इतिहासमाथि जीवन्त सम्बोधन
नेपाल आज इतिहासको एक विशेष मोडमा उभिएको छ। आआफ्नो विगत आआफैंले पर्गेल्दै उत्खनन गर्ने र त्यसबाट आगामी दिनमा गर्नैपर्ने असल र आवश्यक कामका लागि प्रेरणा लिने बेला हो यो। समाज परिवर्तनका ऐतिहासिक अभियानहरूको पृष्ठभूमिमा कुरीति, कुसंस्कार, गलत मनोविज्ञान र असामाजिक तथा अमानवीय जीवनशैलीलाई परिवर्तन गरेर आफ्नो र सम्पूर्ण देश तथा समाजको शिर उचो हुने गरी काम गर्ने आवश्यकता छ यतिखेर। राष्ट्रनिर्माण र समाज विकासको यस घडीमा साहित्यको भूमिका के हुन्छ भन्ने बहस निकै उठ्दै आएको छ हाम्रोमा। यसको प्रभावकारी जवाफ बनेर भर्खरै प्रकाशित छ, नीलम कार्की ‘निहारिका’को ऐतिहासिक उपन्यास योगमाया।
पूर्वी नेपालको भोजपुर–संखुवासभा खण्डमा आजभन्दा एक शताब्दीअगाडि सामाजिक–सांस्कृतिक परिवर्तनको साहसी नेतृत्व गरेकी योगमायाको जीवनीलाई केन्द्रमा राखेर लेखिएको छ यो उपन्यास। बालविवाहको सिकार भएपछि त्यसबाट उम्कन आसाम भासिएको तीन दशकपछि माइतीघर फर्किंदासम्म जीवन हेर्ने फरक दृष्टिकोणको विकास भइसकेको हुन्छ उनमा। जीवनका यावत् हन्डर र अनुभवले उनलाई एक बारको मानवचोलामा पहिला आफ्नै मनको बत्ती बाल्ने र त्यसकै क्रमिक विस्तारले समाजलाई उजिल्याउने संकल्पमा पु¥याउँछन्। छुवाछूत, महिला हिंसा, पुराण र पुरेत्याँइको गलत प्रयोग, सामन्तहरूको कहालीलाग्दो अत्याचार र यी सबैप्रति सरकारी बेवास्ताको पराकाष्ठाले पिल्सिएका जनताको पक्षमा आवाज उठाउन थालेपछि तिनै अत्याचारको आडमा फाइदा लिँदै आएकाहरूले उनको अभियानमा अवरोध गर्न थाल्छन्।
समाज परिवर्तनका लागि जनताको तहको चेतना मात्र काफी छैन, सरकारी हस्तक्षेप पनि जरुरी छ भन्ने बुझाइ पछि उनले कल्पना गरेको पूर्ण न्यायिक र प्रजातान्त्रिक राज्यलाई त्यो समयको भाषामा ‘धर्मराज्य’ भन्दै त्यसको स्थापनाका लागि आफू र आफ्ना अनुयायीहरूको पाइला बढाउँछिन्। मागपत्र बुझाएका भरमा मात्र समाजमा परिवर्तन नआउने र शासकहरूका पनि आँखा नखुल्ने देखिएपछि एक ऐतिहासिक घटना घटाएर त्यसलाई मिथकको जस्तो स्थान दिलाउँदै त्यसको विम्बमार्फत युगयुगान्तरसम्म समाज सुधारको बाटो देखाइ रहनुपर्ने निष्कर्षमा पुग्छन् उनी र उनका अनुयायीहरू। त्यसैले २४० जनाले एकसाथ अग्निकुण्डमा हामफालेर आत्मदाह गर्ने निर्णय गरी त्यसको तयारी र प्रचार गर्छन्। त्यो आयोजना सरकारी अवरोधले बिथोलिएको तीन वर्षपछि ६८ जनाले अरुण नदीमा हामफाली जलसमाधि लिँदासम्मका घटनाहरूको मार्मिक वर्णन छ, उपन्यासमा। उपन्यासले योगमायालाई समाज सुधारकी एक अभियन्ताका रूपमा सम्पूर्ण शक्तिका साथ स्थापना गरेको छ र उनका विरुद्धमा त्यो बेलादेखि अझैसम्म गरिने कुप्रचारहरूलाई गलत सामाजिक दृष्टिकोणहरूको उपज देखाएर छेउ लाइदिएको छ।
