डाक्टरले बिरामीको मनोभावना बुझ्नुपर्छ
चिकित्सक र बिरामीबीच आपसमा खुला संवाद, व्यावसायिक व्यवहार र स्वच्छ सम्बन्ध विकास हुनु अपरिहार्य छ। तर एकाध चिकित्सकबाट हुने त्रुटि एवं लापरबाहीलाई नजिर बनाउँदै बिरामीले डाक्टरको सक्षमताप्रति प्रश्न उठाएको देखिन्छ। निजी एवं सरकारी अस्पतालमा हुने चिकित्सकीय त्रुटि तथा लापरबाही दोहोरिन नदिन चिकित्सक र बिरामीका साथै व्यवस्थापन पक्ष र सरकारी निकायबीच उचित समन्वय र सहकार्यको टड्कारो आवश्यकता छ। यिनै स्वास्थ्य सवालमा आधारित रहेर सरकारी एवं सार्वजनिक अस्पताललाई कर्मस्थल बनाउँदै रातदिन बिरामीको गुणस्तरयुक्त सेवाका निम्ति लागिरहेका त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदीश अग्रवालसँग अन्नपूर्ण पोस्ट्का दिनेश गौतमले गरेको संवाद :
आफ्नो रुचि र दक्षताभन्दा पनि पारिवारिक दबाबले चिकित्सा शिक्षा अध्ययन गर्नेहरूका कारण गुणस्तरीय उपचार सेवामा ह्रास आउने खतरा देख्नुहुन्छ ?
परिवार र समाजको दबाबमा डाक्टर नै बन्नुपर्ने सोचको विकास हुनु गलत हो। विद्यार्थीको रुचिको विषय के हो, त्यसैमा उसले करिअर खोज्नुपर्छ। हामीले प्रवेश परीक्षा लिएर उत्कृष्ट विद्यार्थीलाई मात्र भर्ना लिने गरेका छौं। मानवीय सेवालगायत अन्य क्रियाकलाप पनि अध्ययन गरी भर्ना हुन चाहने विद्यार्थी चिकित्सक बन्नलायक छ कि छैन ? त्यसको जाँच गर्ने काम नेपाललगायत बाहिरी मुलुकमा पनि हुने गरेका छन्। भविष्यमा डाक्टर बनेर सेवा गर्न योग्य र सक्षम विद्यार्थी छनोट गर्नुपर्छ। यसका लागि विद्यार्थी र अभिभावक पनि सचेत हुन जरुरी छ।
चिकित्सकीय त्रुटि वा लापरबाहीका कारण पछिल्लो समय चिकित्सक र बिरामीबीच विश्वासको संकट देखिएको हो ?
हो, यसका पछाडि धेरै कारण छन्। पहिलो– डाक्टरलाई मात्र दोष दिएर पन्छिन मिल्दैन। पछिल्लो समय देखिएका चिकित्सकीय त्रुटि वा लापरबाहीका धेरैमध्ये मुख्य कारण बिरामी पक्षसँगको सञ्चारको कमी हो। डाक्टर र चिकित्सकीय समूहका सदस्यबीच अन्तरसंवादको अभाव हो। दोस्रो– ल्याब र इन्भेस्टिगेसनका अन्य सुविधा हुनुपर्यो। रोगको डायग्नोसिस डाक्टरले मात्र गर्न सक्दैन। आवश्यक उपकरण र पूर्वाधारलगायतका सुविधा हरेक स्वास्थ्य संस्थामा नहुन पनि सक्छ। उपकरण गुणस्तरीय छ कि छैन भन्ने पनि हेक्का राख्नुपर्छ। डाक्टर दक्ष भए पनि डायग्नोसिस सही नहुन सक्छ। तेस्रो– डाक्टरले हासिल गरेको गुणस्तरीय शिक्षा हो कि होइन। गुणस्तरीय शिक्षाको पनि धेरै प्यारामिटर हुन्छन्। त्यसमा पनि ध्यान दिनुपर्छ। जे उद्देश्यका लागि डाक्टरले ज्ञान, सीप सिक्नुपर्ने हो, त्यो सिकेको छ कि छैन, त्यसमा डाक्टर स्वयं विश्वस्त हुन जरुरी छ। पढिसकेपछि नेपालमा लाइसेन्सिङ परीक्षा पनि लिइएपछि पर्याप्त ज्ञान छ कि छैन भन्ने जानकारी हुनेछ। अनुमान गरेर सीप होला नि भन्ने अनुमान गर्नुपर्ने अवस्थामा छौं हामी। सीपमा आधारित रहेर लाइसेन्सिङ परीक्षा लिने गरिएको छैन। भविष्यमा सीपको पनि परीक्षा लिने व्यवस्था गर्नु जरुरी छ।
अप्रेसन गर्नुअघि बिरामीसँग सहमति लिनुपर्ने चिकित्सा सेवाको आधारभूत सिद्धान्त नै हो। तर सहमति नै नलिई शल्यक्रिया गरेका घटना सार्वजनिक भएका छन् त ?
