भुइँखाटमा महेश

भुइँखाटमा महेश

काठमाडौं : मदन पुरस्कार विजेता कथाकार महेशविक्रम शाहको सातौं कथासंग्रह ‘भुइँखाट’को विमोचन शनिबार वरिष्ठ साहित्यकार अभि सुवेदीले गरे।

विमोचनका क्रममा सुवेदीले भुइँखाटलाई कथाको बृहत्तर रूप भएको जनाउँदै ‘अहिले कथा संकटमा छ, कथा नभएर होइन, बरु धेरै भएर हो’ भन्ने विचार राखे। उनले देवकोटाले सानो झ्यालबाट देखिने दृश्यलाई कथा भनेको संस्मरण गर्दै अहिले लेखिएका सबै कथा, कथा नभएको जनाए। प्रहरी पेसाका क्रममा देशविदेश घुमेर त्यहीँका पात्रलाई जीवन्त बनाएर निरन्तर कथा सिर्जनामा लागेकोमा कथाकार शाहको उनले प्रशंसा गरे।

‘भुइँखाट’ कथासंग्रहमा सिंहदरबार, टेपरी गाउँ, गोल्डफिस, बडा डन, शीतलहर, सुपारी, पचास बिडा पानलगायत अठारवटा कथा छन्। पुस्तकबारे बोल्दै आख्यानकार नयनराज पाण्डेले भने, ‘मैले ईष्र्या गर्ने लेखक, विभेदरहित समाजको सपना देख्ने लेखक हुन् शाह। ‘भुइँखाट’मा संगृहीत कथामा विविधता छ। यहाँ मधेसका कथा छन्, देशको राजनीतिक सामाजिक विकासक्रमका कथा छन्।

विज्ञान छ, क्राइम थ्रिलर छ, यौन मनोविज्ञान छ।’ कुनैकुनै कथा बढी नाटकीय बनाइएको टिप्पणी गर्दै उनले भने, ‘मैले पनि राजनीतिज्ञलाई खलपात्रको रूपमा कथामा प्रस्तुत गर्छु। शाहको कथामा पनि राजनीतिज्ञलाई त्यही कित्तामा उभ्याइएको छ। देशमा यति धेरै परिवर्तन भयो। अब राजनीतिज्ञलाई सकारात्मक पात्रका रूपमा ल्याउनु जरुरी छ।’

अर्का आख्यानकार नारायण ढकालले शाह एक वरिष्ठ प्रहरी पनि रहेको र प्रहरीको व्यवहारदेखि आफ्नो सधैं अन्तरविरोध रहेको भन्दै ठट्यौली रूपमा पुस्तकबारे बोल्न उभिए। उनले नवचेतना भएका कथाकारका रूपमा परिचित शाहको खानपान नै शाकाहारी भएकाले उनका कथामा पनि शालीनता रहेको बताए।

उता लेखक शाहले आफू पेसाले प्रहरी भए पनि लेखनमा सानैदेखि रुचि रहेकाले आफ्नो आवरण नहेर्न आग्रह गरे। ‘पुलिसलाई हेर्ने दृष्टिकोण फरक हुनसक्छ तर मानिसको बाहिरी आवरणमा जानु हुन्न, भित्री हृदयलाई बुझ्नुपर्छ’, उनले भने।

‘हरेक साहित्यकारका लागि नयाँ कृति आउनु एक उत्सव हो।’ पेसासँगै साहित्य अगाडि बढाउने जाँगर आफ्ना बुवाआमाबाट पाएको बताउँदै शाहले भने, ‘जागिरका क्रममा बुवा बाहिर हुनुहुन्थ्यो। उहाँलाई मैले पत्र लेख्थेँ। मैले लेखेकै पत्रमा करेक्सन गरेर पठाउनुहुन्थ्यो। यसबाट म भाषाप्रति सचेत भएँ।’

शाहको पहिलो कथासंग्रह ‘सटहा’का कथामा प्रायः थारू जनजीवनका कथा छन्। ‘सिपाहीकी स्वास्नी’ र ‘छापामारको छोरो’ कथासंग्रहमा द्वन्द्वका कथा छन्। ‘अफ्रिकन अमिगो’ र ‘ज्याक्सन हाइट’ संग्रहमा विदेशको जनजीवन झल्कने कथा छन् भने ‘काठमाडांैमा कामरेड’ संग्रहमा द्वन्द्व पछिका कथा समाविष्ट छन्। विमोचित ‘भुइँखाट’ कथासंग्रहमा भने कुनै विषयमा केन्द्रित नभई विविध कथा समावेश छन्। यसको प्रकाशन फाइन प्रिन्ट बुक्सले गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.