यहाँ चित्रित योगमायाको जीवन नारीवादीहरूले नारीको केन्द्रीयता र क्षमता, समाज सुधारकहरूले परिवर्तनको वाहक, मानवताका पक्षधरहरूले विश्वबन्धुत्वको भावनाको विस्तारक, राजनीतिकर्मीहरूले नेतृत्व क्षमताको विकास र प्रयोग छ। साथै शिक्षक, प्राध्यापक र सामाजिक अभियन्ताहरूले एक सफल प्रेरक, राष्ट्रप्रेमीहरूले माटोको पुजारी, सांस्कृतिक अभियन्ताहरूले सो परिवर्तनको मोडेल व्यक्तित्व, सामान्य नागरिकहरूले आफ्नै मनको कुरा भनिदिने व्यक्ति र समाजमा पछाडि परेका र पारिएकाहरूले आफ्नै दबिएको आवाजको प्रस्फुटनका रूपमा व्याख्या गर्न मिल्ने बहुआयामिक सम्भावनाको केन्द्र बनेको छ। यो यस उपन्यासको पहिलो र प्रभावकारी तथा सामाजिक योगदानसँग जोडिएको सफलता हो।
यस उपन्यासको साँच्चैको सफलता भने इतिहासको कलात्मक औपन्यासीकरणमा छ। आफ्नै कोरा कल्पना र छिटपुट अनुसन्धानमा आधारित धेरै समकालीन नेपाली उपन्यासहरू दैनिक पत्रिकाका समाचार र तिनैका विचार पृष्ठको गठजोडले बनेका अपरिपक्व राजनीतिक भाषणजस्ता छन्। तिनै गैरसाहित्यिक समाचारमूलक उत्पादनलाई यो समयको महान् साहित्य भनेर पाठकको समय र स्रोतको व्यापक दुरुपयोग हँदै गर्दा पल्पसा क्याफे, राधा, कर्णाली ब्लुज, सेतो धरतीहरूले नेपाली उपन्यासकारिताको अलिकति नाक जोगाइदिएको समय हो यो। योगमाया यिनै सफल साहित्यिक कृतिहरूको लहरमा उभिनसक्ने तागतका साथ आउनु यसको प्रमुख सफलता हो।
काल्पनिक कथा नभएर वास्तविक ऐतिहासिक यथार्थलाई यति चाखलाग्दो गरी बुन्न सक्नु साँच्चैको कलाकारिता हो। पचासौंको संख्यामा रहेका वास्तविक पात्रहरूलाई उनीहरूको जीवनको ठ्याक्कै यथार्थसहित प्रस्तुत गर्नु र पढ्दै जाँदा कतै असहज र कृत्रिमजस्तो नलाग्नु यसको अर्को सफल पक्ष हो। वास्तविक ऐतिहासिक घटनालाई त्यो समयको परिस्थिति र पात्रहरूसँग ठ्याक्कै जोडेर एक ऐतिहासिक रहस्यको रूपमा प्रस्तुत गरिएकाले यो सफलता हात लागेको हो। यसमा प्रयोग गरिएका भाषा, भाषिका र संवाद दुरुस्त त्यही स्थान र त्यसै समयका मान्छेहरूले बोल्ने खालकै हुन् भन्ने विश्वास लागिरहन्छ, उपन्यासभरि। पात्रहरूका सामाजिक परिवेश र चेतनाको स्तर अनुसारका नै छन् तिनका विविधता पनि।
किताबले योगमायालाई समाज सुधारको अभियन्ताका रूपमा सम्पूर्ण शक्तिका साथ स्थापना गरेको छ र उनीविरुद्ध त्यस बेलादेखि अझैसम्म गरिने कुप्रचारलाई गलत सामाजिक दृष्टिकोणको उपज देखाएर छेउ लाइदिएको छ।
ऐतिहासिक उपन्यास भएकाले तथ्यहरूको सारपूर्ण खोजी र प्रस्तुति त छ नै यसमा। घटनाहरूको स्थान, परिवेश र त्यससँग जोडिएका अन्य पक्षहरू सामयिक मात्र होइन जीवन्त पनि लाग्छन्। ती सबैको सजीव चित्र पाठकको मस्तिष्कमा उतार्न र त्यसको प्रभावले मन हल्लाउन सफल छ लेखन। विशेषतः पात्रहरूको जीवनको भौतिक, सामाजिक, मानसिक र संवेदनात्मक यथार्थलाई जस्ताको तस्तै चित्रण गरी पाठकको मन र मस्तिष्कसम्म त्यसको सञ्चरण हुन सकेकाले यो प्रभाव उत्पन्न भएको हो। साहित्य विचार, संवेदना र कलाको त्रिवेणी भएर मात्र सशक्त हुने सैद्धान्तिक तर्कको व्यावहारिक पुष्टि भएको छ उपन्यासमा। यही क्षमताको प्रस्तुतिसहित निहारिकाले आख्यान लेखनको आफ्नै विगत र अधिकांश समकालीन नेपाली आख्यानकारहरूलाई उछिनेकी छन् यस कृतिको सिर्जनामार्फत।
