उत्पल दा
तिनताका स्नातक गर्दै थिएँ म, इन्जिनियरिङर्फ। बंगलादेशको दक्षिणी भेग खुल्नास्थित एक प्राविधिक कलेजमा। कलकत्ता–वेनापोल–जसौर हुँदै पुगिन्छ खुल्ना। व्यापारिक रूपले महत्वपूर्ण ट्रान्जिट मानिन्छ, जसौर सहर।
यो त्यही सहर हो, जसमाथि अमेरिकी विद्रोही कवि एलेन गिन्सबर्गले एउटा लामो कविता लेखेका छन्, ‘सेप्टेम्बर एट जसौर रोड।’ बंगलादेशको स्वाधीनताअघिको तनावग्रस्त समय र त्यही समयको त्रासदीलाई समेटेको छ, यस कविताले। कविताको अन्त्यमा उनी लेख्छन् :
लाखौंलाख नवजात शिशु पीडा भोग्दैछन्
लाखौंलाख आमा झरीमा रुझ्दैछन्
लाखौंलाख दाजुभाइ आर्तनाद झेल्दैछन्
अनि लाखौंलाख साना नानी बेसहारा बन्दैछन्।
सेख मुजिबुर रहमानको अगुवाइमा नौ महिना चलेको सघन स्वतन्त्रता संग्रामपछि बंगलादेश जन्मियो, नयाँ राष्ट्रको रूपमा। मुजिबुरको हत्यापछि बंगलादेशको राजनीतिक दिशा सहज रूपमा अघि बढ्न सकेन। पछि हुसैन मोहम्मद एर्सादले सत्ता हत्याए। एर्सादको पतनसँगै बंगलादेश नेसनालिस्ट पार्टीकी प्रमुख खालेदा जिया प्रधानमन्त्री बनिन्।
नब्बेको प्रारम्भ। त्यही समय भारतमा लालकृष्ण आडवानीको अगुवाइमा रथयात्रा चल्दै थियो। हिन्दु ‘फ्यानाटिक्स’ले बाबरी मस्जिद भत्काइहालेछन्, त्यही ठाउँमा राम मन्दिर बनाउने माग गर्दै। अनि त के र ? धार्मिक हिंसा र मुठभेडले भारतका विभिन्न प्रान्त अशान्त हुन थाले। यसको असर हामी अध्ययनरत खुल्नाका गाउँसहरमा पनि देखिन थाल्यो। अखबारका पानाहरू त्यहाँका अल्पसंख्यक हिन्दुमाथि भएका आक्रमणका घटनाले भरिन थाले, दिनहुँजसो। बंगलादेशी हिन्दुहरू असुरक्षित महसुस गर्दै थिए। यसको प्रत्यक्ष असर देखियो, त्यस वर्षको दुर्गापूजा उत्सवमा। सार्वजनिक ठाउँमा मण्डप बनाएर उल्लाससाथ पूजा अनुष्ठान गर्ने बंगलादेशी हिन्दुहरू चुपचाप र उत्साहविहिन देखिए त्यो साल।
हामीसँगै अध्ययनरत उज्ज्वल, सुव्रत, विप्लवहरूको दबिएको आक्रोश र स्पष्ट त्रास मिश्रित मलीन मुहार अल्पसंख्यक समुदायको सकसका साक्षी थिए। उनीहरू साउतीको स्वरमा सुनाउँथे, ‘हाम्रोतिर त कलकत्ता बसाइँ जाने कि भन्ने खासखुस चल्दैछ।’ धार्मिक विवादको यो मुद्दा सेलाउन खोज्दै थियो, त्यसैबीच तसलिमा नसरिनको उपन्यास ‘लज्जा’ बजारमा आयो। ‘लज्जा’ले हिन्दु मुस्लिमबीचको सामाजिक सद्भावलाई थोरै प्रभाव त पार्यो, तर बाबरी मस्जिद काण्डजस्तो गरी भड्काएन। यद्यपि यसबाट लेखक नसरिनको जीवनमा भने सुनामी नै आयो। बंगलादेशबाट निष्कासित भइन् उनी र भारतको कलकत्ता, स्विडेनलगायत विभिन्न देशमा शरण लिन बाध्य भइन्। यो क्रम अझै रोकिएको छैन।
नसरिनलाई मात्र होइन, विषम परिस्थितिमा कलकत्ताले धेरै बंगलादेशी आप्रवासीलाई समेत शरण दिएको छ। यिनैमध्येका कैयौं बंगलादेशी त भारतका नागरिक बनिसके। तर, प्रतिकूलतामा पनि बंगलादेश छाड्न नचाहने थुप्रै अल्पसंख्यक हिन्दु थिए। हाम्रो कलेजमा तिनै मध्येका पछिल्लो पुस्ताका एक छात्र थिए, उत्पल चक्रवर्ती। हामीभन्दा एक ब्याच सिनियर थिए, त्यसैले धेरैका उत्पल दा थिए उनी। रानो थिए, उनी धेरैका। मौरीझैं झुम्मिन्थे, साथीहरू उनको वरिपरि। क्यान्टिनमा खाजा खाँदा होस् या कलेजको लिजर समयमा।