हो, बिरामीसँग अनुमति लिएर मात्र शल्यक्रिया गर्नुपर्छ। तर कतिपय यस्ता इमरजेन्सी केसमा आउँछन्, कतिपय अवस्थामा अनुमति नै नलिई सकभर छिटो शल्यक्रिया गर्नुपर्ने हुन्छ। अनुमति नलिई शल्यक्रिया गर्नुको अर्थ बिरामी मार्नका लागि होइन। डाक्टरलाई दोष देखाउँदै तुरुन्तै गएर हातपात र अस्पताल तोडफोड गर्नु गलत हो। डाक्टरले गलत नै गरेको छ भने नियमनकारी निकाय छन्, ती निकायले कारबाही गरिहाल्छन्। पीडित पक्षले कानुनी उपचार लिन सक्छ। डाक्टर वा अन्य स्वास्थ्यकर्मी दोषी देखिए सजाय पनि हुन्छ, तर अस्पताल तोेडफोड गर्नु एक खालको अराजकता हो।
बिरामी र डाक्टर मात्र होइन, चिकित्सकीय समूहबीच पनि आपसमा सञ्चार सम्बन्ध नहुने जुन प्रवृत्ति छ, त्यसको समाधानका लागि पाठ्य सामग्रीमा पनि परिमार्जन गर्नुपर्ने त होइन ?
सञ्चारसम्बन्धी ज्ञान र सीपबारे पहिले पाठ्यक्रममा समावेश गरिएको थिएन। चिकित्साशास्त्र अध्ययन संस्थानले भने पाठ्यक्रममा समावेश गरेको छ। चिकित्साका विद्यार्थीमा पनि सञ्चार क्षमता अभिवृद्धि गर्ने खालका विभिन्न सीप क्षमता विकास गराउने गरेका छौं। तर मुलुकका अन्य मेडिकल कलेजमा सञ्चार सीपका बारेमा केकसरी पढाइ भइरहेको छ भन्नेबारेमा अनुगमन र मूल्यांकन गर्न बाँकी नै छ। हरेक मेडिकल कलेजमा सञ्चार सीपका बारेमा पढाइ हुनुपर्छ। सञ्चार सीपसम्बन्धी व्यवहारमा कार्यान्वयन ल्याउनु जरुरी छ।
बिरामीको अनुपातमा चिकित्सकको संख्या न्यून हुँदा सरकारी र निजी अस्पतालमा कार्यरत चिकित्सकलाई ‘स्ट्रेस’ परिरहेको हो ?
हरेक सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई अहिले स्ट्रेस परिरहेको छ। ओपीडीमा आएका सबै बिरामीलाई हेर्नुपर्ने हुन्छ। अस्पतालमा भीड हुन्छ। उपचार गर्न आएका सबै बिरामी हेर्न कसरी सम्भव हुन्छ ? दुई घन्टामा पचासजना बिरामी हेर्नुपर्दा त्रुटि हुने सम्भावना बढ्छ कि बढ्दैन ? जबकि बिरामीले गुणस्तरसँग मात्र मतलब राख्छन्।
देशअनुसार भेष भनेजस्तो नेपालमा बसेर अमेरिकाको स्ट्यान्डर्डको कल्पना गर्न सकिँदैन। एक घन्टामा चारवटा मात्र बिरामी हेर्न दिने र त्रुटि गरेपछि डाक्टरलाई समात्ने प्रचलन हुने हो भने त्रुटि नहुन सक्छ। एकजना बिरामीलाई जाँच गर्न पन्ध्र मिनेट लाग्छ। तर थोरै समयमा धेरै बिरामी जाँच गर्नुपर्ने नेपालका चिकित्सकका बाध्यता हुन्। स्वास्थ्यकर्मी मात्र होइन, अस्पतालको व्यवस्थापकीय पक्ष र सरकार पनि उत्तिकै उत्तरदायी छन्। चिकित्सक वा स्वास्थ्यकर्मीलाई मात्र दोष दिएर हुँदैन। यसको अर्थ चिकित्सक वा स्वास्थ्यकर्मी सर्वज्ञानी वा दक्ष सीप छ भन्न खोजिएको होइन।
गुणस्तरीय चिकित्सा सेवाका लागि चिकित्सक र बिरामीका पनि कर्तव्य होलान् नि ?
सर्वप्रथम चिकित्सक र बिरामीबीच प्रभावकारी ढंगले संवाद हुनुपर्छ। सञ्चारको प्रभावकारी कार्यान्वयन हुनु नै चुरो कुरो हो। केके कुरामा संवाद गर्ने र कसरी संवाद गर्ने भन्ने सम्बन्धमा ज्ञान र सीप हुनुपर्यो।
चिकित्सकले लक्षण सोध्दा उल्टै झर्किने र मलाई थाहा भएको भए तपाईंकहाँ उपचार गर्न किन आउँथे ? भनी प्रतिप्रश्न गर्ने प्रवृत्ति बिरामीमा छ। तर त्यसलाई चिकित्सकले नराम्रो रूपमा लिनु हुँदैन।