पात्रहरूबाट नै आफ्नो कथा भनाएर आख्यान अघि बढाउने निहारिकाको आफ्नै स्थापित शैली यहाँ असाध्यै सुहाएको छ। अधिकांश पात्रहरू नारीहरू नै भएकाले ‘आइमाइको मर्म बुझ्छु नि दिदी, म पनि आइमाइ नै हुँ’ भन्ने उपन्यासकी पात्र सानी हजुरको भनाइ निहारिकाको लेखनमा पनि लागू भएको छ। पात्रहरूको विकास पनि लोभलाग्दो छ। उपन्यास पढ्दै जाँदा घटना र परस्थितिको निर्माण पनि त्यसलाई सुहाउँदो गरी विस्तार हुँदै आएको पाइन्छ।
सुरुमा ससाना दुःखले पनि विचलित हुने ‘माया’ आध्यात्मिक र जीवनयोग दुबैको प्रयोगले ‘योगमाया’ बनेपछि कस्तै विपद्सँग पनि आफू मात्र नडराउने होइन, आफ्ना अनुयायीहरूलाई पनि त्यस्तै बनाएर अग्निसमाधिसम्मका लागि लस्कर लाग्नसक्ने परिस्थितिको निर्माणसमेत कृत्रिम लाग्दैन। साथै पात्रहरूको बीचका सम्बन्धहरू पनि त्यसैगरी भरपर्दो प्रकारले निर्माण गरिएका छन्। ठूली हजुर र सानी हजुरको सुरुदेखि अन्त्यसम्मको सम्बन्ध यसको उदाहरणीय प्रमाण हो।
यो उपन्यासको अर्को महत्वपूर्ण पक्षको निर्माण गरेका छन् प्रतीकात्मक भाषा र घटनाको मानवीय संवेदनासँगको एकीकरणले। पहिलो विवाह भएको घरमा बाख्राका माउपाठा एक ठाउँमा प्रेमपूर्वक बसेको देखेपछि आफ्नी आमालाई झल्झली सम्झिएर त्यही क्षण त्यो घर छाड्ने निर्णय र सो निर्णयको तत्काल कार्यान्वयन गरेको जस्ता प्रतीकात्मक मानवीय संवेदनाका घटना उपन्यासमा धेरै छन्। बौद्धिक कुरा गरिरहँदा बीचबीचमा पात्रहरूको संवेदनाका घटनाहरू सुटुक्क घुसाएर बौद्धिक बहसको एकाकीपनलाई पनि मानवीकरण गरिएको छ, प्रशस्त स्थानमा।
उपन्यासको प्रस्तावना र उपसंहार मूल कथाभन्दा भिन्न छन्। यिनमा योगमायामाथि अनुसन्धान र लेखन गर्नेहरूदेखि उपन्यासकारलाई यो काममा सहयोग गर्नेहरूका प्रसंग छन्। यसले उपन्यासमा ऐतिहासिक र अनुसन्धानात्मक आवरणमा मानवीय कुरा गर्ने वातावरण सिर्जना गरेको छ। विभिन्न स्रोत सामग्रीहरूको प्रयोगले उपन्यासमा अन्तरपाठीयताको सफल प्रयोग हुन गएको कारणको प्रस्टोक्ति पनि हो यो। सपना र यथार्थको संयोजन गराई लेखिएको उपसंहार आफैंमा एक प्रतीक हो। जलसमाधिमा जानेहरूलाई सहिदको स्थानमा राखेर श्रद्धाञ्जलि दिँदै अन्त्य गरिएको यस खण्डले योगमाया र उनको साथका सामाजिक अभियन्ताहरूको सपनालाई अबको नेपाली समाजमा यथार्थमा परिणत गर्न जरुरी छ भन्ने जबरजस्त तर्कको साहित्यिक प्रयोग हो यो।
मुद्राराक्षस, कतैकतै मौसमको अपत्यारिलोजस्तो लाग्ने प्रयोग र कुनैकुनै घटनाको अनावश्यक विस्तारले उपन्यासको सौन्दर्य केही क्षय गरेका भए पनि समग्रमा इतिहास उपन्यासमा प्रवेश गरेर कसरी जीवन्त बन्नसक्छ भन्ने सफल उदाहरण बनेको योगमाया सामाजिक परिवर्तनको उदाहरणीय अभियान, मानवीय संवेदना र शैलीगत सौन्दर्यको त्रिवेणी भएकैले एक शक्तिशाली आख्यान भएको छ।