बंगालीभाषी कविहरू रवीन्द्रनाथ, सैयद साम्सुल हकका कविता वाचन गर्दै माहोल तताउँथे उनी। कहिले शरतचन्द्र, बांकिकमचन्द्र, सुनील दाका गल्प कहानी सुनाउँथे। अनि कहिलेकाहीँ संसारभर चलिरहेका विद्रोही आन्दोलनका रोमहर्षक कथा सुनाउँथे उनी। राजधानी ढाकाका विद्यार्थी पनि थिए उल्लेख्य, त्यहाँ। उनीहरूमा थोरै अहम् थियो राजधानीवासी हुँ भन्ने, अलि बढी जान्नेसुन्ने छु भन्ने। तर अचम्म के भने, ती सबै उत्पल दाका अघि आज्ञाकारी श्रोता बन्थे। बंगलादेशको सानो सहर कुमिल्लामा हुर्केबढेका उत्पल दा प्रतिको यो सम्मोहन लोभलाग्दो थियो। एक कोणबाट हेर्दा राजधानीवासीलाई मात दिएका थिए, मोफसलका उत्पल दाले।
टिन ट्वान्टीको समय। कलेज परिसर प्रेमप्रसंगले गुञ्जायमान थियो। उत्पल दाका समकक्षीहरू हाम्रा क्लासमेट या अझ जुनियर केटीहरूसँग प्रेममा मग्न थिए। कहिले खालिसपुर, कहिले न्यु मार्केट त कहिले फूलतलाका सिनेमा हलमा भेटिन्थे ती जोडीहरू। तर, उत्पल दा यी गतिविधिबाट टाढा थिए। उनी त हाम्रा क्लासमेट केटाहरू हिन्दोल, सामिम, सुमन, सैवाल, मिल्टनहरूसँग गुरुगम्भीर बहसमा घन्टौं लीन हुन्थे— राजनीति, संस्कृति र समाजका विविध आयामबारे। साथीभाइहरूसँग बसिबियाँलोमा मनग्गे समय खर्चन्थे उनी। मन्ना डेले गाएको ‘कफी हाउसेर सेई आड्डा टा’ गाइबस्थे प्रायः उनी। बंगाली अड्डा संस्कृतिको प्रभाव जो थियो।
हामीलाई पढाएका एक शिक्षकले उत्पल दाको निधनलगत्तै लेखेका थिए, ‘उत्पलको मृत तस्बिर अपलोड नगर्दा हुँदैन? किनकि म उनी जीवित रहेको भ्रममा रमाउन चाहन्छु।’
कलेजमा हामी नेपालीहरूको सानो समूह थियो। कहिलेकाहीँ नेपालीहरू एकसाथ कतै निस्कँदा उत्पल दासँग जम्काभेट हुन्थ्यो। उनी उन्मुक्त पारामा सोध्थे, ‘किरे नेपालीरा (के छ हो नेपालीहरू) ? ’ विपुल र म टेनिस खेल अभ्यास गथ्र्यौं। टेनिस कोर्टतिर भेटिए फेरि जिस्क्याइहाल्थे, ‘के छ हालचाल आगासी–साम्प्रास जोडीको ? ’ क्रिएटिभ अनि जिनियस थिए उनी। हाम्रो ब्याचको समापनको समयमा निकालिएको सुभेनियर ‘र्याग ९४’ को कभर डिजाइन उनकै ब्रेनचाइल्ड थियो।
पढाइ सकेर इलेक्ट्रोनिक्स् गजेटको कारोबार सुरु गर्न थाले उत्पल दा। अखबारहरूमा लेखरचना पनि छापिन्थे उनका। अनलाइन मिडियाको वृद्घिसँगै उनी अरू विस्तारित हुन थाले। तर, त्यो विस्तार अचानक रोकियो एक दिन। आफ्नै अफिसमा लागेको आगोले लियो, उनको ज्यान। धेरै नै क्षति पुगेको थियो, उनको शरीरमा। अस्पतालमा उपचाररत उत्पल दाका निम्ति मन्दिरमा प्रार्थना गर्ने, मस्जिदमा दुवा माग्ने या कमब्याकको निरपेक्ष कामना गर्ने उनका स्वजन मात्र थिएनन्; दूर दूरन्तसम्मका हितचिन्तकहरूसमेत थिए।
