कैलाली घटना : पीडकहरू नउम्किऊन्
मार्च ८ (२४ फागुन) मा विश्वभरि लैगिंक समानताका लागि अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा कैलालीमा त्यही दिन एक युवतीलाई बोक्सीको आरोपमा अमानवीय यातना दिइएको छ। घोडाघोडी नगरपालिका– ५ की राधा चौधरीलाई झारफुक गर्ने र आफूलाई भोलेबाबा भन्ने रामबहादुर चौधरीले बोक्सीको आरोप लगाए। त्यसपछि रामबहादुर, पार्वती चौधरी र किस्मती चौधरीले राधालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरे करिब पाँच घन्टाजति। राधाको शरीरका विभिन्न भागमा घाउचोट लागेको छ। उनलाई शरीरका संवेदनशील अंगमा पनि प्रहार गरिएको छ। उनीमाथि गरिएको दुव्र्यवहारको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्।
अझ उदेकलाग्दो के छ भने राधामाथि कुटपिट हुँदा समाजका मानिस कथित भोलेबाबाको घरमै थिए तर उनीहरूले छुट्याउन कोसिस गरेनन्। बरु उल्टै ताली बजाउने र फोटो र भिडियो खिच्ने गरे। सुन्दा मात्रै पनि आङ नै जिरिंङ हुने यस्तो क्रियाकलाप राधाले निरीह भएर बोक्सी भएको स्वीकार नगरुञ्जेल जारी रह्यो। अझ दुःखलाग्दो के छ भने राधामाथि भएको दुव्र्यवहारमा प्रहरीले उजुरी लिन मानेन। नगरपालिकाका मेयर र सम्बन्धित वडाका अध्यक्षले पनि यस घटनामा ‘कुरा मिलाएर’ यसलाई सामसुम पार्ने प्रयत्न गरे। यस्तो जघन्य अपराधमा मेलमिलाप गराएर सामसुम पार्न खोज्नु आफैंमा दण्डनीय क्रियाकलाप हो। ११ कक्षामा पढ्ने अबला नारीमाथि भएको यस्तो अमानवीय कुकृत्यको जतिसुकै भत्र्सना गरे पनि कमै हुन्छ।
यस घटनाले हाम्रो समाजमा व्याप्त रहेका केही कुरीति छर्लंग पारेको छ। पहिलो– अझै पनि बोक्सी प्रथालगायत रुढीवादमा विश्वास रहेको देखिन्छ। दोस्रो– बोक्सीको आरोपमा दिनदहाडै शारीरिक आक्रमण भोगिरहेकी युवतीको आधुनिक मोबाइललगायत उपकरणबाट फोटो र भिडियो खिचिरहँदा पनि मानिसमा आत्मग्लानि नभएको देखिन्छ। एक प्रकारले समाजमा यस्तो हिंसा र परपीडक व्यवहारप्रति स्वीकार्य बढेको देखिन्छ। तेस्रो– समाजलाई न्याय र कानुन प्रत्याभूत गराउने स्थानीय तह र प्रहरी प्रशासनमा पनि सामाजिक रूपमा शक्तिशालीहरूको प्रभाव रहेको देखिन्छ। चौथो– समाजमा निरीण्ह र निर्बलहरूले न्याय पाउन गाह्रो हुँदै गइरहेको यस घटनाले देखाउँछ।
२०४६ मा प्रजातन्त्रको पुनस्र्थापनापश्चात् नेपालले सन् १९७९ मा अस्तित्वमा आएको महिलाविरुद्धका सबै किसिमका विभेद निर्मूल गर्ने महासन्धिमा हस्ताक्षर गरेको छ। संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय श्रम संगठनको सदस्य भएकाले त्यसमा भएका लैगिंक विभेदविरोधी प्रावधानलाई पनि नेपालले स्विकारेको छ। ती प्रावधान घरेलु कानुनसरह लागू गर्नुपर्ने बाध्यता नेपाललाई हुन्छ। नेपालको संविधानले पनि महिला हकको विशेष व्यवस्था गरेको छ। यो हकले महिलाविरुद्धका विभेद र हिंसा हटाउन विभिन्न कानुनसमेत बनेका छन्। बोक्सीको आरोपमा महिलालाई अपमान र दुर्व्यवहार गर्ने प्रवृत्ति रोक्न ‘बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२’ जारी भएको छ। यो ऐनले कुनै पनि महिलालाई अपमान र दुर्व्यवहार गर्न नपाइने र त्यसो गर्ने पीडकलाई दण्ड र सजायको व्यवस्था गरेको छ।
बोक्सी प्रथालगायत महिलाविरुद्धका हिंसामा संवैधानिक र कानुनी प्रावधान मात्र भएर पुग्दैन, मानिसको मनोविज्ञानबाटै महिलाविराधी पूर्वाग्रह निमिट्यान्न पारिनुपर्छ। अन्धविश्वास हटाउन पनि प्रभावकारी कदम चालिनुपर्छ। यसका लागि समाजका हरेक वर्ग र क्षेत्रमा पुग्ने गरी जागरण अभियान आवश्यक छ। राधा चौधरी उनीजस्तै अरूलाई बोक्सीको आरोप लगाउने र कुटपिट गर्नेहरूलाई ऐनअनुसार कारबाही गर्नुपर्छ। दण्डहीनताले समाजमा प्र श्रय पाइरहेकाले यस्तो जघन्य अपराधमा मेलमिलाप गरिनु कदापि जायज हुन सक्तैन। साथै उजुरी लिन नमान्ने प्रहरी र पीडकलाई दण्डित गर्न उदासीन रहने जनप्रतिनिधिलाई उचित कारबाही हुनैपर्छ। यस्ता घटनाले व्यापक र प्रभावकारी जनचेतना आवश्यक रहेको र कानुनअनुसार दण्ड सजाय प्रभावकारी रूपमा लागू गर्नुपर्ने जरुरी रहेको पनि देखाउँछन्।