन्।