परिआए विदेशमै पनि लगेर उपचार गराउन पहल गर्दै थिए, कैयौं सहृदयीहरू। उनको थप उपचारका लागि धनराशि संकलन गर्न थालिएको थियो। त्यसैले फेसबुकमा एउटा अकाउन्ट खोलियो ‘उत्पलेर जन्य’ अर्थात् उत्पलका लागि। झन्डै एक महिनासम्म उनी फर्किने धिपधिपे आशामा रहे शुभचिन्तकहरू। तर ३० अप्रिलको साँझ उनी बिते। भौतिक रूपबाट उनी टाढिए पनि उनलाई विस्मृत बन्न नदिने प्रण गरे साथीभाइले। उनको नाममा खोलिएको यो अकाउन्ट अद्यापि सञ्चालनमा छ। यसमा उनीसँग सम्बन्धित सन्दर्भहरू पढ्न, हेर्न पाइन्छ। उनीसँग बिताएका पल, संस्मरण, फोटो, कुराकानी अनवरत थपिएका छन्। उनका दुष्टामी (हाँसो, रेला)का साक्षीहरूले आफ्ना अनुभव बाँड्दैछन् निरन्तर।
अतिवाद पछिल्लो दशक मौलाइरहेको छ सर्वत्र। चाहे त्यो जातीय होस् या धार्मिक या अन्य कलेवरमा। पाकिस्तानी धार्मिक उग्रताको पदचाप अनुसरण गरिरहेछ भारत यतिखेर, मोदीको अधिनायकत्वमा। टर्कीमा एर्दोगानको असहिष्णु व्यवहार उत्तिकै बढ्दैछ, कुर्दहरूप्रति। अमेरिकामा ट्रम्पको ह्वाइट सुप्रिमेसीले सीमा नाघ्दैछ। यिनै धार्मिक, जातीय अन्धोपना विस्तारै उग्र राष्ट्रवादका रूपमा मौलाइरहेको छ— युरोप, अमेरिका, भारत, नेपाल जताततै। केही वर्षयता बंगलादेशमा पनि इस्लामी अतिवादीको गतिविधि बढ्दै छ। धार्मिक निरपेक्षता चुनौतीको सँघारमा छ। निलय चक्रवर्ती, अनन्त विलय दास, वासिकुर रहमान बाबु, अभिजित रोयजस्ता ब्लगरहरू अनाहकमा मारिएका छन्।
निरपेक्ष विचारका संवाहक थिए, सेख मुजिबुर। उनकै छोरी सेख हसिनाको कार्यकालमा आएर कसैले व्यक्त गरेका विचारकै कारण मर्नुपर्ने स्थिति निम्तिनु निश्चय पनि राम्रो संकेत होइन। प्रधानमन्त्री हसिना निरपेक्षताको विरासतबाट कोल्टे फेर्न खोजेझैं देखिन्छ, पोलिटिकल माइलेजका लागि। पछिल्लो समय थपिएको रोहिंग्या शरणार्थीहरूको ओइरोले त समस्या झन् जटिल मोडमा पुगेको छ। टर्कीका राष्ट्रपति एर्दोगान लगायतका क्षेत्रीय शक्ति केन्द्रहरू यही समस्या समाधानको बहानामा बंगलादेशमा धार्मिक अतिवाद निर्यात गर्न खोज्दैछन्।
आईएसआई, अल कायदाहरूका स्थानीय संगठन त छँदैछन्, बंगलादेशमा इस्लामी धर्मयुद्घको पसल थापी बसेका, जमात–ए–इस्लामको आह्वानमा। डेढ वर्षपहिले ढाकाको गुल्सनस्थित पोस होटलमा भएको आक्रमण पनि यस्तै समूहको पहलमा गरिएको थियो। वामपन्थी रुझानका उत्पल दा पनि निरपेक्षताका पक्षपाती थिए। तर पनि सहअस्तित्वका पक्षमा लेखिरहन्थे उनी। धार्मिक अतिवाद र असहिष्णुताका विपक्षमा देखिन्थे उनी। भलै अन्य ब्लगरझैं उनी अतिवादीको निशानामा परेनन्, आगलागीमा परेर जीवन गुमाए। तर पनि उनको अवसानले सहअस्तित्वको लडाइँ र सहिष्णु समाजको पैरवीमा थोरै धक्का भने अवश्य लागेको छ।
२१ फेब्रुअरीलाई विश्व मातृभाषा दिवसका रूपमा मनाउन सुरु गरिएको छ, यसको जस बंगलादेशलाई जान्छ। सन् १९५३ को फेब्रुअरीको यसै दिन कैयौं बंगालीभाषीले भाषाका लागि ज्यान आहुति दिएका थिए। तत्कालीन पूर्वी भेगका बंगालीभाषीमाथि पनि पाकिस्तानले उर्दु भाषा लादेपछि त्यसको विरोधमा आन्दोलन सुरु भयो। यसरी भाषाको निहुँमा सल्केको आगोको झिल्कोले दुई दशक समय पार गर्दानगर्दै डढेलोको रूप लियो। फलतः सन् १९७१ मा पूर्वी पाकिस्तान स्वाधीन राष्ट्र बंगलादेशका रूपमा विश्व मानचित्रमा थपियो। भावुक बन्छन्, बंगलादेशीहरू ‘एक्कुसे फेब्रुअरी’को प्रसंग कोट्याउँदा। यस दिनलाई विशेष रूपमा स्मरण गर्छन् उनीहरू। देशभरका सहिद मिनारमा स्मरण सभाहरू आयोजना गरिन्छ। ढाका सहरमा महिनाभर पुस्तक मेला (वोइमेला) लाग्छ।
यस वर्षको वोइमेलामा उत्पल दाको अनुगुन्जन पाइन्छ, मसिनो स्वरमै भए पनि। उत्पल दाका एक मित्र हाफिजुर रहमानको यात्रा संस्मरण ‘युरोपेर सोनाली दिनगुली (युरोपमा बितेका स्वर्णिम दिनहरू)’ यही वोइमेलामा विमोचन गरिएको छ। उत्पल दाप्रति समर्पण गरेका छन्, उनले यो किताब। हालै प्रकाशित ‘ढलभांगा’ वोइमेलाको अर्को आकर्षण बनेको छ। यसभित्र उत्पल दाको एउटा कथा ‘उडन्त डल्फिन’समेत समावेश छ। हास्यव्यंग्यले भरिभराउ हुन्छन्, उत्पल दाका लेखहरू। समसामयिक घटनालाई इतिहासको कसीमा राखेर पर्गेल्थे उनी। खरो टिप्पणी उनको परिचायक बनेको थियो। डेढ वर्षपहिले एउटा स्ट्याटस यस्तो थियो उनको, ‘मत्युको खबरमा पनि धमाधम लाइक ठोक्दैछन् मान्छे। पापी सहर।’ संवेदनाशून्यहरूको बस्तीलाई पापी सहर नभने के भन्नु र ?
म्याजिकल रियालिज्मको बंगाली संस्करण थिए, दिवंगत लेखक हुमायुन अहमद। रिक्सावालदेखि नेता, कलाकारसम्मले मनयोगले पढ्थे उनलाई। उनकै उपन्यास पढेर हुर्केको उत्पल दाको पुस्तामा उनको म्याजिकको छाप नपर्ने कुरै भएन। लेखनमा मात्र कहाँ हो र त्यो पुस्ताको उल्लेख्य हिस्साको जीवनशैली नै हुमायुनकृत पात्र हिमुमय बनेको थियो। त्यसैले त हिमुझैं रातबिरात खाली पैताला सडकसडक डुलिहिँड्नु, झरीमा निष्फिक्री रुझीहिँड्नु अनि जुनेली रातमा चन्द्रमा हेर्दै टोलाइबस्नु सामान्य थियो, हाम्रो होस्टेल परिसरमा। यहाँसम्म कि पुलिस प्रशासन पनि कतिपय यस्ता अस्वाभाविक घटनाचक्रबारे जानकार थिए। त्यसैले होला, त्यस्ता जीवित पात्रहरूका अन्टसन्ट व्यवहारलाई अनदेखा गरिदिन्थे उनीहरू प्रायः। उत्पल दा, सरिफ भाइ, पलाँस मात्र कहाँ हो र ? मलाई पनि हिमु फिभरले राम्रै गाँजेको थियो, त्यो बेला।
उत्पल दाका दुई छोरी चन्द्रकथा र रूपकथाका निर्दोष अनुहार देख्दा साह्रै नरमाइलो लाग्छ। उनकी पत्नी उर्मी दीको भावविह्वल मुखाकृतिले अरू पीडा थप्छ। उनी बितेको झन्डै वर्ष दिन हुन आँट्यो तर उनलाई भुल्न सकिरहेका छैनन्, आत्मीयजनहरू। फेसबुकमा ‘उत्पलेर जन्य’का भित्ताहरू मर्मस्पर्शी सन्दर्भहरूले भरिएका छन्। हामीलाई पढाएका एक शिक्षकले उत्पल दाको निधनलगत्तै लेखेका थिए, ‘उत्पलको मृत तस्बिर अपलोड नगर्दा हुँदैन ? किनकि म उनी जीवित रहेको भ्रममा रमाउन चाहन्छु।’ कुनै सेलिब्रेटी थिएनन्, उत्पल दा। तर पनि यो ओविच्युरी पिक्लु सरले भनेझैं उत्पल दालाई जीवित रूपमा महसुस गर्ने एक प्रयत्न मात्र हो।